ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महाकालीमा सुक्खा बन्दरगाह निर्माणको औपचारिक घोषणा

२०७७ कार्तिक, १७  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको महाकाली नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणको औपचारिक घोषणा गरेका छन् । जिल्लाको महाकाली नगरपालिका–१ स्थित मायापुरी र गौरीशंकर सामुदायिक वन क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण गरिने आइतवार एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो ।

मन्त्रालयको प्राविधिक सहितको उच्चस्तरीय टोली लिएर दोधारा चाँदनी पुगेका मन्त्री भट्टले महाकाली नगरपालिकाको मायापुरी र गौरीशंकर सामुदायिक वनको झण्डै १ हजार बिगाहा जग्गा सुक्खा बन्दरगाह स्थापनाका लागि लिइने बताएका छन् । शुरुआतमा सुक्खा बन्दरगाहका लागि महाकाली नगरपालिकास्थित कञ्जभोज प्रस्ताव गरिए पनि प्राविधिक पक्षको अध्ययनपछि कम लागत  र भारतसँगको सहज पहुँचका लागि स्थान परिवर्तन गर्नुपरेको उनको भनाइ छ ।

यसअघि प्रस्तावित दोधारा चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाहस्थलसम्म आउने पहुँचमार्गका लागि १२ किलोमिटर भारतको वन क्षेत्र पर्ने भएकाले भारतले सहमति गर्न नमानेपछि मायापुरीमा सुक्खा बन्दगाह बनाउन लागिएको मन्त्री भट्टले बताए ।

जनतालाई उत्पादन र आधुनिक औद्योगिकीकरणसँग नजोड्दासम्म देश समृद्ध नहुने उनको भनाइ छ । अहिले रोजगारीका लागि युवा विदेशिने क्रम ठूलो चुनौतीको रूपमा रहेको भन्दै उनले सोही चुनौती चिर्न आधुनिक औद्योगिकीकरणमा जान आवश्यक रहेको बताए  । ‘नीति तथा कार्यक्रममार्पmत देशमा चारओटा विशेष आर्थिक क्षेत्रलाई अघि सारेका छौं,’ उनले भने, ‘यसअन्तर्गत सुक्खा बन्दरगाह, औद्योगिक कोरिडोर, एकीकृत जाँच चौकीलगायत पूर्वाधार निर्माण हुनेछन् ।’ कञ्चनपुरको दैजीक्षेला, अत्तरिया–धनगढी औद्योगिक कोरिडोर, हरैया विशेष आर्थिक क्षेत्र, डुडेझारी औद्योगिक क्षेत्र र बाँकेको नौबस्तामा औद्योगिक क्षेत्र निर्माणको काम भइरहेको उनले बताए ।
सुदूरपश्चिमको स्रोतको पहिचान गरी नयाँ आर्थिक आयामको खोजी भइरहेको बताउँदै मन्त्री भट्टले भने, ‘आधुनिक औद्योगिकीकरणले सुदूरपश्चिमलाई समृद्ध पश्चिम बनाउँछ । अब त्यसको शुरुआत भइसक्यो ।’

कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का संघीय सांसद डा. दीपकप्रकाश भट्टले सुदूरपश्चिमवासीको आर्थिक समृद्धिको सपना पूरा हुन लागेको बताए । सुक्खा बन्दरगाह निर्माण भएपछि दोधारा चाँदनी नेपालकै पहिलो अन्तरदेशीय नाका हुने दाबी समेत उनले गरे ।

उद्योग सचिव चन्द्रकुमार घिमिरेले सन् २०११ देखि नै दोधारा चादँनीमा सुक्खा बन्दरगाह बनाउन पहल हुँदै आएको बताए । ‘सुक्खा बन्दरगाहको निर्माणका लागि विभिन्न चरणमा अध्ययन भएको भन्दै भारतसितको औपचारिक वार्तामा पनि यो एजेण्डा समावेश हुँदै आएको थियो,’ उनले भने, ‘अहिले एजेण्डाले सार्थकता पाएकाले आर्थिक समृद्धिको नयाँ ढोका खोल्ने सपना साकार हुँदै छ ।’ सुक्खा बन्दरगाह निर्माणका लागि ४०० बिगाहा क्षेत्रफल आवश्यक पर्ने मन्त्रालयको प्राविधिक टोलीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)