ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुस्ताङी भेडाच्यांग्राको भाउ बढ्यो

२०७७ कार्तिक, ३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटो छिचोल्दै मुस्ताङबाट शहर बजार झारिएका भेडाच्यांगाको मूल्य यस वर्ष आकासिएको छ । दशैंका लागि ल्याइएका मुस्ताङी च्यांग्राको सामान्य न्यूनतम मूल्य नै रू. ३० हजार कायम गरिएको छ, जसले गर्दा यस वर्षको दशैंमा च्यांग्राको मासु खाने अधिकांश उपभोक्ताको रहर पूरा नहुने देखिएको छ ।

दशैंका लागि यस वर्ष चीनको तिब्बतबाट भेडाच्यांग्राको आयात रोकिएसँगै भेडाच्यांग्राको मूल्य ह्वात्तै बढेको हो । यसअघिका वर्षमा तिब्बतबाट दशैंकै लागि २० हजारभन्दा धेरै भेडाच्यांग्रा आउने गरेकोमा कोरोना महामारीका रोकिएको छ । सोही कारण मुस्ताङ र डोल्पाका भेडाच्यांग्राको खरीद मूल्य नै २८ हजार रुपैयाँ परेको व्यापारीको भनाइ छ । भेडाच्यांग्राको नियमित व्यापार गर्दै आएका ठूला व्यापारी अत्यधिक मूल्यका कारण खरीद गर्न नसकी रित्तै फर्किएका छन् भने केही व्यापारीले महँगोमै पनि खरीद गरेका छन् । कोरोना भाइरसको जोखिमकै बीच उपल्लो मुस्ताङसम्म पुगेका व्यापारी ३६ केजीको च्यांग्रा ३० हजार रुपैयाँभन्दा कममा नपाएपछि यत्तिकै फर्किएका छन् । दशैंका लागि नियमित पुग्ने व्यापारीभन्दा पहिले नै बिचौलियाको सक्रियताले गतवर्षभन्दा यस वर्ष प्रतिच्यांग्रा ८ हजारसम्म मूल्य बढेको सिन्धुपाल्चोकबाट आएका व्यापारी अम्मरबहादुर ठकुरीले बताए ।

करीब ६ सय भेडाच्यांग्रा खरीद गर्ने योजना बनाएर मुस्ताङ प्रवेश गरेका व्यापारी विष्णु सुवेदीले अघिल्लो वर्ष यातायात लगायत खर्च कटाएर काठमाडौंको कालिमाटीमा विक्री गरेको मूल्य यसपटक मुस्ताङमै तिर्नुपरेको बताए । बिचौलियाको चलखेलले किसान र उपभोक्ता मारमा परेको गुनासो उनले गरे । ठकुरी र सुवेदी मिलेर २ सय हाराहारीमा च्यांग्रा ल्याएका छन् । कोरोनाको जोखिमसँगै उपभोक्ताले सस्तो मूल्यमा भेडाच्यांग्राको खोजी गर्ने भए पनि नियमित व्यापारी पुग्नुअगावै नयाँ र केही स्थानीयले खरीद गरी मूल्य बढाएको उनीहरूको भनाइ छ । झण्डै १ हजार भेडाच्यांग्रा खरीद गर्ने तयारीमा रहेका व्यापारीले १ सयओटा पनि ल्याउन नसकेको भन्दै उनीहरूले काठमाडौंमा मुस्ताङका ४ सय च्यांग्रा समेत पु¥याउन मुश्किल रहेको बताए ।

मुस्ताङी च्यांग्रा जिउँदोमै प्रतिकेजी १ हजार रुपैयाँमा विक्री गर्दा समेत लगानी नउठ्ने व्यापारीको भनाइ छ । मुस्ताङबाट करीब १० हजार र  डोल्पाबाट ४ सयको हाराहारीमा च्यांग्रा बाहिरिने अनुमान गरिएको छ । गतवर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्यांग्रा निकासी भएको थियो ।  हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्यांग्राको मासु स्वादिलो मानिन्छ । तिब्बतबाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्यांग्राको पकेट क्षेत्र मानिन्छ । माथिल्लो क्षेत्रमा भेडापालाक किसानको आकर्षण बढे पनि चरनक्षेत्रको अभाव लगायत समस्याले उत्पादन बढ्न सकेको छैन । यसैबीच,  मुस्ताङी भेडाच्यांग्राको मूल्य आकाशिएपछि म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका भेडाको खोजीमा व्यापारी सक्रिय भएका छन् । जिल्लाको धवलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्रमा रहेका भेडाको चरन क्षेत्रमै विक्री शुरू भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)