ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमा : बचत बीमाशुल्क बराबर नै दाबी भुक्तानी हुन बाँकी

२०७७ असोज, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । बीमा कम्पनीहरूले कोरोना बीमामा विभिन्न कारण देखाउँदै दाबी भुक्तानीमा ढिलाइ गरेपछि अहिले उनीहरूको बचत बीमाशुल्क र दाबी भुक्तानी हुन बाँकी रकम लगभग बराबर पाइएको छ । हालसम्म कम्पनीहरूको ७१ करोड २८ लाख रुपैयाँ बराबरको दाबी आवेदन ‘पेन्डिङ’मा छ ।

बीमा समितिबाट प्राप्त तथ्यांकअनुसार कम्पनीहरूले अहिलेसम्म १ हजार २९ जनालाई रू. ९ करोड ७० लाख ५० हजार मात्र दाबी भुक्तानी गरेका छन् । बीमाशुल्कतर्फ भने शुक्रवारसम्म रू. ८६ करोड ९२ लाख रुपैयाँ संकलन गरेका छन् । त्यसमा हालसम्म भएको दाबी भुक्तानी घटाउँदा अहिले कम्पनीहरूसँग ७७ करोड २८ लाख रुपैयाँ बीमाशुल्क बचतमा छ, जुन दाबी भुक्तानी हुन बाँकी रकमभन्दा ६ करोड रुपैयाँ मात्र बढी हो ।

कोरोना बीमामा दाबी परेको ७ दिनभित्रै भुक्तानी गर्नुपर्ने व्यवस्था छ । तर, कम्पनीहरूले विभिन्न प्राविधिक समस्या देखाउँदै लामो समयसम्म पनि भुक्तानी दिएका छैनन् । परिणामस्वरूप शुक्रवारसम्म ७ हजार ४४० बीमितको उक्त रकम बराबरको दाबी हुन बाँकी रहेको छ । अहिले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या उच्च मात्रामा बढ्दै गएपछि कोभिड–१९ बीमालेख (कोरोना बीमा)मा पनि दाबीको आवेदन बढ्दै गएको छ । तर, दावी भुक्तानी भने त्यो अनुसार भएको छैन । नक्कली पीसीआर रिपोर्ट हुन सक्ने सम्भावना, कोरोनाका कारण कार्यालय बन्द हुने लगायत समस्याले दाबी भुक्तानीमा ढिलाइ भएको नेपाल बीमक संघले बताएको छ । यद्यपि, दाबी भुक्तानी दिने विषमया कम्पनीहरू प्रतिबद्ध रहेको संघको भनाइ छ ।

पेन्डिङमा रहेको सबै दाबी भुक्तानी गर्नुपरेमा कोरोना बीमाको व्यवसाय जोखिममा पर्ने सम्भावना पनि देखिन्छ । तर, बीमा गर्ने व्यक्तिको सख्या पनि बढ्दै गएकाले व्यावसायिक जोखिम नहुने कम्पनीहरू बताउँछन् । साथै, रू. १ अर्बभन्दा बढीको दाबी परेमा बीमा समिति, कम्पनीको महाविपत्ति कोष र सरकारमार्फत गरिने भएकाले अबका दिनमा दाबी आएपनि भुक्तानी गर्न कुनै समस्या नहुने कम्पनीहरूको भनाइ छ ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले बाँकी रहेको दाबी भुक्तानी गर्न कम्पनीहरू तयार नै रहेको बताए । ‘बीमा समितिले यही सातादेखि कोरोना बीमाको दाबीको सन्दर्भमा स्पष्ट नीति ल्याउँदै छ । त्यो नीति आएपछि यसमा भएका द्विविधाबारे पनि स्पष्ट हुन्छ,’ उनले भने, ‘त्यसपछि बाँकी रहेको दाबी भुक्तानी गर्दै जान्छौं । यसमा बीमितहरू ढुक्क भए हुन्छ ।’

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको भन्ने धेरै गुनासो आउन थालेपछि बीमा समितिले त्यसलाई एकद्वार प्रणालीमार्फत गर्ने तयारी गरेको छ । सम्भवतः आइतवारदेखि नै यो प्रणाली लागू हुने बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडलले बताएका छन् । त्यसपछि दाबी भुक्तानी सरल र छिटो हुने उनको विश्वास छ । भदौ २९ गतेयता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा रू. २५ हजार पाउने व्यवस्था छ । यस्तै संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा अस्पतालको बिलको आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउँछन् । समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेर यस्तो व्यवस्था गरेको हो । भदौ २९ गते अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् । नेपालमा कोरोना संक्रमण शुरू हुन थालेपछि बीमा समितिले गत वैशाखदेखि लघुबीमा अन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)