ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महेन्द्रनगरमा करीब ७२ करोड लगानीमा व्यापारिक मल निर्माणको तयारी

२०७७ असोज, २५  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी क्षेत्रसहितको लगानीमा व्यापारिक मल निर्माण योजना अघि सारेको छ । नगरपालिकाले महेन्द्रनगर बजारको सब्जीमण्डी विस्तापित गरी सोही स्थानमा मल बनाउने तयारी गरेको हो ।

नगरपालिकाले सार्वजनिक निजी साझेदारी मोडलमा मल निर्माणका लागि केही दिनअघि स्थानीय व्यवसायीसँग छलफल समेत गरेको छ । दीर्घकालीन आम्दानी र निजीक्षेत्रसँगको सहकार्यका लागि उक्त योजना अघि सारिएको नगरपालिकाका इन्जिनीयर हिमालय ऐरले बताए । रू. ७१ करोड ७५ लाख अनुमानित लागत रहेको उक्त मल निर्माणका लागि निजीक्षेत्रबाट ५० प्रतिशत लगानी आह्वान गरिएको छ ।

नगरपालिकाले नगर विकास कोषको ऋण लगानीमा मल निर्माण योजना अघि सारेको हो । करीब १ बिगाहा क्षेत्रफलमा निर्माण गरिने मलको डीपीआर तयार भइसकेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले यस क्षेत्रको आवश्यकतालाई बुझेर दीर्घकालीन सोचका साथ मलको परिकल्पना गरिएको बताए । नगरपालिकाले महेन्द्रनगरलाई आधुनिक शहरको रूपमा विकसित गर्न चाहेको उनको भनाइ छ ।

‘हाम्रो शहरमा जनसंख्या बढ्दो छ, बजारीकरणको क्षेत्रफल सीमित छ,’ नगर प्रमुख  विष्टले भने, ‘हामीले उपभोक्तालाई एउटै छानामुनिबाट अत्यधिक सेवा दिन खोजिरहेका छौं । यसले एकातिर उपभोक्तालाई सहज हुन्छ भने अर्कोतिर नगरपालिकाका र अन्य निजी लगानीकर्तालाई आर्थिक लाभ हुन्छ ।’ मलमा व्यापारिक प्रतिष्ठान, स्थानीय उत्पादन, फिल्म हल, रेस्टुराँ लगायत रहनेछन् भने अन्य मनोरञ्जनात्मक गतिविधि समेत सञ्चालन हुनेछ ।  

पाँच तलाको रहने उक्त मल निर्माण शुरू गरिएको २ वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । सब्जीमण्डीलाई अर्को  स्थानमा व्यवस्थापन गर्ने नगरपालिकाको योजना छ । त्यस्तै ऋण लगानीका लागि नगर विकाससँग प्रक्रिया शुरू गरी निजीक्षेत्रका स्थानीय लगानीकर्तासँग पुनः छलफल गरिने नगर प्रमुख विष्टले बताए ।

नगरपालिकाको उक्त योजनाले कञ्चनपुरका व्यवसायी उत्साहित भएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघका वारिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले नगरपालिकाले ल्याएको योजना व्यावहारिक एवं समय सान्दर्भिक रहेको बताए । ‘यहाँको बजारलाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘बजारमा उपभोक्ताको चाप बढिरहेकाले यस्तो व्यापारिक मलको अवधारणा ल्याउनु राम्रो हो ।’ तर यसमा सरकारी र निजी लगानी प्रस्ताव गरिएकाले स्पष्ट नीति तथा कार्यविधि ल्याउनुपर्नेमा उनले जोड दिए । साथै नगरपालिकाले लगानीको सुनिश्चतता गर्न सके मल निर्माणका लागि निजीक्षेत्र आकर्षित हुने धारणा उनले राखे ।

कञ्चनपुरका उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेशदत्त जोशीले मल निर्माणका व्यवसायी लगानी गर्न तयार रहेको बताए । उनले लगानीकर्ता नाफा केन्द्रित हुने भएकाले मलबाट हुने लाभ वितरणबारे स्पष्ट गरिनुपर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)