ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४० मेगावाटको अपर चमेलियाको निर्माण शुरू

२०७७ कार्तिक, २  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । शनिवार मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले संयुक्तरूपमा शिलान्यास गरेसँगै निर्माणको काम थालिएको आयोजनाले बताएको छ ।

निजीक्षेत्रबाट निर्माण शुरू गरिएको उक्त जलविद्युत् आयोजना सुदूरपश्चिम प्रदेशकै ठूलो भएको अपि पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले अभियानलाई बताए । २० महीनाभित्र निर्माण सक्ने लक्ष्यसहित आयोजनाको शिलान्यास भएसँगै निर्माण अघि बढाइएको जानकारी उनले दिए । दार्चुलाको मार्मा गाउँपालिका–२ घट्टेगाडमा बन्ने उक्त आयोजनाको कुल लागत ७ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले ५ अर्ब १८ करोड लगानी गरेको कम्पनीका अर्का सञ्चालक द्वारिकाप्रसाद न्यौपाने जानकारी दिए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी कुल लागतको ७० प्रतिशत हो । ३० प्रतिशत (२ अर्ब २२ करोड रुपैयाँ) स्वपूँजी लगानी रहने कम्पनीले बताएको छ ।

२०५ मिटर हेड (उचाइ) रहेको सो आयोजनाका लागि ३ दशमलव २ मिटर व्यास (डायमिटर)को करीब ६ किलोमिटर पाइपलाइन निर्माण हुनेछ । अपि हिमाल गाउँपालिका–५ ओखलमा बाँध बाँधेर पाइपलाइनमार्फत ल्याइएको पानी मार्मा गाउँपालिका–२ घट्टेगाडमा निर्माण हुने विद्युत्गृहमा खसालिनेछ ।

आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ । सो आयोजना प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करीब १३ किलोमिटर माथि पर्छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुने सञ्चालक त्रितालले बताए ।

कम्पनीले यसअघि ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको कुल क्षमता ५६ दशमलव ५ मेगावाट पुग्नेछ ।

आयोजनाको शिलान्यासपछि गाउँपालिका अध्यक्ष धामीले आयोजना निर्माणमा कुनै व्यवधान आउन नदिने प्रतिबद्धता गरे । ‘आयोजना सञ्चालनपछि स्थानीयले रोजगारी पाउने भएकाले समयमै आयोजनाको निर्माण सम्पन्न गर्न हाम्रो पूर्ण सहयोग रहनेछ,’ उनले भने ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)