ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीका स्थानीय तहले विपद् व्यवस्थापनमा बढाए बजेट

२०७७ असोज, २९  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीका ६ ओटै स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ का लागि विपद् व्यवस्थापनमा बजेट बढाएका छन् । बाढी पहिरो, नदी कटान, आगलागी, कोरोना महामारी जस्ता विपद्हरूको रोकथाम, राहत, उद्धार र व्यवस्थापनका लागि ६ ओटै स्थानीय तहले विगतका आवको भन्दा बढी बजेट छुट्याएका हुन् ।

पूँजीगततर्फ रू. ८८ करोड ६३ लाख ७५ हजार बजेट भएका जिल्लाका ६ स्थानीय तहले विपद् व्यवस्थापन कोषमा ७ करोड २७ लाख विनियोजन गरेका छन् । विगत वर्षमा ८–१० लाख रुपैयाँ विनियोजन हुने विपद् व्यवस्थापन शीर्षकमा यो वर्ष एउटै पालिकाले रू. १ करोडसम्म बजेट विनियोजन गरेका छन् ।

विपद् व्यवस्थापनका लागि जिल्लाको रघुगंगा गाउँपालिकाले १ करोड ६० लाख, अन्नपूर्ण गाउँपालिकाले १ करोड ४० लाख, मालिकाले १ करोड ७६ लाख १३ हजार रुपैयाँ विनियोजन गरेका छन् । त्यसैगरी बेनी नगरपालिकाले ९० लाख, धवलागिरि गाउँपालिकाले ७५ लाख र मंगला गाउँपालिकाले ८६ लाख रुपैयाँ विनियोजन गरेको सम्बन्धित स्थानीय तहहरूले जानकारी दिएका छन् ।

म्याग्दीका स्थानीय तहहरूले कोरोना भाइरस रोकथाम, सडक पूर्वाधार, कृषि, पशुपालन र रोजगारी सृजनालाई प्राथमिकता दिएर २ अर्ब ६२ करोड ६२ लाख ४१ हजार रुपैयाँकोे बजेट ल्याएका छन् । यसैगरी कृषि र पशुपालन क्षेत्रमा ६ करोड २६ लाख ४० हजार अर्थात् ७ प्रतिशत बजेट छुट्याएका छन् ।

यसैगरी जिल्लाको रघुगंगा गाउँपालिकाभित्र प्राकृतिक प्रकोपको अवस्थामा खोजउद्धार र राहतका लागि पालिकास्तरमा १ करोड र वडास्तरमा २२ लाख ५० हजार रुपैयाँको कोष बनाइएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । ‘अध्यक्षसँग राहत, उद्धार तथा विपद् व्यवस्थापन कार्यक्रम’ सञ्चालनका लागि ६ लाख रुपैयाँ विनियोजन गरेको मंगलाले ५ ओटा वडामा विपद् व्यवस्थापनका लागि ४० लाख रुपैयाँ छुट्ट्याएको अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए । पालिकाहरूले कोरोना नियन्त्रणमा खटिने स्वयंसेविका, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ताको व्यवस्था समेत गरेका छन् ।

गत वैशाखयता म्याग्दीमा बाढीपहिरोमा परेर ३१ को मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । यस्तै करीब २०० घरमा पूर्ण क्षति हुनुका साथै १ हजार घरधुरी जोखिममा परेका छन् । सडक, खानेपानी, विद्युत्, पुल, सिँचाइ, भवनलगायत भौतिक संरचनामा करोडौं क्षति भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)