ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महीनैपिच्छे बढ्दै खाद्यवस्तुको महँगी

चार वर्षपछि चालू खाता बचतमा

२०७७ कार्तिक, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारी शुरू भएपछिका प्रत्येक महीना उपभोग्य खाद्यवस्तुको महँगी बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले समग्रमा उपभोक्ता मुद्रास्फीति (मूल्य वृद्धि) नियन्त्रित देखाए पनि खाद्यान्न तथा तरकारीको मूल्य दिनप्रतिदिन आकाशिएकाले महँगी घट्न नसकेको बताएको छ । गत आर्थिक वर्षको भदौको तुलनामा चालू आवको भदौमा २६ प्रतिशतले तरकारीको मूल्य वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालू आर्थिक वर्ष २०७७/७८ को दोस्रो महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ९१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ६८ प्रतिशत रहेको छ । तरकारी, दाल तथा गेडागुडीको मूल्य वृद्धि उच्च रहेकाले महँगी बढेको हो । गतवर्षको तुलनामा गेडागुडीको मूल्य १४ प्रतिशतले बढेको छ ।

केन्द्रीय बैंकले वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ५२ प्रतिशत रहेको उल्लेख गरेको छ । गत आवको सोही अवधिमा मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत रहेको थियो । गत साउनमा भने यस्तो वार्षिक वृद्धिदर ३ दशमलव ४९ प्रतिशत रहेकोमा अहिले बढेको हो ।

गत आवको भदौको तुलनामा मूल्य वृद्धि नियन्त्रित देखिए पनि एकै महीनाको तुलनामा भने महँगी बढेको छ । थोक मूल्य वृद्धि पनि आकाशिएको छ । यसै भदौमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८ दशमलव ८० प्रतिशत र≈यो । जबकि अघिल्लो वर्षकोे सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव ४० प्रतिशत रहेको थियो ।

एक महीनाको तुलनामा तरकारीको मूल्य १३ प्रतिशतले बढेको बताउदै केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भट्ट यसकारण खाद्यान्न मूल्य वृद्धिमा चाप पुगेको बताउँछन् । ‘तरकारी, गेडागुडी, दालको मूल्य उच्च हुँदा खाद्यान्नको महँगीमा दबाब परेको हो,’ उनले भने ।

कोरोना महामारीले लामो समयदेखि आयातमा संकुचन आइरहेको छ । आर्थिक वर्ष २०७७/७८ को २ महीनामा कुल वस्तु आयात २२ दशमलव १ प्रतिशतले घटेर रू.१ खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ । गतवर्षको सोही अवधिमा यस्तो आयात १ दशमलव २ प्रतिशतले घटेको थियो ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइलालगायत वस्तुको आयात बढेको छ । तर, पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेललगायत वस्तुको आयात घटेकाले समग्रमा आयात घटेको डा. भट्ट बताउँछन् ।

आयात घटे पनि निर्यातमा भने सुधार देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को २ महीनामा कुल वस्तु निर्यात १० दशमलव ५ प्रतिशतले वृद्धि भई रू.२० अर्ब ४४ करोड पुगेको छ । गतवर्षको सोही अवधिमा यस्तो निर्यात २५ दशमलव ९ प्रतिशतले वृद्धि भएको थियो । यसअवधिमा आयुर्वेदिक औषधि, चाउचाउ, जडीबुटी, जुटका सामान, पश्मिनालगायत वस्तुको निर्यात बढेको छ । तर, पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापातालगायत वस्तुको निर्यात भने घटेको छ ।

विप्रेषण गतवर्षको तुलनामा ८ दशमलव १ प्रतिशतले बढेर रू.१ खर्ब ६५ अर्ब ७३ करोड पुगेको छ । गतवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ६ प्रतिशतले घटेको थियो । वार्षिक रूपमा विप्रेषण बढे पनि गत साउनको तुलनामा भने भदौमा १९ अर्ब ७ करोडले घटेको छ । गत साउनमा ९२ अर्ब ७ करोड रुपैयाँले विप्रेषण आप्रवाह भएकामा भदौमा भने ७३ अर्बमात्र भित्रिएको छ ।

समीक्षा अवधिमा खुद सेवा आय रू.५ अर्ब ४५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रू.५ अर्ब ८० करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९० दशमलव ५ प्रतिशतले कमी आई रू.९७ करोड ३७ लाख कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू.१० अर्ब २१ करोड रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ८० दशमलव शून्य प्रतिशतले घटी रू.२ अर्ब ९२ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रू.२ अर्ब ४७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू. १४ अर्ब ६३ करोड रहेकोमा शिक्षातर्पmको व्यय रू.७ अर्ब ६४ करोड रहेको थियो ।

चालू खाता बचतमा
आयात घट्दा र विप्रेषण बढ्दा चाल खाता र शोधनान्तरमा भने सुधार देखिएको छ । लगातार ४ वर्षसम्म घाटामा रहेको चालू खाता चालू आर्थिक वर्षको साउन र भदौमा बचतमा रहन पुगेको हो ।

गत भदौसम्ममा चालू खाता रू.२६ अर्ब ७ करोडले बचतमा रहेको छ । गतवर्षको सोही अवधिमा चालू खाता रू.२२ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकममा सुधार हँुदा शोधनान्तर स्थिति रू.६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । गतवर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू.८ अर्ब ८३ करोडले बचतमा रहेको थियो ।

सुविधाजनक सञ्चिति पर्याप्तता
बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.५ महीनाको वस्तु आयात र १४.९ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले बताएको छ । २०७७ असार मसान्तमा रू. १४०१ अर्ब ८४ करोड बराबर कुल विदेशी विनिमय सञ्चिति रहेकोको २ दशमलव ३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा रू.१४३३ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)