ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषिमा रू. १ खर्ब ९१ अर्बको कर्जा प्रवाह

कुल कर्जामा कृषिको अंश ५.८५

२०७७ कार्तिक, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । वाणिज्य बैंकहरूले कुल कर्जाको १० प्रतिशत कर्जा कृषिक्षेत्रमा अनिवार्य प्रवाह गर्नुपर्ने यसअघिको नीतिलाई परिमार्जन गरी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले १५ प्रतिशत पुर्‍याउने व्यवस्था गरे पनि चालू आवको प्रथम २ महीनासम्ममा ५ दशमलव ८५ प्रतिशतमात्रै प्रवाह भएको देखिन्छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट चालू आवको गत भदौ मसान्तसम्ममा कुल क्षेत्रगत कर्जा रू. ३२ खर्ब ७४ अर्ब ९७ करोड प्रवाह भएको थियो । यसमध्ये कृषि कर्जाअन्तर्गत रू. १ खर्ब ९१ अर्ब ७२ करोड प्रवाह भएको छ । विगतमा १० प्रतिशत अनिवार्य कृषि कर्जा प्रवाह गर्नुपर्ने भए पनि अहिलेको कृषिक्षेत्रमा भएको कर्जा प्रवाहलाई राष्ट्र बैंकले सकारात्मक मानेको छ ।

महामारीका बीच पनि गतवर्षको तुलनामा कृषि कर्जा रू. २६ अर्ब ७३ करोड ९० लाख रुपैयाँले बढी प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागको तथ्यांकअनुसार गतवर्ष भदौ मसान्तसम्ममा कुल क्षेत्रगत कर्जा रू. २९ खर्ब ७६ अर्ब ७४ करोड प्रवाह भएकोमा कृषि कर्जा रू. १ खर्ब ६४ अर्ब ९८ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले प्रकाशन गर्ने मासिक तथ्यांकले कृषि, वनजन्य र माछा व्यवसायलाई कृषि कर्जा भनेर उल्लेख गरेको छ । अर्थात् ‘कृषिक्षेत्र’अन्तर्गत अन्न, तरकारी तथा अन्य नगदेबाली, सुर्ती, सनपाट, फलफूल तथा पुष्पखेती, पशुपक्षी तथा माहुरी पालन, मलखाद तथा कीटनाशक, शीत भण्डारण, सिँचाइ, वन, पशु वा पन्छी वधशाला, अन्य कृषि तथा कृषिजन्य सेवा, माछापालनलाई समेट्ने गरिएको छ ।

तर, यो कृषि कर्जा प्रवाहको तथ्यांकमा सहुलियतपूर्ण कृषि कर्जा र प्राथमिकताप्राप्त कृषि कर्जाको तथ्यांक नसमेटिएको राष्ट्र बैंकको तथ्यांक विभागले जानकारी दिएको छ । प्राथमिकता प्राप्त कृषि कर्जाले विशुद्ध कृषि कर्जासँगै कृषि उत्पादनका सामग्री किन्न लिएको ऋण, चिया तथा कफी उत्पादनका लागि दिएको ऋणसमेतलाई समेट्छ ।

नेपाल राष्ट्र बैंकको भदौ मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत कुल रू. १ खर्ब ९१ अर्ब ७२ करोड २७ लाख रुपैयाँ बराबरको कृषि तथा वनजन्य कर्जा प्रवाह भएकोमा सबैभन्दा बढी अंश कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले सबैभन्दा बढी अर्थात् कुल कृषि कर्जाको १६ दशमलव ५७ प्रतिशत (रू. २८ अर्ब ६५ करोड ५३ लाख) अंश ओगटेको छ । बैंकका प्रवक्ता हेमलाल पौड्याल बैंकले जोखिम मोलेर सहुलियतपूर्ण कर्जाअन्तर्गतको विनाधितो कृषि कर्जा प्रवाहमा जोड दिएको बताए ।

एनआईसी एशिया बैंकले कुल कृषि कर्जाको ९ दशमलव  शून्य १ प्रतिशत (रू. १५ अर्ब ५९ करोड २२ लाख) कर्जा प्रवाह गरेको छ । कर्जा प्रवाहमा आक्रामक देखिएको बैंकले कृषि कर्जा पनि राम्रै प्रवाह गरेको छ ।

एनआईसी एशिया बैंक चालू आवको पहिलो त्रैमासमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने पहिलो बैंक पनि हो । बैंकको शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरको संख्या बढेकाले मुलुकभर कर्जा प्रवाह हुँदा समग्रमा कर्जा लगानी बढेको एनआईसी एशिया बैंकका जनसम्पर्क प्रमुख अर्जुनराज खनियाँ बताउँछन् ।

राष्ट्रिय वाणिज्य बैंकले कुल कृषि कर्जाको ७ दशमलव ७४ प्रतिशत (रू. १३ अर्ब ३९ करोड) कर्जा प्रवाह गरेको छ । बढी कृषि कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरूमा क्रमशः प्राइम, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ, ग्लोबल आईएमई, सनराइज र नेपाल बैंक रहेका छन् । १९ ओटा विकास बैंकहरूबाट रू.१९ अर्ब ४३ करोड ९० लाख बराबरको कृषि कर्जा प्रवाह भएको तथ्यांकमा उल्लेख छ । २१ ओटा वित्त कम्पनीहरूले रू. ४ अर्ब ६८ करोड ७० लाख बराबरको कृषि कर्जा प्रवाह गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)