ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमाल आरोहणमा भीआईपी पर्यटकको चासो

बहराइनपछि कतारका राजकुमार हिमाल आरोहण गर्दै

२०७७ कार्तिक, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण करीब बन्दजस्तै रहेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा हिमाल आरोहणले गर्दा थोरै भए पनि चलायमान भएको छ । कोरोनाकै बीच विदेशी उच्चपदस्थ व्यक्तिहरूको नेपाल आगमन र हिमाल आरोहणले यस क्षेत्रलाई थोरै भए पनि चलायमान बनाएको र यसले नेपालको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रभाव गरेको सरकार तथा व्यवसायीहरूको धारणा छ ।

कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्ला ६ हजार ८१४ मीटर अग्लो आमादब्लम हिमाल आरोहण गर्न आधार शिविर पुगेका छन् । राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आइतवार आमादब्लम आधार शिविर पुगेको हो । यो टोलीमा ६ जना आरोही सदस्य रहेको पर्यटन विभागले जानकारी दिएको छ । यस्तै ६ जना समूहको एक नेपाली टोलीले बरुत्से हिमाल पनि आरोहण गरेको छ । ६ हजार १५१ मीटर उचाइको ग्लाल्जेन पीक र ७ हजार १२६ मिटर उचाइको हिमलुङ हिमाल आरोहण गर्न दुई समूहले अनुमति लिएको विभागले जानकारी दिएको छ ।

यस अघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोलीले ८ हजार १६३ मीटरको मनास्लु हिमाल चढेर स्वदेश फर्किसकेको छ ।

पर्यटन विभागका अनुसार कोरोना महामारीका बीचमा पनि पर्वतारोहणका लागि हालसम्म पाँच टोलीलाई आरोहण अनुमति प्रदान गरिएको छ । यसबीचमा दुई टोलीका २४ जनाले हिमाल आरोहण गरिसकेको विभागले जानकारी दिएको छ । आरोहण अनुमतिबाट कुल २३ लाख ६० हजार २ सय ८२ रुपैयाँ रोयल्टी संकलनसमेत भएको छ ।

सरकारले ट्रेकिङ तथा हिमाल आरोहण खुला गरेपछि भएका उच्चस्तरीय पर्यटक आगमनले कोरोनाकै बीच पनि विदेशमा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले बताए । ‘बहराइनका राजकुमारसहितको टोलीको सफल हिमाल आरोहण गरी फर्किएको छ ।

कुवेतका राजकुमारसहितको टोलीले हिमाल आरोहणको तयारी गरेको छ । यसले कोभिडका बीचमा पनि नेपाल जान सकिन्छ भने सन्देश प्रवाह भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै अब विस्तारै अन्य पर्यटकीय क्षेत्र पनि खुला गरिनेछ,’ उनले भने । उच्च घरानाबाट हुने गरेका यस्ता भ्रमणले अन्य पर्यटकलाई पनि नेपाल आउन अभिप्रेरित गर्ने मन्त्री भट्टराईको भनाइ छ ।

यस सिजनमा पर्यटक आगमन नभए पनि कोरानाको कारण ठप्प रहेको पर्यटनमा पछिल्ला आरोहणले थोरै भए पनि सकारात्मक सन्देश प्रवाह गरेको नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव कुलबहादुर गुरुङले बताए । उनले स्वास्थ्य मापदण्ड पालना गर्दै नेपालको पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको समेत बताए । सरकारले नेपाल आउने पर्यटकलाई ६ दिन होटेल क्वारेन्टाइनको व्यवस्था गरेकाले पर्यटक आगमन कम हुने भन्दै व्यवसायीहरूले यो अवधी घटाउन र विमानस्थलमै पीसीआर परीक्षण गर्न माग गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)