ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा वाणिज्य बैंकले गरे थप १ खर्ब २९ अर्ब कर्जा प्रवाह 

अग्रस्थानमा एनआईसी एसिया, ५ ओटा बैंकको भने घट्यो

२०७७ कार्तिक, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

कात्तिक ८, काठमाडौं । कोरोना महामारी बीच उद्योग/ व्यवसाय अस्तव्यस्त रहन्दा प्रभावित बनेको बैंकहरुको कर्जा प्रवाहमा यतिवेला क्रमशः सुधार भएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ऋणी आकर्षण गर्न कर्जा प्रवाहमा विभिन्न स्किम ल्याएको एनआईसी एशिया बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

 तर यसअवधिमा २७ ओटा वाणिज्य बैंकमध्ये ५ओटा बैंक (स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबीआई, हिमालयन, लक्ष्मी र नेपाल बंगलादेश बैंक) ले भने कर्जा बढाउन सकेनन्  । बैंकर्स संघको तथ्यांक अनुसार गत असोज मसान्तसम्ममा २७ ओटा वाणिज्य बैंकबाट थप रू.१ खर्ब २९ अर्ब २५ करोड कर्जा प्रवाह भई कुल रू. ३० खर्ब ३४ अर्ब ५६ करोड पुगेको छ ।

उक्त अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने अग्र स्थानमा रहेको एनआईसी एसियाले थप रू.२९ अर्ब ८६ करोड कर्जा प्रवाह गरेको छ । यसरी उसको असोजसम्म कुल कर्जा प्रवाह रू. २ खर्ब ३ अर्ब ६० करोड पुगेको छ । उक्त कम्पनीले शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरको संख्या बढेकोले मुलुकभर कर्जा प्रवाह हुँदा कर्जा लगानी बढेको बताएको छ ।

उक्त कम्पनीका जनसम्पर्क प्रमुख अर्जुनराज खनियाँ पछिल्लो समय कम्पनीको शाखा ३२४ ओटा र ५० ओटा एक्सटेन्सन कार्यालय पुगेको र ती स्थानबाट कर्जाको माग धेरै आएकोले यस्तो भएको बताउँछन् । उनका अनुसार  विशेष गरेर  रू. १ देखि २ करोडका साना कर्जा अर्थात्  साना तथा मझौला उद्यम/ व्यवसाय तथा अटोलोन जस्ता रिटेलमा लगानी भएको छ ।

‘गत वैशाख, जेठ, असारमा खासै कर्जा प्रवाह भएन । यसअवधिमा स्विकृत गरिएका कर्जाको असारपछि प्रवाह भयो । कर्जाको माग आएअनुसार स्वीकृति दिएकाले पनि पहिलो त्रैमासमा राम्रो कर्जा प्रवाह गर्न सकिएको हो,’ आर्थिक अभियानसँग उनले भने, ‘पहिलो त्रैमासमा कोभिड–१९ को कारण कम लक्ष्य दिइएको थियो । रू.३० अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य करीब पूरा गर्न सफल भएका छौं ।’

यसैगरी दोस्रो धेरै कर्जा प्रवाह गर्नेमा प्रभु बैंक देखिएको छ । गत तीन महीनाको अवधिमा उक्त कम्पनीले थप रू. १५ अर्ब ४६ करोड कर्जा प्रवाह गरेर कुल कर्जा रू.१ खर्ब १८ अर्ब ५६ पुर्‍याएको छ । यस्तै, तेस्रो स्थानमा रहेको नविल बैंकले रू.१२ अर्ब १६ करोड थपेर रू.१ खर्ब ६५ अर्ब ५३ करोड पुर्‍याएको छ ।

यसैगरी चौथो स्थानमा रहेको एनएमबी बैंकले रू.१२ अर्ब १६ करोड थप प्रवाह गरेर रू.१ खर्ब २१ ऋर्ब ८९ करोड कर्जा पुर्‍याएको छ भनेर  पाँचौं स्थानमा रहेको मेगा बैंकले रू.७ अर्ब ९७ करोड थप गरेर रू. १ खर्ब २१ ऋर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ ।

यसबाहेकका बाँकी १७ ओटा अर्थात् ग्लोवल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सेञ्चुरी, सिभिल, सानिमा, सनराइज, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य, एभरेष्ट, एनसीसी, बैंक अफ काठमाण्डू, कृषि विकास  र कुमारी बैंकले  रू. ७ अर्बभन्दा कम थप कर्जा प्रवाह गरेका छन् । 

चालू आवको पहिलो त्रैमासमा धेरै कर्जा प्रवाह गर्न नसकेर तथा भएका ऋणी पनि घट्दा बाँकी पाँच ओटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । जसमा सबैभन्दा बढी कर्जा प्रवाह घटेको बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक हो ।

उक्त कम्पनीको पहिलो त्रैमासमा कर्जा प्रवाह रू. ४ अर्ब १२ करोडले घटेको छ । त्यस्तै, गत असारमा रू.१ खर्ब ७ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको हिमालयन बैंकको कर्जा रू.३ अर्ब ११ करोडले घटेर असोजमा रू.१ खर्ब ४ अर्ब ७८ करोडमा सीमित भएको छ ।

यसअवधिमा नेपाल राष्ट्र बैंकले ऋणीले स्वाप गर्न चाहेमा शून्य दशमलव १५ प्रतिशतको स्वाप शुल्क मात्र लिन पाउने व्यवस्था गरेकोले ऋणीहरु सस्तो व्याजदर दिने बैंकमा सरेर कर्जा प्रवाह ऋणात्मक भएको  हिमालयन बैंकका जनरल म्यानेजर तथा सुचना अधिकारी सुशील जोशी बताउँछन् । 

‘हाम्रो बैंकमा आधारदर पनि बढी छ । यसले कर्जाको ब्याजदर पनि बढि हुन गएको छ । अन्य बैंकहरुले ब्याजदर कम गरेका छन् । यसैले पनि ऋणीहरुबीचैमा अग्रिम भुक्तानी गरेर गएका छन्’, उनले भने ।     

कोरोना महामारी र लकडाउनले कारोबार ठप्प हुँदा समग्र बैंकिङ क्षेत्रमा अपेक्षाअनुसार कर्जा प्रवाह नभएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । 


कोरोना महामारीबीच चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको कर्जा लगानीको स्थिति (रु.अर्बमा ) :

स्रोत : नेपाल बैंकर्स संघ

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)