काठमाडौं । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रियामा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको तुलनामा लघुवित्त वित्तीय संस्थाहरू बढी सक्रिय देखिएका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दुई दर्जन लघुवित्त संस्था मर्जर र प्राप्ति प्रक्रियामा रहेका छन् । मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका आठओटा संस्थाको विश्लेषण भइरहेको छ । मर्जर प्रक्रियामा रहेको स्वस्तिक र समाज लघुवित्त, प्राप्तिमा रहेको मिर्मिरे र सृजनशील लघुवित्त, प्राप्तिमा रहेको ग्लोबल आईएमई लघुवित्त र स्पर्श लघुवित्त, मर्जरमा रहेका सीवाईसी नेपाल र शालीग्राम लघुवित्त रहेका छन् ।
यसैगरी अर्को आठओटा संस्थाको विश्लेषणपछि टिप्पणी उठाएर काम अगाडि बढेको छ । यसअन्तर्गत मर्जरका लागि ओमी र ग्रामीण स्वयम्सेवक लघुवित्त, एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त, माहुली र नवीकरण लघुवित्त, जल्पा र महिला सामुदायिक लघुवित्त रहेका छन् ।
यसबाहेक राष्ट्र बैंकले १२ संस्थालाई अन्तिम स्वीकृतिका लागि आउन सैद्धान्तिक सहमतिपत्र दिएको छ । समता र घरेलु लघुवित्तलाई मर्जरका लागि सहमतिपत्र दिइएको छ । युनिक नेपाल र बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई गत जेठ २२ गते मर्जर गर्न सहमतिपत्र दिएको छ । गत साउनमा धवलागिरिले आँधीखोला लघुवित्तलाई र नेस्डो समृद्धले नेपाल एग्रो लघुवित्तलाई मर्जर गर्न सहमतिपत्र दिइसकेको राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिए ।
वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गरेपछि २०७७ असोज २५ गतेसम्म कुल २ सय ७ बैंक तथा वित्तीय संस्थाहरू मर्जर÷प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यीमध्ये १५७ संस्थाको इजाजत खारेज हुन गई ५० संस्था कायम भएका छन् ।
कतिपय लघुवित्त मर्जर प्रक्रियाबाट पछि हटेको पनि पाइन्छ । २०७६ साउन २६ गते विजय लघुवित्त र स्वेडालाई प्राप्ति गर्न सहमतिपत्र दिए पनि प्राप्ति प्रक्रिया रद्द भएको थियो ।
हाल स्वेडा अरूसँग गाभिइसक्यो भने विजय लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ ।
मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका अधिकांश लघुवित्त कोरोनाले गर्दा थलिएका कारण पूँजीगत रूपमा बलियो बन्न जुटेको राष्ट्र बैंक लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको भनाइ छ । यसबाहेक केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिमा जानेलाई दिने सुविधाले पनि यसो गर्न प्रोत्साहन गरेको उनको तर्क छ ।
‘कोरोनाले गर्दा लघुवित्तलाई प्रभाव परेको छ । कतिपय संस्था कमजोर भएकै कारण बलियो हुन मर्जर तथा प्राप्तिको बाटो रोजेका हुन्,’ उनले भने ।
केन्द्रीय बैंकले करीब ८४ को हाराहारीमा रहेको लघुवित्तलाई झारेर ३० को हाराहारीमा ल्याउने रणनीति बनाएको छ । लघुवित्तको संख्या अत्यधिक भएको भन्दै प्रोत्साहन स्वरूप केन्द्रीय बैंकले मर्जर तथा प्राप्तिमा सहभागी संस्थाले मात्र हकप्रद शेयर निष्कासन गर्न पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेअनुरूप लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७६ मा संशोधन/परिमार्जन थप गरिएको व्यवस्थाअनुसार मर्जर तथा प्राप्ति गर्ने संस्थाले मात्र हकप्रद शेयर विक्री गर्न पाउँछन् ।
मर्जर तथा प्राप्तिको प्रक्रियाबाट नै चुक्ता पूँजी तथा पूँजीकोष सुदृढ भई भरपर्दो वित्तीय सेवा सुनिश्चित हुने केन्द्रीय बैंकको भनाइ छ ।
लघुवित्तहरूलाई पूँजीवृद्धि गर्न पनि राष्ट्र बैंकले जोड दिएको छ । हाल प्रदेशस्तरको लघुवित्तको १ करोड रुपैयाँ र राष्ट्रियस्तरको १० करोड रुपैयाँ चुक्ता पूँजी हुनुपर्ने व्यवस्था छ । अब यस्ता संस्थाको पूँजी वृद्धि बढाउने सोचमा राष्ट्र बैंक रहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।