ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गड्डाचौकी नाकामा ‘नेपाल गेट’ बनाइँदै

माघ मसान्तसम्ममा सम्पन्न गर्नेगरी ६२ लाखमा ठेक्का

२०७७ असोज, ३०  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

 नेपालको पश्चिमी नाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण गरिने भएको छ । भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्षमा गड्डाचौकीमा उक्त प्रवेशद्वारा निर्माण गर्न लागेको हो ।

प्रवेशद्वार निर्माणका लागि सम्झौता भइसकेको नगरपालिकाले बताएको छ । यसका लागि अस्मिता बिल्डर्स प्रालिसँग ६२ लाख रुपैयाँ लागतमा निर्माणको सम्झौता भएको भीमदत्त नगरका इन्जिनियर हिमालय सिंह ऐरले जानकारी दिए । आउँदो माघ मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ । नगरपालिकाले उक्त प्रवेशद्धार निर्माणका लागि १ करोड बजेट विनियोजन गरेको थियो । प्रवेशद्वारमा नेपालको नक्सा, बुद्धको मूर्ति लगायत नेपाली भूगोल, लोकसंस्कृति झल्किने प्रतीक राखिनेछ ।

नेपाल प्रवेश गर्दा पहिचानका लागि भीमदत्त नगरले त्रिदेशीय नाकाको उक्त बिन्दुमा महŒवपूर्ण प्रवेशद्वार बनाउन लागेको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए । ‘महाकाली नदीमा पुल निर्माणसँगै भारत जोड्ने र गड्डाचौकी, बह्मदेव हुँदै चीन जोड्ने महाकाली कोरिडोरको नेपाल प्रवेश विन्दुको रूपमा रहेकाले गड्डाचौकीमा नेपाल गेट निर्माण गर्न लागिएको हो,’ उनले भने ।

प्रवेशद्वार निर्माणले सीमा प्रवेश नाकामा नेपाली स्वाभिमान झल्काउने र आगन्तुकलाई स्वागत हुने उनको भनाइ छ । ‘कामका लागि हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी भारत गएका छन्,’ नगर प्रमुख विष्टले भने, ‘फर्किंदा यो प्रवेशद्वार देखेर उनीहरूलाई मातृभूमि आइपुगेको महसूस हुनेछ ।’ यस्तै विदेशी पाहुनाले नेपाल प्रवेश गर्दा नेपालका गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति गर्न सक्ने उनले बताए । नयाँ बन्ने गेटले पूर्ण नेपालीपनको झल्को दिने दाबी उनले गरे ।

गत आर्थिक वर्ष २०७६/७७ मा भीमदत्त नगरपालिकाले नै नेपाल प्रवेश क्षेत्र गड्डाचौकीमा नेपालको ७७ फिट अग्लो झण्डा स्थापना गरेको थियो । गड्डाचौकी भारतको राजधानी दिल्लीसँगको सबैभन्दा नजिकको नाका हो । गड्डाचौकीदेखि दिल्लीसम्मको दूरी ३७९ किलोमिटर मात्र छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)