ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधार भागमै देखिन थाल्यो कोरोना महामारीको असर

२०७७ असोज, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोरोना माहामारीले अर्थतन्त्रका आयामहरू खस्किएका छन् । कोरोनाको असरले अर्थतन्त्रका आधारहरू शिथिलमात्र बनेका छैनन्, उत्पादन, उपभोग र आपूर्तिको शृंखला नै खलबलिएको छ । महामारीले आर्थिक सरोकारमा पुर्‍याएको क्षतिको तथ्यांक अब आर्थिक गतिविधिको आधार भागमै देखिन थालेको छ ।

आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज नाकाबाट सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पदार्थको आयात स्वात्तै घटेको छ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७७/७८ को साउनदेखि असोज २३ गतेसम्मको करीब ३ महीनामा यस्ता वस्तुको आयात उल्लेख्य परिमाणले घटेको हो ।

गत आर्थिक वर्ष २०७६/७७ को समीक्षा अवधिको तुलनामा आयात घटेको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । सवारीका साधन, पेट्रोलियम पदार्थ र उद्योगका कच्चा पदार्थको आयात स्वात्तै घटेको वीरगञ्ज भन्सारका अधिकृत रमेश सुकमनीले बताए ।

बढी आयात हुने र राजस्व आर्जनका दृष्टिले अग्रस्थानमा रहेका वस्तुको आयात घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ । वीरगञ्ज पेट्रोलियम पदार्थ, गाडी र औद्योगिक कच्चा पदार्थ आयात हुने मुख्य नाका हो ।

भन्सारले उठाउने राजस्वमा सबैभन्दा बढी योगदान दिएको जीप कार र भ्यानको आयात आधाभन्दा पनि तल झरेको छ । गतवर्षको साउनदेखि असोज २३ गतेसम्म २ हजार ७८६ ओटा यस्ता सवारीसाधन भित्रिएका थिए । यो वर्ष १ हजार १७४ ओटामात्र आयात भएको वीरगञ्ज भन्सारले बतायो । आयात घटेपछि यस्ता सवारीसाधनबाट उठ्ने राजस्व पनि करीब आधामा खुम्चिएको छ ।

मोटरसाइकल, पिकअप गाडी, ट्रक, बस, मिनी ट्रक, अटोरिक्सा टेम्पोको आयातमा पनि कमी आएको छ । अटोरिक्सा टेम्पोको आयात सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । अघिल्लो वर्षको समीक्षा अवधिमा १ हजार ४२२ ओटा यस्ता साधन भित्रिएका थिए । अहिले यो संख्या १७३ मात्र छ । अटोरिक्साको आयात ८८ प्रतिशतले घटेको हो ।

डिजेल, पेट्रोल र हवाई इन्धनको आयात क्रमशः ५१, २५ र ७७ प्रतिशतले खस्किएको छ । बन्दाबन्दी र निषेधाज्ञाले ढुवानी र यातायात अवरुद्ध भएपछि यो अवधिमा आयात घटेको भन्सारका सूचना अधिकृत विमलकुमार साहले बताए ।
 
यो अवधिमा खाना पकाउने ग्यासको आयातसमेत १३ प्रतिशतले घटेको छ । फलामे रड उद्योगको मुख्य कच्चा पदार्थ एमएस बिलेटको आयात करीब आधामा झरेको छ । अघिल्लो वर्षको करीब ३ महीनामा ४२ हजार १७५ मेट्रिकटन आयात भएको बिलेट यो वर्षको २१ हजार ७९९ मेट्रिकटनमात्र भित्रिएको छ । हल्का पेय पदार्थका कन्सन्ट्रेड र लुब्रिकेन्टको आयात पनि घटेको छ ।

औद्योगिक उत्पादन र माग बढ्न नसक्दा त्यसको प्रभाव कच्चा पदार्थको आयातमा परेको उद्यमीहरू बताउँछन् । कोरोनाअघि पनि औसत उद्योगहरू उत्पादन क्षमताको ५० देखि ६० प्रतिशतमा चलेका थिए ।

कोरोनायता १५/२० प्रतिशतसम्म झरेको उद्योगीले बताए ।

कच्चा पाम आयलको आयात ओरालो लाग्दा भटमासको कच्चा तेलको आयात भने बढेको छ । पाम आयलको आयात ७४ प्रतिशतले घट्दा भटमासको कच्चा तेल ८० प्रतिशत बढी भित्रिएको छ । भारतले प्रशोधित पाम तेलको आयातमा प्रतिबन्ध लगाएपछि भारततर्फ निकासी गर्दै आएका उत्पादकले आयात घटाएका हुन् । पाम आयलको ठाउँमा भटमासको तेल निकासी हुन थालेको छ ।

विलासिताका वस्तुदेखि औद्योगिक कच्चा पदार्थ र इन्धनको आयात घट्नु समग्र आर्थिक सरोकार संकुचनको प्रमाण भएको उद्यमी राजेश क्यालको भनाइ छ । ‘कोरोनाको त्रास र नियन्त्रणका लागि अपनाइएका बन्दाबन्दी र निषेधाज्ञाले आय आर्जनका अवसर शिथिल भएकाले समग्र माग र उत्पादन घटेको छ । यसको स्वाभाविक प्रभाव आयातमा देखिएको हो,’ क्यालले आर्थिक अभियानसित भने ।

मुख्य नाकाबाटै यस्ता वस्तुको आयात घट्नु औद्योगिक र व्यापारिक गतिविधिमा आइरहेको समस्याको संकेत भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको बुझाइ छ । ‘कोरोना महामारीका कारण उद्योग, व्यापारमा परेको संकटको असर अब तथ्यांकमै देखिन थाल्यो । तर, सरकार अभैm पनि अर्थतन्त्रको पुनरुत्थानमा गम्भीर नदेखिनुचाहिँ बुझिनसक्नु छ,’ अध्यक्ष केडियाले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)