ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चालू आवमा पनि सुन आयात न्यून

३ महीनामा १०० केजी मात्र सुन आयात

२०७७ कार्तिक, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । मूल्य अत्यधिक मात्रामा बढेपछि चालू आर्थिक वर्ष (आव) २०७७÷७८ मा पनि सुनको आयात बढ्न सकेको छैन । मूल्य बढेकै कारण गत आवमा सुनको आयातमा भारी ह्रास आएको थियो ।

नेपालमा सामान्य अवस्था हुँदा ३ महीनामा १ हजार ८०० केजीको हाराहारीमा सुन आयात हुने गथ्र्यो । तर, चालू आवको पहिलो ३ महीनामा १०० केजी मात्र सुन आयात भएको छ । चालू आवको असोजसम्म ७३ करोड ७० लाख रुपैयाँ बराबरको सुन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आवको यही अवधिमा रू. ६ करोड बराबरको मात्र सुन आयात भएको थियो । त्यसको तुलनामा यस आवको पहिलो त्रैमासमा सुनको आयात बढेको देखिन्छ । तर, त्यो औसतभन्दा निकै कम भएको सुन व्यवसायीको भनाइ छ । अघिल्लो आव २०७५/७६ को पहिलो त्रैमासमा भने रू. ८ अर्ब ६५ करोड बराबरको १ हजार ८७३ केजी सुन आयात भएको थियो ।

अघिल्लो आवमा रू. ३४ अर्ब ६३ करोडको सुन आयात भएको थियो । तर, गत आवमा भने त्यो भन्दा ६२ प्रतिशत कम अर्थात् १३ अर्ब ४६ करोडको मात्र सुन आयात भएको थियो । गत आवको शुरूको अवधिमा अमेरिका र चीनबीचको व्यापार युद्ध र पछिल्लो अवधिमा कोरोना प्रभावका कारण सुनको मूल्य बढेसँगै आयातमा कमी आएको हो ।

नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीपछि अर्थात् चैतदेखि गत साउनसम्म सुनको आयात नै गरिएको थिएन । चालू आवमा भएको १०० केजी सुन पछिल्लो २ महीना अर्थात् भदौ र असोजमा गरिएको हो । उक्त सुन पनि भइपरी आउने कामका लागि भनेर आयात गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘दशैंतिहारको समयमा आवश्यक पर्न सक्छ भनेर मात्र बैंकहरूले सुन आयात गरेका हुन् । तर, दशैंतिहारको समयमा पनि व्यवसाय सन्तोषजनक छैन,’ उनले भने, ‘बजार चलायमान नभएपछि बैंकहरूलाई थप सुन आयात नगर्न मौखिक सुझाव पनि दिएका छौं । मङ्सिरमा विवाहको लगन भए पनि कोरोनाको त्रासले विवाहका कार्यक्रम हुने सम्भावना कम छ । त्यसैले स्टकमा भएको सुनले नै काम चलाउने हाम्रो योजना छ ।’ वर्तमान अवस्थाअनुसार अभैm १ वर्षसम्म सुनचाँदी व्यवसाय चलायमान नहुने उनको भनाइ छ । गत आवको समीक्षा अवधिमा अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको मूल्य बढ्दा कारोबार प्रभावित भएपछि यसको आयात घटेको थियो । चालू आवमा भने कोरोना भाइरसको प्रभावका कारण सुनको आयात घटेको बताइएको छ । कोरोनाका कारण आमनेपालीको क्रयशक्ति नै घटेको छ । यो अवस्थामा सुनको मूल्य बढ्दा अहिले व्यवसाय पनि नमज्जाले प्रभावित भएको बताइन्छ । व्यवसाय नै प्रभावित भएपछि व्यवसायीहरूले बैंकलाई सुन आयात न्यून मात्रामा गर्न सुझाएका थिए । त्यसको असरले सुनको आयातमा कमी आएको व्यवसायीहरू बताउँछन् । नेपालमा सुन आयात गर्ने अख्तियार वाणिज्य बैंकहरूलाई मात्र छ ।

गतवर्षको असारसम्म सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँको हारहारीमा थियो । अमेरिका र चीनको व्यापार युद्धलगायत कारण त्यो बढेर गत आवमा ८० हजार रुपैयाँका हाराहारीमा पुगेको थियो । कोरोना भाइरसको प्रभावले सुनको मूल्य बढेर १ लाख ३ हजार ५०० सम्म पुगेको थियो जुन अहिले झरेर प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा रहेको छ । कोरोनाले विश्व अर्थतन्त्रलाई प्रभावित बनाएपछि विश्व शेयरमा बजार पनि घट्न थाल्यो । त्यसपछि शेयर लगानीकर्ताहरूले लगानी सुरक्षित गर्न सुन किनेर होल्ड गर्न शुरू गर्न थाले । यसरी लगानीकर्ताहरू सुनतिर आकर्षित भएपछि यसको मूल्य बढेको नेपाली बजारका व्यवसायीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)