ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भटमासको तेल निर्यात बढ्दै

२०७७ कार्तिक, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालबाट निर्यात हुने वस्तुमध्ये शीर्षस्थान ओगटेको प्रशोधित पाम तेलमा भारतले वैशाखदेखि प्रतिबन्ध लगाएपछि अहिले त्यसको स्थान भटमास तेलले लिन थालेको छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको चालू आर्थिक (आव) को पहिलो त्रैमासको तथ्यांकअनुसार चालू आवको शुरूदेखि नै प्रशोधित भटमासको तेल नेपालको पहिलो निर्यातयोग्य वस्तु बनेको हो ।

सोयाबिन तेलले कुन निर्यातको २४ दशमलव ५० प्रतिशत अंश ओगटेको तथ्यांकमा उल्लेख छ । भन्सार सुविधा पाएकाले नेपालबाट भटमास तेल भारत निर्यात हुने गरेको छ । गत आवमा नेपालबाट भारत निर्यात हुने वस्तुमा प्रशोधित पाम आयल अग्रस्थानमा थियो । आव २०७६/७७ मा नेपालबाट रू. १८ अर्ब ३१ करोडको पाम आयल भारत निर्यात भयो । गत वैशाखको अन्तिम साता भारतको वैदेशिक व्यापार निर्देशनालयले पाम आयल आयातकर्ताको लाइसेन्स खारेज गरेपछि नेपालबाट यसको निर्यात ठप्प छ ।

चालू आवको पहिलो ३ महीनामा भटमासको तेल निर्यात ४१४ प्रतिशतले बढेको छ । गत आवको पहिलो ३ महीनामा १ अर्ब ४७ करोड ९९ लाख रुपैयाँको भटमासको तेल निर्यात भएको थियो । तर, चालू आवको सोही अवधिमा बढेर रू. ७ अर्ब ६० करोड ७३ लाखको भटमास तेल निर्यात भएको केन्द्रको तथ्यांक छ ।

भारतले पाम तेलमाथि प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले सोयाबिन तेलको उत्पादन बढाएका छन् । उत्पादन बढेपछि निर्यात पनि स्वत रूपमा बढेको व्यवसायीहरू बताउँछन् ।

भारतले प्रशोधित पाम आयललाई रोक लगाएपछि भटमासको तेल उत्पादन गर्न थालेको श्रीराम रिफाइन उद्योगका सञ्चालक प्रदीप मुरारका बताउँछन् । फलस्वरूप यसको निर्यात पनि बढ्न गएको उनको भनाइ छ । ‘भारतले प्रशोधित पाम आयल रोक लगाएपछि उद्योगहरूले अहिले भटमासको तेल उत्पादन बढाएका छन् । भारतमा यसको माग उच्च रहेको छ,’ उनले भने ।

भारतले पामको तेल आयातमा गत वैशाखदेखि रोक लगायो । पाम तेल नेपालमा पर्याप्त मात्रा खपत नहुने अवस्थामा व्यवसायीहरू मर्कामा परेका थिए । त्यसपछि उद्योगलाई बन्द हुन नदिन व्यवसायीहरूले पाम सट्टा भटमासको तेलको उत्पादन बढाउन थालेका छन् ।

नेपाली व्यवसायीहरूले अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेशिया तथा युक्रेनबाट भटमास आयात गर्छन् र प्रशोधन गरी भारत निर्यात गर्छन् । सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिनाबाट आयात हुने गरेको छ । चालू आवको पहिलो ३ महीनामा ८ अर्ब १३ करोड ९५ लाख रुपैयाँको भटमास आयात भएको तथ्यांकमा उल्लेख छ ।

गत आवको सोही अवधीमा रू. ३ अर्ब ९८ करोड ९२ लाखको भटमास आयात भएको थियो । यो भनेकोे १०४ प्रतिशतको वृद्धि हो ।

पहिलो त्रैमासमा भटमास तेलपछि सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा क्रमशः चिया, उनी कार्पेट, धागोलगायत वस्तु रहेका छन् । समीक्षा अवधिमा चिया रू. २ अर्ब १८ करोड, कार्पेट रू. २ अर्ब ४ करोड र धागो २ अर्ब २ करोडको निर्यात भएको छ ।

चालू आवको पहिलो ३ महीना नेपालले कुल ३१ अब ४ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ३ प्रतिशत वृद्धि हो ।

आयात भने १२ दशमलव ७ प्रतिशतले घटेको छ । चालू आवमा रू. २ खर्ब ९२ अर्ब २६ करोडको आयात भएको छ । गत आवको समीक्षा अवधिमा रू. ३ खर्ब ३४ अर्ब ९४ करोडको वस्तु आयात भएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)