ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मन्त्रिपरिषद् पुनर्गठन

अर्थमा विष्णु पौडेल, सञ्चारमा पार्वत गुरूङ

२०७७ असोज, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलको पुनर्गठन गर्नुभएको छ । बुधवार मन्त्रिपरिषद् विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेल, महिला बालबालिका मन्त्रीमा लीलानाथ श्रेष्ठ र शहरी विकासमन्त्रीमा कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यी तिनै जना ओली निकट नेताहरू हुन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडा बाहिरिएपछि आपैmसँग राखेको अर्थ मन्त्रालयको जिम्मेवारी पार्टीका महासचिव विष्णु पौडेललाई दिनुभएको छ । पौडेल ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा अर्थमन्त्री बनेका थिए । युवराज खतिवडाले ६ महीनासम्म पनि संसद् सदस्य बन्न नसकेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसपछि खतिवडालाई ओलीले मन्त्रीसरहको सुविधा दिने गरी प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गर्नु भएको थियो ।

मन्त्रिपरिषद् विस्तारका क्रममा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर रक्षा मन्त्रालय आफू मातहत राख्नुभएको छ । पोखरेललाई उपप्रधानमन्त्रीमा यथावत् राख्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । पछिल्लो समय पोखरेलको सेनासँग सम्बन्ध राम्रो नभएको चर्चा चलिरहेकै समय रक्षा मन्त्रालय खोसिएको हो ।

यसअघिका महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लीलानाथ श्रेष्ठलाई दिइएको छ । यस्तै शहरी विकासको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ । यो मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सम्हालेका थिए । पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा चलिरहँदा अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीले अहिले मन्त्री भएका सबैलाई फिर्ता बोलाएर नयाँ ढंगबाट मन्त्रिमण्डल विस्तार गर्ने धारणा राखेका थिए । तर, ओलीले त्यसो नगरी केहीको मात्र जिम्मेवारी हेरफेर तथा केही नयाँ थप्ने अडान राख्नुभएको थियो । अन्ततः ओलीले आफूले भनेअनुरूप नै मन्त्री मण्डल विस्तार गर्नुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले २०७६ मङ्सिर ६ गते अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने चार मन्त्रालय— उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार, श्रम तथा कृषिमा फेरबदल गर्नुभएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)