ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक लगानीका प्रोजेक्ट दर्तामा परेन कोरोना प्रभाव

३ महीनामा रू. १९ अर्ब १५ करोडका ८९ प्रोजेक्ट दर्ता , २ आर्थिक वर्षमा दर्ता स्थिति स्थिर, पर्यटन र सेवामा लगानीकर्ताको निरन्तर आकर्षण

२०७७ कार्तिक, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमण नेपालमा समेत फैलिँदा नयाँ लगानी गर्न ‘पर्ख र हेर’को स्थिति देखिए पनि वैदेशिक लगानीका प्रोजेक्ट दर्ता स्थिति भने गतवर्षको जस्तै देखिएको छ ।

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ३ महीनामा कुल रू. १९ अर्ब १५ करोड लगानीका ८९ ओटा परियोजना उद्योग विभागका दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महीनामा पनि यही संख्यामा वैदेशिक लगानीका उद्योग दर्ता भएका थिए । यसले गर्दा २ आर्थिक वर्षमा विदेशी लगानीका प्रोजेक्ट दर्ता स्थिति स्थिर देखिएको हो । यद्यपि आर्थिक वर्ष २०७५/७६ मा भन्दा उल्लेख्य मात्रामा यस्तो संख्या कम रहेको छ । सो वर्षकै ३ महीनामा १२९ ओटा उद्योग दर्ता भएका थिए ।

नेपालको कृषि तथा वनजन्य, सूचना र प्रविधि, उत्पादनमूलक, सेवा र पर्यटनका क्षेत्रमा चालू आवमा दर्ता भएका ती उद्योगबाट २ हजार ८४६ जनाले रोजगारी पाउने देखिएको छ । चालू आवको यस अवधिमा पनि पर्यटन र सेवाक्षेत्रले नै लगानीका लागि आकर्षणका रूपमा स्थापित देखिन्छन् । साउनदेखि असोज अन्तिमसम्ममा नेपालमा ५८ ओटा पर्यटनसम्बन्धी उद्योग तथा परियोजना दर्ता भएका छन् भने ती परियोजनाको कुल लगानी रू. १३ अर्ब ८० करोड रहेको छ ।

विदेशी लगानीकर्ताको दोस्रो रोजाइमा सेवासम्बन्धी उद्योग क्षेत्र परेको छ । यसबीचमा २५ ओटा सेवासम्बन्धी परियोजना दर्ता हुँदा कृषि तथा वनसम्बन्धी १, सूचना प्रविधिका ३ र उत्पादनमूलक उद्योगमा जम्मा दुईओटा उद्योग दर्ता भएका छन् । सेवा क्षेत्रमा चालू आर्थिक वर्षको यो अवधिमा रू. ४ अर्ब ५० करोड लगानीका परियोजना दर्ता भएका छन् । चालू आवको पहिलो ३ महीनामा ऊर्जाक्षेत्रमा कुनै वैदेशिक लगानी भित्रिएको छैन ।

होटेल एशोसिएशन नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहले पर्यटन क्षेत्र विदेशी लगानीकर्ताको आकर्षणमा पर्नु सकारात्मक विषय भए पनि लगानी नै भिœयाएको अवस्था भने कम रहेको बताए । ‘लाइसेन्स होल्ड गरेर बस्ने परिपाटी पनि देखिएको छ,’ शाहले भने, ‘यद्यपि काठमाडौं उपत्यकाबाहेक मोफसल तथा प्रदेश राजधानी भएका क्षेत्रमा अझै पनि सम्भावना रहेको हुँदा लगानीकर्ता आकर्षित भएका हुनसक्छन् ।’

२०७५/७६ मा उद्योग दर्ता धेरै भए पनि रकम भने यी २ आवको तुलनामा कम रहेको छ । सो वर्ष रू. ७ अर्ब १३ करोड ८५ लाख लगानीका १२९ परियोजना दर्ता भएको विभागको तथ्यांक छ । सो वर्ष पनि सेवा र पर्यटनमा आधारित परियोजना तथा उद्योगहरू क्रमश : ४१ र ५० संख्यामा दर्ता भएका थिए भने लगानी पनि क्रमशः रू. १ अर्ब ३५ करोड सेवासम्बन्धी र रू. २ अर्ब ९१ करोड पर्यटनसम्बन्धीमा लगानी आएको देखिन्छ ।

विभागका अनुसार २०७६/७७ को पहिलो ३ महीनामा वैदेशिक लगानीका ८८ ओटा उद्योग दर्ता भएका थिए भने ती उद्योगको कुल लगानी रू. १९ अर्ब २५ करोड ५८ लाख रहेको थियो । त्यसमध्ये गत आवमा पनि लगानीकर्ताको रोजाइमा सेवा र पर्यटन क्षेत्र नै परेको देखिन्छ । ४० ओटा परियोजना पर्यटन र २९ ओटा परियोजना सेवासम्बन्धी दर्ता भएको पाइन्छ भने लगानी क्रमशः पर्यटनमा रू. ६ अर्ब २० करोड र सेवामा रू. ३ अर्ब ४८ करोड थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)