ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैं नजिकिएसँगै बढ्न थाल्यो व्यक्तिगत कर्जाको माग

२०७७ असोज, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारीका कारण बैंक तथा वित्तीय संस्थाबाट प्रवाहमा हुने कर्जामा संकुचनमा रहँदै आएकोमा अहिले व्यक्तिगत तथा साना कर्जा प्रवाह हुन थालेको छ । दशैं नजिकिँदै गर्दा नयाँ कर्जाको माग आएको बैंकरहरू बताउँछन् ।

दशैं नजिकिँदै गर्दा विगतका वर्षहरूमा सीसीडी कसिलो हुने गर्थ्यो । जसले गर्दा बैंक तथा वित्तीय संस्थामा कर्जाको माग बढी हुन्थ्यो । बैंकहरूले निक्षेप संकलनमा जोड दिनुपथ्र्यो । तर, यसपटक भने कोरोना महामारीले कर्जाको माग विगतका वर्षझैं हुन नसके पनि दशैं नजिकिँदै गर्दा व्यक्तिगत तथा साना कर्जाको माग भने बढेको बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरूले भदौपछि असोजमध्यसम्म थप रू. ४२ अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । उक्त कर्जा थपिएर गत असोज १६ गतेसम्म रू. २९ खर्ब ४६ अर्ब कर्जा प्रवाह भएको संघले बताएको छ ।

बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल दशैं नजिकिएसँगै उपभोग्य कर्जाको माग पनि बढिरहेको बताउँछन् । उनका अनुसार साना व्यक्तिगत कर्जाबाहेक व्यावसायिक कर्जाको माग पनि भएको छ ।

‘अहिले पर्यटन शीर्षकमा कर्मचारीहरूलाई तलब दिने जस्ता सञ्चालन खर्चका लागि कर्जाको माग भएको छ । कृषि कर्जा, र ऊर्जामा समेत कर्जाको माग हुन थालेको छ,’ उनले भने । कर्जाको मागमा क्रमशः सुधार भइरहेको उनको भनाइ छ ।

पछिल्लो समय कर्जाको माग नआउँदा बैंकबीच ऋणी तानातान गर्ने प्रवृत्ति बढ्यो । तर, अहिले त्यस्तो अस्वस्थ प्रतिस्पर्धामा कमी आएको बैंकरहरू स्वीकार्छन् ।

बजारमा मागको कमी हुँदा बैंकले कर्मचारीलाई तोकेरै निश्चित रकमको कर्जा प्रवाहको जिम्मा दिने गरेको समेत चर्चा चलेको थियो । तर, अहिले भने कर्जा प्रवाहमा सुधार भएको बैंक स्रोतको भनाइ छ ।

सिटिजन्स बैंकका डेपुटी प्रमुख कार्यकारी निर्देशक बोधराज देवकोटा कोरोना महामारीको शुरूको महीना चैतपछि ठूला परियोजनाहरूमा कर्जा प्रवाह हुने भनेर पाइपलाइनमा भएका सबै रद्द भएको र साउनसम्म कर्जाको माग घट्दै गएको बताउँछन् । ‘तर, अहिले दशैं नजिकिँदै गर्दा धितोमा आधारित घर जग्गा, गाडी जस्ता व्यक्तिगत कर्जा प्रवाह भइरहेको छ,’ उनले भने, ‘साथै अहिले साना तथा मझौला (एसएमई) कर्जासमेत जान थालेको छ । तर, अझै सिमेन्ट निर्माणलगायत ठूलो परियोजनामा भने प्रभाव परेको छ,’ उनले भने ।

केन्द्रीय बैंकले व्यावसायिक संघसंस्थालाई सञ्चालन खर्चका लागि ऋण लिन पाउने व्यवस्थाले यस्तोमा कर्जा प्रवाह भइरहेको उनको भनाइ छ ।

बैंकमा कर्जाको माग आउन थाले पनि अधिक तरलताको स्थिति भने यथावत् छ ।

नेपाल राष्ट्र बैंकको असोज २७ गतेसम्मको तथ्यांकअनुसार बैंकिङ प्रणालीमा १ सय ६० अर्ब रुपैयाँमा अधिक तरलता रहेको छ । असोज मध्यसम्म बैंकले लगानी गर्न नसक्दा समग्र बैंकिङ प्रणालीमा करीब २ खर्ब रुपैयाँ बराबरको अधिक तरलता थुप्रिएको थियो । अहिले पनि बजारमा अधिक तरलता नभएको होइन । तर, यसअघिको तुलनामा ४० अर्ब रुपैयाँले नियन्त्रणमा आएको छ ।

बजारको तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले विभिन्न उपकरण जारी गर्दै आएको छ । केन्द्रीय बैंकले गत सोमवार मात्रै सरकारका लागि आन्तरिक ऋण जुटाउन १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रीका लागि बोलकबोल गरेको थियो । उक्त बोलमा बैंक तथा वित्तीय संस्थाले ७६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको माग गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । बजारमा अधिक तरलता भएकै कारण बैंकहरूले लगानी गर्न बढी बोल लगाएको देखिन्छ । पछिल्लो समय केन्द्रीय बैंकले रू. ३० अर्ब बराबरको रकम निक्षेपका रूपमा र विभिन्न सरकारी ऋणपत्रहरू जारी गरेकाले यस्तोमा लगानी गर्न पाउँदा बैंकिङ प्रणालीमा भएको तरलता करीब ४० अर्ब रुपैयाँको नियन्त्रणमा आएको हो ।

यसैगरी राष्ट्र बैंकले बैंकहरूलाई ८५ प्रतिशतसम्मको कर्जा–पूँजी–निक्षेप अनुपात (सीसीडी)को सीमा बढाएको अवस्थामा बैंकहरूको सीसीडी करीब ७२ प्रतिशत रहेको छ । यसअघि सीसीडी ८० प्रतिशत कटाउन पाइने थिएन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)