ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शुरू भयो आवधिक कर्जामा स्थिर ब्याजदर

१० देखि १३% हाराहारीमा ब्याजदर निर्धारण

२०७७ असोज, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घर तथा सवारी कर्जालगायत व्यक्तिगत आवधिक कर्जामा कात्तिकदेखि स्थिर ब्याजदर लागू गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले असोजमसान्तसम्म स्थिर ब्याजदर सार्वजनिक गर्न दिएको निर्देशनअनुसार बिहीवारसम्म मेगा बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंकले १ वर्षभन्दा माथि १५ वर्षसम्मका व्यक्तिगत कर्जाको ब्याज सार्वजनिक गरेका छन् । यी बैंकले आवधिक कर्जाको स्थिर ब्याजदर अवधिअनुसार कम्तीमा करीब १० प्रतिशत र अधिकतम १३ प्रतिशतको हाराहारीमा निर्धारण गरेका छन् ।

साथै, अन्य बैंक तथा वित्तीय संस्थाहरू पनि केन्द्रीय बैंकले दिएको निर्देशन पालना गर्न असोज ३० गतेसम्म स्थिर ब्याजदर सार्वजनिक गर्न अन्तिम गृहकार्य थालेको बताउँछन् ।
मेगा बैंकले १ वर्षभन्दा माथिका सबै खाले व्यक्तिगत कर्जामा आधारदर (८ दशमलव ३० प्रतिशत) मा ५ प्रतिशत प्रिमियम थपेर स्थिर ब्याजदर कायम गरेको छ ।

यसैगरी, माछापुचछ्रे बैंकले घर कर्जाअन्तर्गत ५ वर्षसम्म ९ दशमलव ८९ प्रतिशत, ५ देखि १० वर्षसम्म १० दशमलव ८९ प्रतिशत र १० वर्षभन्दा माथि ११ दशमलव ८९ प्रतिशत तोकेको छ । अटो तथा हायर पर्चेज (सवारीसाधन) कर्जामा ५ वर्षसम्म ९ दशमलव ९९ प्रतिशत, ५ देखि १० वर्षसम्म १० दशमलव ९९ प्रतिशत निर्धारण गरेको छ ।

हिमालयन बैंकले ५ वर्षसम्मका व्यक्तिगत घर कर्जामा ९ दशमलव ८९ प्रतिशत, सुविधा लोन र शिक्षा कर्जामा ९ दशमलव ९९, अन्य धितो कर्जामा १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर तोकेको छ । बैंकले ५ देखि १० वर्षसम्मका घर कर्जामा १० दशमलव ९९, सुविधा लोन र शिक्षा कर्जामा १० दशमलव ९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ । यस्तै, १० वर्षदेखि १५ वर्षसम्मको घर कर्जामा १२१ दशमलव ४९ प्रतिशत स्थिर ब्याज निर्धारण गरेको छ भने हायर पर्चेजको फरक अवधिको फरक ब्याजदर कायम गरेको बैंकका प्रमुख सूचना अधिकृत सुशील जोशीले जानकारी दिए ।

हिमालयन बैंकका महाप्रबन्धक समेत रहेका सुशील जोशी केन्द्रीय बैंकले दिएको निर्देशन पालना गर्न बैंकले विगतमा निक्षेपमा दिएको ब्याजदर र कर्जामा लिएको ब्याजदरको प्रवृत्ति हेरेर अवधिअनुसारको स्थिर ब्याजदर कायम गरेको बताए । ‘नेपालमा बढी अवधिको निक्षेप नपाउने भएकाले मिसम्याच हुनसक्छ । १० वर्षका लागि प्राय संस्थागत निक्षेपअन्तर्गत बीमा कम्पनीहरूले मात्र निक्षेप राखेको अवस्था छ । अझ लामो अवधिको व्यक्तिगत निक्षेप त खासै आउँदैन,’ उनले अभियानसँग भने, ‘यसकारण हामीले निक्षेपको तुलना गर्दै कर्जाको ब्याजदरमा अलिकति मार्जिन थपेर निर्धारण गरेका छौं ।’

अन्य बैंकहरूले पनि स्थिर ब्याजदर यी बैंकहरूकै हाराहारीमा निर्धारण गर्ने सम्भावना देखिन्छ । तत्काललाई भने स्थिर ब्याजदर लिने सेवाग्राहीले महँगो ब्याज तिनुपर्ने देखिन्छ । किनभने बजारमा अहिले कर्जाको माग नभएकाले बैंकहरूले नै आधारदरकै हाराहारीमा वा अझै कममा अर्थात् करीब ७ दशमलव ७ देखि ९ प्रतिशतको हाराहारीमा घर तथा सवारी कर्जा दिइरहेको अवस्था छ ।

शुरूमै चर्को लाग्ने स्थिर ब्याजदर भविष्यमा योभन्दा माथि नजाने भएकाले ऋणीले सोही दरमा ढुक्क भएर तिर्न सक्छन् । तर, स्थिर ब्याजदर नचाहने ग्राहकलाई बाध्यकारी नहुने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

केन्द्रीय बैंकले दिएको निर्देशनलाई पालना गर्न बैंकहरूले भटाभट स्थिर ब्याजदर सार्वजनिक पनि गरेका छन् तर नेपाल बैंकर्स संघले यसलाई व्यावहारिक नभएको भन्दै बढीमा ५ वर्षसम्मका लागि मात्र स्थिर ब्याजदर तोक्ने व्यवस्था मिलाउन सुझाव दिइसकेको छ । उक्त सुझाव विचाराधीन भए पनि आफूहरू ब्याजदर निर्धारणमा जुटेको सिटिजन्स बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा बताउँछन् ।

सानिमा बैंक पनि स्थिर ब्याजदर कायम गर्ने अन्तिम चरणमा रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)