ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखराको अमलाबिसौंनी–घार्मी–आलेबारी सडक कालोपत्र शुरू

२०७७ कार्तिक, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । पोखरा महानगरपालिकाको अमलाबिसौंनी–घार्मी–आलेबारी ग्रामीण सडक खण्ड कालोपत्रको काम शुरू भएको छ । कोरोना महामारीका कारण निर्माण रोकिएको लामो समयपछि पोखरा महानगर पालिकाका–१६ र १९ लाई समेटेर करीब १२ किलोमिटर सडकको स्तरोन्नति शुरू गरिएको हो । निर्माणाधीन सडक खण्डमा करीब आधा किलोमिटर सडक ढलान गरिएको छ । बाँकी सडकमा कालोपत्र कार्य जारी रहेको सडक खण्डमा ठेकेदार कम्पनी जीएसआर निर्माण कम्पनीले बताएको छ ।

चैतमै कालोपत्र सम्पन्न गर्नेगरी काम गरिरहेको कम्पनीले लकडाउनका कारण रोकिएपछि ६ महीनापछि पुनः थालेको हो ।

गण्डकी प्रदेश सरकार, भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको आयोजना अन्तर्गत कुल ७ करोड ८२ लाख रुपैयाँमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला तथा टेवा पर्खाल निर्माण लगायत काम यसअघि नै सम्पन्न गरेको छ । लामो समयदेखि रोकिएको सडक कालोपत्र कार्य शुरू गरेको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए । हाल अमलाबिसौनीदेखि घार्मीको मैदानसम्म कालोपत्र गरिने र बाँकी सडक खण्डमा पनि छिट्टै निर्माणको काम गरिने सचिव पौडेलले बताए ।

निर्माणाधीन सडकको हालै संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र पोखरा महानगरपालिका १९ का वडाध्यक्ष शोभामोहन पौडेलसहितको टोलीले निरीक्षण गरेको छ । निरीक्षणका क्रममा टोलीले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिँदै कुनै किसिमको कमीकमजोरी हुन नदिन निर्देशन दिएको छ ।

वडाध्यक्ष पौडेलले भइरहेको काम सन्तोषजनक रहेको बताए । सडक कालोपत्र कार्य तीव्ररूपले अघि बढेकाले छिट्टै सम्पन्न हुने उनको भनाइ छ । २०४१ सालदेखि यस क्षेत्रमा सडक निर्माण योजना शुरू भए तापनि विभिन्न अवरोध र बजेट अभावले स्तरोन्नति हुन सकेको थिएन । सडक विस्तारको काम अघि बढेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।

स्थानीय चन्द्रबहादुर विकले सडक र खानेपानीको सुविधासँगै यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्ने उनीहरूको माग छ । उक्त सडकलाई राष्ट्रिय योजनामा पार्न गण्डकी प्रदेशका सासंद रहेका तत्कालीन मन्त्री कुमार खड्काले सक्रिय भूमिका निर्वाह गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)