ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली कामदार खोज्दै इँटा उद्योग

२०७७ असोज, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपालका इँटा उद्योगहरूले इँटा उत्पादनको आगामी सिजनका लागि नेपाली कामदार खोज्ने तयारी गरेका छन् ।

नेपालका इँटा उद्योगमा भारतीय कामदार उल्लेख्य रहे पनि कोरोना महामारीका कारण उनीहरू स्वदेश फर्किएकाले अभाव हुन नदिन नेपाल इँटा उद्योग महासंघले नेपाली कामदार खोज्ने तयारी गरेको हो ।

मुलुकभरका १२ सयभन्दा बढी इँटा उद्योगमा ७० प्रतिशतभन्दा बढी भारतीय कामदार रहेका छन् । मंसिर–पुसदेखि इँटा उत्पादनको काम सुरु हुने भएकाले त्यसबेला आवश्यक पर्ने कामदार अहिलेदेखि नै खोज्न थालिएको महासंघ अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए ।

‘विदेश गएर नेपाल फर्किएकाले इँटा उद्योगमा काम गर्न चाहे हामीले नेपाली कामदारलाई नै लक्षित गरेर कार्यक्रम बनाउँदै छौं,’ चित्रकारले भने । अहिले सरकारले पनि निजी क्षेत्रको सहकार्यबाट तालिम गराउने घोषणा गरिसकेको र सोहीअनुसार यसलाई सदुपयोग गर्दै तयारी गरिएको उनको भनाइ छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिडका कारण बेरोजगार भएका र स्वदेशमै रहेका युवाहरूलाई रोजगारमूलक तालिम दिन निजी क्षेत्रसँग सहकार्य गर्ने घोषणा गरिसकेको छ  भने कार्यविधिको पनि तयारी गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत संघ–संस्थाको सहभागितामा तालिम दिने विषयमा छलफल भएको उनले बताए ।

यसमा इसिमोडलजस्ता संस्थाको पनि सहयोग रहने उनले जानकारी दिए ।

अहिले इँटा उद्योगहरूमा प्रयोग हुँदै आएको प्रविधि फेरेर जिकज्याक फायरिङ प्रयोग गरिने महासंघको भनाइ छ ।

नेपालको इँटा उद्योगमा प्राविधिकतर्फ नै बढी भारतीय कामदार रहेका छन् । उनीहरूले इँटा पोल्नेदेखि प्रविधि सञ्चालनसम्म गर्छन् भने इँटा बनाउने बोक्नेसम्म पनि गर्छन् ।

यीमध्ये तराई भेगका इँटा उद्योगहरूमा बढी भारतीय रहेको महासंघको प्रदेश २ का अध्यक्ष विनयकुमार यादवले जानकारी दिए । तर, नेपाली कामदारहरूले इँटा उद्योगमा काम गर्ने इच्छा कमै देखाउने गरेको उनको दाबी छ ।

‘विदेशबाट आएकाले बरु ऋण काढेर जीविका चलाउलान् तर इँटा उद्योगमा काम गर्न आऊ भन्दा पनि आउँदैनन्,’ यादवले भने, ‘नेपाली कामदारले नै यस्ता उद्योगमा काम गर्न मान्ने हो भने भारतीय राख्न जरुरी छैन । सबै विदेश जाने मनासयमै रहेको  पाइन्छ ।’ उनका अनुसार प्रदेश २ मा ६ सयभन्दा बढी उद्योग छन् भने त्यहाँका उद्योगमा जम्मा ३० प्रतिशत नेपालीले काम गर्ने गरेका छन् । त्यहाँका यस्ता खाले उद्योगमा रौतहट, धनुषा, महोत्तरी, बाराका स्थानीयले काम गर्दै आएका छन् ।

यसैगरी उपत्यकामा भने पहाडी जिल्लाका साथै उपत्यका आसपासका जिल्लाबाट पनि कामदार आउने गरेका छन् । महासंघले अहिले इँटाको खपत घटेको बताएको छ । मलमास र निर्माणका काम कम हुँदा विगत वर्षभन्दा पनि न्यून खपत रहेको महासंघको तथ्यांक छ ।

बन्दाबन्दीले उत्पादनमा पनि समस्या पारेको र पानी पर्दा काँचो इँटामा क्षति हुँदा वार्षिक लक्ष्यभन्दा आधा प्रतिशत मात्रै उत्पादन भएको चित्रकार बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)