ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलोपटक बन्यो शहरी सडक मापदण्ड

साइकल ट्र्याक र हरियाली सडक विकास प्राथमिकतामा

२०७७ कार्तिक, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । व्यवस्थित शहरी सडक बनाउन नेपालमा पहिलोपटक ‘शहरी सडक मापदण्ड’ तयार भएको छ । हालसम्म सडक विभागको मापदण्डअनुसार नेपालका शहरी क्षेत्रहरूमा सडक विकास हुँदै आएकोमा अब भने शहरहरूमा बन्ने सडकहरूको छुट्टै मापदण्ड कार्यान्वयनमा आउने भएको छ ।

शहरी विकास मन्त्रालयले ४ वर्ष लगाएर बनाएको शहरी सडक मापदण्ड–२०७६ सोमवारको मन्त्रिपरिषद्को बैठकले राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिएसँगै मापदण्ड कार्यान्वयनमा आउने भएको हो ।

२०७६ फागुन २० गते नै मन्त्रिपरिषद्को बैठकले सो मापदण्ड स्वीकृत गरेको थियो । मापदण्ड राजपत्रमा प्रकाशन गर्न स्वीकृत दिन नै सरकारले ८ महीना लगायो । मापदण्डले नयाँ विकास हुने शहरदेखि पुराना शहरमा सडक विस्तार गर्दा हरियाली र साइकल ट्र्याकलाई अनिवार्य गरेको छ ।

नेपालमा विकास भएका शहरी सडकहरूको बीच भागमा अहिले पनि बिरुवाहरू र मूल सडकको दायाँबायाँ साइकल ट्र्याक राख्ने व्यवस्थाको कुनै नीति छैन । अहिले बनेको मापदण्डले भने यसलाई समेटेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले पहिलोपटक मापदण्ड बनेको हुँदा पुराना शहरी सडकमा कार्यान्वयन गर्न केही समस्या भए पनि नयाँ शहरहरूमा यो व्यवस्था लागू हुने बताए ।

‘शहरभित्रका बाटाहरू र राजमार्गहरूका आवश्यकताहरू फरकफरक हुन्छन्,’ दवाडीले भने, ‘शहरभित्रका सडकहरूमा अन्डर ग्राउन्ड पासवे, ओभरहेड ब्रिज, ढलहरूको व्यवस्थापन, युटिलिटी सर्भिसका साथै विभिन्न आवश्यकता हुन्छन् र त्यसलाई मापदण्डले सम्बोधन गरेको छ ।’

मापदण्ड ल्याउन ढिलाइ हुनुमा पहिला प्राविधिक आवश्यकताहरूको महसूस कम भएर पनि हुन सक्ने तर्क गर्दै दवाडीले अहिले शहरहरू बढेको, नयाँ शहरको योजनाहरू पनि आएकाले आवश्यकता देखिएको र नीतिनियम बनाउने चासो पनि बढेको बताए ।

विभिन्न राजमार्गमा नयाँ शहर विकास गर्ने, काठमाडौं उपत्यकाका चार नयाँ नगर विकास गर्ने, स्मार्ट सिटी बनाउनेजस्ता कार्यक्रमलाई टेवा पु¥याउने गरी पहिलोपटक मापदण्ड तयार गरिएको छ । सो मापदण्डका आधारमा शहरमा बन्ने सडकलाई आर्टेरिअल रोड (सडक), सब–आर्टेरिअल रोड, कलेक्टर रोड र लोकल रोड गरी चार भागमा वर्गीकरण गरेको मन्त्रालयका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठले जानकारी दिए । आर्टेरिअल सडक ८ लेनको हुने र राइट अफ वे अर्थात् सडकको दायाँबायाँको अधिकार क्षेत्र ५० मीटरको हुनेछ । उक्त क्षेत्राधिकारभित्र ८ लेनको सडक, न्यूनतम २ दशमलव ५० मीटरको फुटपाथ, २ मीटरको साइकल ट्र्याक र मेडियन अर्थात् बिरुवा लगाउने क्षेत्र ५ मीटर निर्धारण गरिएको छ । बाँकी क्षेत्र १ मीटर किनारा हुनेछ ।

सब–आर्टेरिअल सडकको राइट अफ वे भने ३० मीटर रहेको छ । यसमा पनि साइकल ट्र्याक २ मीटरको बनाउनुपर्ने उल्लेख गरिएको छ । साथै फुटपाथ, किनाराको चौडाइ समान भए पनि मेडियनको चौडाइ भने २ मीटरमा झारिएको छ । पुराना तथा नयाँ बन्ने शहरमा अब सब–आर्टेरिअल सडक ४ लेनको बनाउनुपर्नेछ । यस्तै कलेक्टर सडकको राइट अफ वे भने २० मीटरको हुनेछ । २ लेनको यस सडकमा पनि २ मीटरको साइकल ट्र्याक अनिवार्य गरिएको छ । ३ मीटरको फुटपाथ हुनुपर्ने र सडक किनारा १ दशमलव २५ मीटरको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

शहरको भित्री सडकलाई लोकल रोड भनिएको छ । यसको राइटअफ वे १० मीटर रहेको छ भने फुटपाथसहितको सडक हुनेछ । श्रेष्ठले अब बन्ने शहरी सडकहरू यी पूर्वाधारका साथै अपांगमैत्री, खानेपानी, बिजुली, इन्टरनेट, ढलजस्ता युटिलिटी सर्भिसहरू पनि रहने बताए । नेपालमा नयाँ नगरपालिकासहित नपाको संख्या २९३ पुगेसँगै शहरी जनसंख्या ६२ दशमलव २ प्रतिशत पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)