ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पहिलो त्रैमासमा साढे ७ अर्ब निर्जीवन बीमाशुुल्क संकलन

‘होटल, सिनेमा हल, ट्रेकिङ कम्पनीहरू बीमामा आएनन्’

२०७७ कार्तिक, १८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७७ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले रू. ७ अर्ब ५८ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त असोज मसान्तसम्मको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो ।

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी छन् । तीमध्ये १९ बीमा कम्पनीले समीक्षा अवधिमा उक्त बीमाशुल्क संलकन गरेका हुन्, जुन गत आवको सोही अवधिको भन्दा ८ दशमलव ५९ प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले रू. ६ अर्ब ९८ करोड बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भने अझै तथ्यांक उपलब्ध नगराएको समितिको भनाइ छ ।

बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा छ । समीक्षा अवधिमा कम्पनीले रू. ९० करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले रू. ७३ करोड बीमाशुल्क संकलन गरेको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले भने रू. ६८ करोड बीमाशुल्क संकलन गरेको समितिको भनाइ छ ।

२ वर्षअघि सञ्चालनमा आएका तीन नयाँ निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स अगाडि देखिएको छ । कम्पनीले पहिलो त्रैमासमा रू. ३३ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी जनरल इन्स्योरेन्सले रू. १९ करोड र सानिमा जनरलले रू. १२ करोड बीमाशुल्क संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ गतेदेखि करीब ३ महीना पूर्ण बन्दाबन्दी लगाएको थियो । त्यस अवस्थामा निर्जीवन बीमा व्यवसाय नराम्ररी प्रभावित भएको थियो । असारदेखि बन्दाबन्दी खुकुलो बनाएपछि भने निर्जीवन बीमाको व्यवसाय बढ्न थालेको थियो । तर, भदौमा निषेधाज्ञाले चालू आवको पहिलो त्रैमासमा व्यवसाय पुनः प्रभावित भएको युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिनुपर्ने व्यवस्थाले पनि बीमाशुल्क संकलनमा कमी आएको उनको भनाइ छ । ‘बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिने भनेर बीमा समितिले राहत प्याकेज ल्याएको थियो । बीमितले त्यसबापत पाउने छूट रकम कट्टी गरेर बीमालेख नवीकरण गर्ने गरेका छौं,’ उनले भने, ‘त्यसले पनि व्यवसायलाई केही प्रभावित बनाएको छ । नभए योभन्दा बढी बीमाशुल्क संकलन हुन सक्थ्यो ।’

बीमा समितिले मोटर तथा सम्पत्ति बीमामा लकडाउन अवधिको बीमाशुल्क छूट गर्न यसअघि नै निर्देशन दिएको थियो । नयाँ आर्थिक वर्ष शुरू भएसँगै कम्पनीहरूले सोही अनुसार बीमालेख नवीकरण गर्दै आएका छन् ।

यस्तै, वर्तमान समयमा सिनेमा हल, होटल र ट्रेकिङ कम्पनीहरू बीमाको दायरामा नआउँदा व्यवसाय प्रभावित भएको भट्टराईले बताए । ‘कोरोना भाइरसको त्रासले अहिले उक्त क्षेत्रहरू नमज्जाले प्रभावित भएका छन् । त्यसैले उनीहरू अझै बीमाको दायरामा आएका छैनन्,’ उनले भने । अहिले बैंक मातहतको बीमालेख मात्र बढी मात्रामा नवीकरण हुने गरेको उनको भनाइ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)