धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, प्रादेशिक कार्यालय धनगढीले यस वर्ष ६० हजार क्वीन्टल धान खरीद गर्ने भएको छ । कम्पनीले कैलालीका किसानबाट ५५ हजार र कञ्चनपुरका किसानबाट ५ हजार क्वीन्टल धान खरीद गर्न लागेको हो । कम्पनीले यस वर्षका लागि मोटो धानको समर्थन मूल्य समेत निर्धारण गरिसकेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी, प्रादेशिक कार्यालय धनगढीले समयमै धानको समर्थन मूल्य नतोक्दा यहाँका किसानले सस्तो मूल्यमा गल्ला व्यापारी (धान खरीद गर्ने व्यापारी)लाई विक्री गर्ने गरेका छन् । यस वर्षका लागि कम्पनीले मोटो धानको समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७३५ रुपैयाँ निर्धारण गरे पनि किसानले भने १ हजार ९०० देखि २ हजार २०० रुपैयाँमै गल्ला व्यापारीलाई धान विक्री गर्दै आएका छन् ।
कम्पनीले समयमा समर्थन मूल्य नतोक्ने र तोकेको मूल्यमा पनि धान लिन आनाकानी गर्ने भएकाले किसानहरू गल्ला व्यापारीलाई उनीहरूकै मूल्यमा बेच्न बाध्य हुनुपरेको गोदावरी नगरपालिका–५ गेटाका किसान विनोद जोशीले बताए । ‘हाम्रो आम्दानीको स्रोत भनेकै त्यही अन्नबाली हो,’ अर्का किसान लाहुराम चौधरीले भने, ‘यही बेचेर वर्षभरको खर्च जोहो गर्नुपर्ने अवस्थाका कारण खेतबारीबाटै गल्ला व्यापारीलाई विक्री गर्नु परेको छ ।’
धान विक्रीबाट तुरुन्तै गहुँ खेतीका लागि तयारी गर्नुपर्ने भएकाले आफूले प्रतिक्वीन्टल १ हजार ९ सयका दरले १६ क्वीन्टल धान विक्री गरिसकेको धनगढी उपमहानगरपालिका–१३ राजपुरका किसान शुक्ला चौधरी बताए । ‘खाद्यले कहिले समर्थन मूल्य तोक्छ, कहिले खरीद गर्छ कुनै टुंगो हुँदैन,’ उनले भने, ‘मैले हरेक वर्ष गल्ला व्यापारीलाई नै धान विक्री गर्दै आएको छु ।’
समयमै मूल्य नतोक्ने तथा खरीद नगर्ने खाद्य कम्पनीको पुरानै कार्यशैलीले किसानहरू मारमा परेका छन् । यहाँका किसान कम्पनीले तोकेको मूल्यभन्दा ६०० देखि १ हजार कम मूल्यमै गल्ला व्यापारीलाई धान विक्री गर्न बाध्य छन् । अहिले विभिन्न स्थानमा गल्ला व्यापारीले खरीद केन्द्र राखेर किसाबाट सस्तो मूल्यमा धान खरीद गरिरहेका छन् ।
सरकारले धानको समर्थन मूल्य तोकेर किसानबाट धान खरीद गर्नुपर्ने माग उठ्दै आएको भए पनि बेवास्ता हुँदा किसानहरू मारमा परेका हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्धारित सरकारी दररेटपछि किसानबाट नभएर गल्ला व्यापारीबाट धान खरीद गर्ने गरेको यस क्षेत्रका कतिपय अगुवा कृषकको गुनासो छ । अहिले किसानले धान विक्री गर्ने समय नभएको भन्दै किसानको धान ढिलो खरीद गर्ने कम्पनीले तिहारपछि व्यापारीबाट धान खरीद गर्ने मनस्थिति बनाएको आरोप समेत उनीहरूको छ । ‘अहिले किसानले गल्ला व्यापारीलाई धमाधम सस्तो मूल्यमा धान विक्री गरिरहेका छन् । खाद्य व्यवस्था कम्पनी किन अहिले नै धान खरीद गर्न तयार छैन ?’ अगुवा कृषक हरेन्द्र बोहराले भने, ‘तिहारपछि त किसानले सबै धान विक्री गरिसक्छन् ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी, धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले भने व्यापारीबाट नभई किसानबाटै धान खरीद गरिने दाबी गरे । कम्पनीले मङ्सिरदेखि धान खरीद शुरू गर्ने उनले जानकारी दिए । कैलाली–कञ्चनपुरका गोदामको क्षमता कम भएको भन्दै उनले किसानको माग अनुसार धान खरीद गर्न नसकिने बताए । गोदाम भाडामा लिन केन्द्रमा समेत पत्राचार गरिएको उनको भनाइ छ ।