ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा राजस्व लक्ष्य भेट्न कठिन

२०७७ कार्तिक, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा राजस्वका लक्ष्य महत्त्वाकांक्षी राख्दा आर्थिक गतिविधि ठप्पसरह भएका बेला पहिलो त्रैमासमा लक्ष्य भेट्नै कठिन परेको छ ।

लामो बन्दाबन्दी तथा निषेधाज्ञा साउनदेखि अलि खुकुलो भएसँगै पहिलो त्रैमासमा राजस्व संकलनमा सुधार देखियो तर सरकारको लक्ष्य भने भेट्न कठिन देखिएको छ ।

पहिलो त्रैमासमा सरकारले राजस्व संकलन वार्षिक लक्ष्यको करीब साढे १७ प्रतिशत मात्रै प्राप्ति गरेको छ । सरकारी आँकडाअनुसार चालू वर्षको साउन महीनामा सरकारले वार्षिक लक्ष्यभन्दा १ अर्ब ४६ करोड कम राजस्व संकलन गरेको छ । भदौ महीनामा लक्ष्यभन्दा ११ अर्ब ५३ करोड राजस्व कम संकलन भएको छ । असोज महीनामा ११ अर्ब ९७ करोड राजस्व कम उठेको छ ।

चालू वर्षमा सरकारले १० खर्ब ११ करोड राजस्व संकलन गर्ने लक्ष्य बजेटमार्फत लिएको छ । यसमध्ये पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा १ खर्ब ७२ अर्ब राजस्व उठेको सरकारी आम्दानी र खर्चको हिसाब राख्ने अर्थ मातहतको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाउँछ ।

सरकारले राजस्वको लक्ष्य ठूलो मात्रामा राख्दा लक्ष्य भेट्न कठिन भएको हो । करतर्फ ९ खर्ब १२ अर्ब वार्षिक संकलनको लक्ष्य सरकारले लिएकोमा पहिलो त्रैमासमा १ खर्ब ६३ अर्ब राजस्व संकलन भएको छ । त्यस्तै गैरकर राजस्वतर्फ वार्षिक ९८ अर्ब ८० करोड उठाउने लक्ष्य सरकारले लिएको छ । तर, पहिलो त्रैमासमा ८ अर्ब ९३ करोडमात्र राजस्व उठेको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाएको निषेधाज्ञा खुला भएकाले राजस्वमा सुधार हुँदै जाने राजस्वका अधिकारीहरूको भनाइ छ ।

अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार लक्ष्य भेट्ने गरी नियमित सेवा प्रवाह गर्न मातहतका विभाग, कार्यालयहरूलाई निर्देशन दिएको बताएका छन् । आन्तरिक राजस्व विभागका अनुसार अहिलेसम्म लक्ष्य भेट्न कठिन भए पनि लक्ष्य भेट्ने गरी काम भइरहेको छ ।

विभागका अनुगमन तथा मूल्यांकन विभागका प्रमुख दुर्गादत्त भण्डारीले विभाग मातहतका कार्यालयहरूले राजस्व संकलनको लक्ष्यमा पुग्ने गरी काम गरिरहेको बताए ।

उनका अनुसार कर तिर्न जान मानिसलाई केही अप्ठ्यारो भए पनि राजस्व उठ्ती लक्ष्यको नजीक पुग्ने अपेक्षा विभागको छ । भन्सार विभागका अधिकारीहरूले पनि पछिल्लो समय आयात तथा निर्यातमा सुधार देखिएकाले लक्ष्य भेट्ने बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)