ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. १ खर्ब १३ अर्ब पुनर्कर्जाको माग

मङ्सिरभित्र उपलब्ध गराउने तयारीमा राष्ट्र बैंक

२०७७ कार्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारी तथा बन्दाबन्दीबाट प्रभावितलाई लक्षित गर्दै राहतस्वरूप २ खर्ब रुपैयाँ बराबरको पुनर्कर्जा सुविधा दिन आवेदन खुलाएकोमा रू. १ खर्ब १३ अर्बको माग आएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई असोज मसान्तसम्म सहुलियतपूर्ण ब्याजदरमा पुराना ऋणीलाई एकमुष्ट पुनर्कर्जाका लागि सूचीसहित आवेदन पेश गर्न सूचना दिएको थियो । केन्द्रीय बैंकमा परेको आवेदनमाथि  नियमन विभागले विश्लेषण तथा मूल्यांकन गरेर आगामी मङ्सिरमा पुनर्कर्जा उपलब्ध गराउने गरी काम गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टका अनुसार असोज मसान्तसम्म ४४ ओटा बैंक तथा वित्तीय संस्थामार्पmत ऋणीहरूले रू. ७२ अर्ब पुनर्कर्जा मागेका छन् । ‘यसबाहेक ग्राहक ऋणीअनुसारको ४१ अर्ब रुपैयाँ माग भएको छ । ४१ अर्बमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशबाट पुनर्कर्जाको आवेदन परेको देखियो,’ उनले भने, ‘अब आवेदन परेकालाई पुनर्कर्जा कार्यविधिअनुसार भए नभएको हेर्ने, विश्लेषण तथा मूल्यांकन गरेर मङ्सिरभित्रै पुनर्कर्जा उपलब्ध गराउने गरी काम भइरहेको छ ।’

पुनर्कर्जाका लागि प्रस्ताव गरिएको रू. २ खर्बमध्ये चालू आवमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीमार्फत ७० प्रतिशतलाई दिने व्यवस्था कार्यविधिमा छ । यसमध्ये २० प्रतिशत पुनर्कर्जा भने राष्ट्र बैंकले मूल्यांकनका आधारमा वितरण गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत रू. ४१ अर्ब रुपैयाँको माग परेको राष्ट्र बैंकले बताएको छ । बाँकी १० प्रतिशत लघुवित्त संस्थामार्फत पुनर्कर्जा वितरण गर्ने व्यवस्था गरिएको छ ।

गत भदौ र असोज महीनामा क, ख, ग वर्गका संस्थाहरूबाट  पुनर्कर्जाका लागि आवेदन दिने भनिएको पनि लघुवित्तका लागि आवेदन खुलेको छैन । शुरूमा कोभिडबाट अतिप्रभावित तथा मध्यम प्रभावित होटेल, पर्यटनलगायत क्षेत्रलाई पहिलो प्राथमिकता दिएको प्रवक्ता डा. भट्टको भनाइ छ ।

बैंकले कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म मात्र माग गर्न सक्नेछन् । यस्तो कर्जा  सबै ऋणीले पाउँदैनन् । यस्तो कर्जा कोभिडबाट प्रभावित भएका पुराना ऋणीले पाउँछन् ।

यस्तो सुविधा पाउनयोग्य ऋणीको भुक्तान अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने छ । एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा भने नदोहोरिने गरी मात्र आवेदन स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।

बैंकहरूले आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम पाँचओटा ग्राहक तथा ऋणी समेटिएको हुनुपर्ने छ । यस्तो सुविधाका लागि रीतपूर्वक पेश नभएका र समयमै दर्ता नभएका आवेदनलाई स्वीकार नगर्ने राष्ट्र बैंकले बताएको छ ।

मापदण्ड पूरा गरेकालाई एकमुष्ट पुनर्कर्जा दिएपछि बजारमा अधिक तरलता थुप्रिनेछ  । अहिले बजारमा २ खर्ब १ अर्ब रुपैयाँको तरलता छ । बैंकले यस्तो रकम प्राप्त गरेपछि कोभिड प्रभावित पुराना ऋणीलाई यसअघि दिएका कर्जामा जतिसुकै ब्याजदर लिएको पनि त्यसलाई घटाएर ५ प्रतिशत मात्र लिन पाउनेछन् । पुनर्कर्जाबापतको रकम प्राप्त भएपछि बैंकहरूलाई कर्जा प्रवाहका लागि थप पूँजी जुट्नेछ ।

पुनर्कर्जा कार्यविधिले उद्यमी स्वयम कारोबार तथा व्यवसायमा संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको रू. १५ लाखसम्मको कर्जालाई ‘लघु, घरेलु तथा साना उद्यम कर्जा’ मानेको छ । कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिएको छ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम र व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जालाई राखिएको छ । लघु उद्यम र विशेषमा नपरेका र बैंकले समयसमयमा तोकेको सबै पुनर्कर्जालाई साधारण पुनर्कर्जा भनेर कार्यविधिले तोकेको छ । एकमुष्ट प्रदान गर्ने पुनर्कर्जाको अवधि बढीमा १ वर्षको मात्र हुने र यस्तो कर्जा नवीकरण हुने छैन । तर, ग्राहक ऋणीअनुसार प्रदान गरिने पुनर्कर्जा भने कोरोनाबाट अतिप्रभावितलाई बढीमा १ वर्ष र मध्यम तथा न्यूनप्रभावितलाई ६ महीनाका लागि दिइनेछ । यो पुनर्कर्जाको भने नवीकरण गर्न सकिने राष्ट्र बैंकले बताएको छ । यस्तो कर्जाको अधिकतम सीमा रू. ५ करोडसम्म रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)