ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टेन्सबर्ग बियर : प्रसाईंलाई शेयर हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्यो

२०७७ कार्तिक, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । उद्योगी तेजेन्द्र खड्काको एकल स्वामित्वमा रहेको टेन्सबर्ग बियर उत्पादन गर्ने टाइगर्स ब्रुअरी उद्योगको ५० प्रतिशत शेयर मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नाममा हस्तान्तरण गर्ने दुई उद्योगीबीच सम्झौता भएको छ । २ साताअघि मात्र प्रसाईंलाई आधा शेयर विक्री गर्ने प्रारम्भिक सम्झौता भएकोमा हालै मात्र दुई उद्योगीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

शेयर हस्तान्तरणको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै प्रसाईंले विस्तारै मदिराको उत्पादन पनि वृद्धि गर्दै लगिने बताए । ‘अहिले विदेशी ब्राण्डको मदिरा उत्पादन गरिरहेका कम्पनीले वार्षिक १० अर्बभन्दा बढी रकम बाहिर पठाइरहेका छन्,’ उनले भने, ‘मदिरामा बाहिरिरहेको ठूलो रकम रोक्न नेपाली उत्पादनलाई नै प्रोत्साहन गर्ने तयारीका साथ उद्योग सञ्चालन गर्न खोजेका हौं ।’

टाइगर्स ग्रूपले हाल टेन्सबर्ग र टाइगर्स ब्राण्डका बियर उत्पादन गरिरहेको छ ।

उत्पादन बढाएर विदेशमा समेत निकासी गर्ने तयारीसहित शेयर विक्री गरिएको सञ्चालक खड्काले बताए । सरकारी सबै प्रक्रिया सकेर शेयर हस्तान्तरण हुन करीब ६ महीना लाग्ने उनको भनाइ छ । कम्पनीले गतवर्ष राज्यलाई रू. ३ अर्ब कर बुझाएकोमा यो वर्ष रू. १० अर्ब बुझाउनेगरी उद्योग विकास गर्ने तयारी गरिरहेको उनले बताए ।

पूर्वमा बी एण्ड सी मेडिकल कलेज सञ्चालन गरेर बसेका मेडिकल व्यवसायी प्रसाईं गतवर्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए । त्यसपछि मार्सी चामललाई नै ब्राण्ड बनाएर अघि बढ्ने योजना बनाएका उनले विभिन्न क्षेत्रको अध्ययन गरेका थिए । सोही क्रममा ६ महीनाअघि भैरहवामा रहेको टाइगर्स ब्रुअरी ग्रूपका सञ्चालक खड्कासँगको छलफलमा दुई उद्योगीबीच शेयर खरीदविक्री गर्ने सहमति भएको थियो ।

प्रसाईंले उक्त उद्योगबाटै मार्सी ब्राण्डको बियर पनि उत्पादन गर्ने तयारी गरेका छन् । बियरमा ७० प्रतिशत माल्ट र ३० प्रतिशत साधारण कनिका चामल प्रयोग हुने गरेकोमा कनिका चामलको सट्टा मार्सी चामल प्रयोग गर्ने तयारी गरिएको प्रसाईंले बताए । ‘यसले जुम्लाको मार्सी चामलको माग बढेर सम्बन्धित कृषकको आर्थिक स्थितिमा पनि ठूलो सुधार आउनेछ,’ उनले भने । उनले मार्सी ब्राण्ड दर्ता भएर बोतलको डिजाइन पनि तयार भइसकेको बताउँदै उनले तिहारपछि ‘मार्सी प्रिमियम’ र ‘मार्सी स्ट्रङ’ बियर बजारमा आउने जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)