ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट कार्यान्वयनबारे अर्थमन्त्रीले थाले समीक्षा

नयाँ बजेट तथा कार्यक्रमभन्दा चालू बजेट कार्यान्वयनमै जोड दिन सचिवहरूको आग्रह

२०७७ कार्तिक, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको बजेट कार्यान्वयनको पहिलो त्रैमासमा भएका प्रगतिबारे अर्थमन्त्री विष्णु पौडेलले समीक्षा गर्न थालेका छन् ।
असोज अन्त्यबाट अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका पौडेलले बजेट कार्यान्वयन अवस्थाबारेमा मन्त्रालयगत रूपमा अधिकारीहरूसँग समीक्षा थालेका हुन् ।

पहिलो चरणमा शहरी विकास मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रगति, विशेषतः पूँजीगत खर्चको अवस्थाका बारेमा अर्थमन्त्रीले छलफल गरेको अर्थ मन्त्रालयका सहसचिव यमलाल भुसालले बताए ।

कोरोनालाई कारण देखाउँदै धेरै मन्त्रालयहरूले लक्ष्यअनुसार कार्यसम्पादन प्राप्त गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा बजेट समीक्षामार्फत विभागीय मन्त्रालयका प्रमुखहरूलाई अर्थमन्त्री पौडेलले कोभिडलाई कारण देखाउँदै बजेट कार्यान्वयनमा अब ढिलासुस्ती नगर्न निर्देशन दिएका छन् । त्यस्तै बजेट कार्यान्वयन कार्ययोजनाअनुसार लक्ष्य भेट्ने गरी कार्यसम्पादन गर्न पनि उनले निर्देशन दिएका छन् ।

सोमवार भएको दुई मन्त्रालयका अधिकारीहरूसँगको बजेट समीक्षामा मन्त्री पौडेलले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि बजेटमार्फत ल्याइएका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

समीक्षामा मन्त्रालयका सचिवहरूले नयाँ बजेट तथा कार्यक्रम भन्दा पनि चालू बजेट कार्यान्वयनका लागि अर्थमन्त्रीसँग सहजीकरण गरिदिन माग गरेका थिए । उनीहरूले सानातिना कार्यक्रम तथा योजनाहरू संघीय मन्त्रालयहरूबाट भन्दा पनि प्रदेश/स्थानीय तहबाट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएका थिए ।

अर्थ मन्त्रालयका अनुसार कुल १४ खर्ब ७४ अर्ब बराबरको बजेट ल्याएको सरकारले असोज मसान्तसम्म २ खर्ब १ अर्ब अर्थात् (१३ दशमलव ६३ प्रतिशत) मात्रै बजेट खर्च गरेको छ, बजेट कार्यान्वयन लक्ष्य भने २० प्रतिशतभन्दा माथि खर्च गर्ने रहेको थियो ।

चालू आवको पहिलो त्रैमासमा चालूतर्फ रू. १ खर्ब ८२ अर्बभन्दा बढी बजेट खर्च भएको छ । चालू वर्षमा कोरोनासँग जुध्दै विकासको गतिलाई तीव्रता दिने सरकारले बताए पनि पहिलो त्रैमाससम्ममा सरकारले गरेको पूँजीगत खर्च निकै कमजोर अर्थात् १५ अर्ब ४ करोड रुपैयाँ मात्रै भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री पौडेलले सबै मन्त्रालयहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने कार्यतालिका रहेको र चालू बजेट कार्यान्वयनमा देखिएका समस्याहरूका बारेमा समेत मन्त्रीले विभागीय मन्त्रालयका प्रमुखहरूसँग छलफल गर्ने कार्यतालिका रहेको अर्थमन्त्रीको सचिवालयले बतायो ।

‘समस्याहरू सुन्ने प्रयास अर्थमन्त्रीबाट भएको छ, कुनै बहानामा अब बजेट कार्यान्वयन प्रभावित हुन नदिन अर्थमन्त्रीले मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ,’ अर्थ स्रोतले बतायो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)