ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराका २५ किलोमिटर सडक स्तरोन्नति गरिँदै

२०७७ कार्तिक, ५  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका सडकको स्तरोन्नतिको काम शुरू गरेको छ । महानगरले शहरका मुख्य सडक अमेरिकी प्रविधिमा आधारित ‘अस्फाल्ट कंक्रिट’मार्फत स्तरोन्नति शुरू गरेको हो ।

पोखराका अधिकांश सडकमा रहेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भइरहेका बेला महानगरपालिकाले शहरका मुख्य सडक अस्फाल्ट कंक्रिट गर्न थालेको छ । सवारीसाधनको बढी चाप हुने ठाउँमा यो प्रविधि अनुसार ५ सेन्टिमिटरसम्म मोटाइको हुनेगरी कालोपत्र गर्न शुरू गरिएको छ ।

वर्षेनि स्तरोन्नतिको काम गरिए पनि पोखरामा धेरै पानी पर्ने भएकाले सडकमा खाल्डो परिरहने समस्या देखिएपछि उक्त प्रविधिको प्रयोग गरिएको हो । अस्फाल्ट कंक्रिट गरिएका सडकमा कम्तीमा ६ वर्षसम्म खाल्डो नपर्ने दाबी गरिएको छ ।

महानगरसहित सडक डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयले छुट्टाछुट्टै रूपमा पोखराको जिरो किलोमिटर, शहीद चोक हुँदै मुस्ताङचोक, सिर्जनाचोक राष्ट्र बैंक हुँदै बिरौटा र पृथ्वीचोक महेन्द्रपुल केआई सिहं पुल हुँदै महेन्द्र गुफासम्मको सडकको स्तरोन्नतिको गर्दै छन् । त्यसैगरी अमरसिहंचोक रानीपौवा महेन्द्रपुल र बुद्धचोक वन क्याम्पस हुँदै फूलबारी होटलसम्मको २५ किलोमिटर सडक सोही प्रविधिमार्फत स्तरोन्नति गरिँदै छ, जसमध्ये ९ किलोमिटर स्तरोन्नति पोखरा महानगरपालिकाले गर्नेछ भने बाँकी प्रदेश र सडक डिभिजन कार्यालयले गर्नेछन् ।

महानगरपालिकाले सडक स्तरोन्नतिका लागि २० करोड रुपैयाँ लाग्ने अनुमान गरे पनि १७ करोडमा ठेक्का सम्झौता भएर काम शुरू गरिएको छ । महानगरका इन्जिनियर ध्रुव भट्टराईले उक्त लागतमा स्तरोन्नति हुने सडकको आयु ८ वर्षसम्मको हुने जानकारी दिए । ३ देखि ४ महीनाभित्र सडक स्तरोन्नतिको काम सकिने उनले बताए ।

सडक डिभिजनले नयाँबजार क्षेत्र, बिरौटाचोकबाट राष्ट्रबैंकचोकसम्म र दीपबाट महेन्द्रगुफासम्मको सडक स्तरोन्नतिको जिम्मा लिएको छ भने पूर्वाधार कार्यालयले मुस्ताङचोक–शहीदचोक हुँदै हल्लनचोक छोएर जिरोकिमीसम्मको सडक कालोपत्र गर्ने जिम्मा पाएको छ ।

पोखरामा यसअघि सडक डिभिजन कार्यालयले जिरोकिलोदेखि विन्ध्यवासिनीसम्मको सडक अस्फाल्ट कंक्रिटमार्फत स्तरोन्नति गरेको छ । महानगरले भने पहिलोपटक यो प्रविधिबाट कालोपत्र गर्न लागेको हो । प्राथमिकताका आधारमा नगरका सबै सडक सोही प्रविधिबाट कालोपत्र गर्ने योजना महानगरको छ । २ वर्षभित्र सबै सडकलाई नमूना बनाइने दाबी महानगरले गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)