ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सत्तारूढ पार्टी नेकपाको विवाद उत्कर्षमा : आफूले कुनै हालतमा राजीनामा नदिने प्रधानमन्त्रीको अडान

२०७७ कार्तिक, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सत्तारूढ पार्टी नेकपामा भित्रभित्रै प्रधानमन्त्रीको केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने अडान लिनुभएको छ । प्रधानमन्त्री ओलीले आफू कुनै छलछामबाट नभई व्यापक जनसमर्थनमा पदमा पुगेको भन्दै आफ्नो राजीनामाले देश थप बर्बादीतिर जाने दाबी गर्नुभएको छ ।

काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बुधवार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले वर्तमान परिस्थितिमा राजीनामा दिनै नमिल्ने धारणा राख्नुभयो । ‘प्रधानमन्त्रीको स्थानमा आएको मेरो रहरले होइन । जनताको आवश्यकता र समर्थनले हो । व्यापक जनसमर्थनबाट प्रधानमन्त्रीको पदमा पुगेको हुँ । मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो,’ उहाँले भन्नुभयो, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन । तपाईंहरू ढुक्कले काम गर्नुस् ।’

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले आफ्नो राजीनामाको हल्ला शुरू गरिसकेको भन्दै सरकारका जुनसुकै कार्यमा पनि आलोचना गर्ने केहीको आदत रहेको आरोप समेत लगाउनुभयो । अस्थिरताको खेती गरिरहने आदत भएकाप्रति आफ्नो केही भन्नु नरहेको बताउँदै उहाँले बाहिरबाट धेरैपटक धेरै थरीका प्रयास भए पनि सरकार फेरिने, बदलिने सोच्दै नसोच्न आग्रह गर्नुभयो । वर्तमान सरकारले कोभिड र गरीबीसँगको लडाइँ जितेरै छाड्ने दाबी समेत उहाँको छ ।

यसैबीच, नेकपाका नेताहरूले पार्टीभित्रको विवाद छताछुल्ल भएको भन्दै व्यवस्थित छलफलका लागि बैठकको माग गरेका छन् । पार्टी विवादका विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको हो । गत शनिवार अध्यक्ष प्रचण्डले अर्का  अध्यक्ष ओलीसँग पार्टी विवादका विषयमा सचिवालय बैठक राखी छलफल गर्नुपर्ने धारणा राखेका थिए । तर, ओलीले तत्काल बैठक बस्न सम्भव नभएको भन्दै अब एउटै पार्टीमा बस्नसमेत नसकिने र आ–आफ्नो बाटो तय गर्न सकिने अभिव्यक्ति दिएपछि पार्टी विवाद थप उत्कर्षमा पुगेको हो ।

दुवै अध्यक्षका अभिव्यक्तिले पार्टी फुटको संघारमा पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मंगलवार भेट गरी नेकपाभित्र देखिएको पछिल्लो घटनाक्रमबारे जानकारी लिनुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले सत्तारूढ पार्टी विभाजित हुनु मुलुककै लागि घातक भएको भन्दै विभाजन रोक्न पहल गर्न आग्रह गरेको बताइएको छ । यसअघि दल फुटाउने अध्यादेशको बेला पार्टी फुटको संघारमा पुग्दा भने चिनियाँ राजदूत हाउ यान्छीको सक्रियताले पार्टी फुटबाट जोगिएको थियो । अहिले राजदूत यान्छी मौन रहेपछि राष्ट्रपति भण्डारीको सक्रियता बढेको छ । राष्ट्रपतिले पार्टीका आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने भनिए पनि राष्ट्रपति भण्डारीले भने मन्त्रीमण्डल विस्तारदेखि राजदूत नियुक्तिमा समेत आफ्नो सहभागिता र हस्तक्षेप राख्दै आउनु भएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि पार्टीभित्रको विवाद थप चकिएको थियो । पार्टीभित्रको विवाद समाधान गर्न दुई अध्यक्षबीच बुधवार भेट गर्ने तय भए पनि पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएकाले दुई अध्यक्षबीचको संवाद स्थगित भएको  नेताहरूले बताएका छन् । अर्को बैठकको टुंगो बिहीवार मात्र लाग्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)