ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमा : २ हप्ताभित्र सबै दाबीको भुक्तानी गरिने

२०७७ कार्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना बीमामा भुक्तानी नपाएको गुनासो बीमितहरूले गरिरहेका बेला निर्जीवन बीमा कम्पनीहरूले पेन्डिङमा रहेको दाबीको भुक्तानी बढीमा २ हप्ताभित्र  गर्ने भएका छन् ।

सरकार र बीमा समितिले गत मंगलवार सम्पूर्ण कागजपत्र प्राप्त भएको ७ दिनभित्र दाबी भुुक्तानी गर्न निर्देशन दिएको थियो । तर, बीमा कम्पनीहरूले भने २ हप्ताभित्र यसलाई टुंग्याउने तयारी गरेका हुन् ।

सात दिनभित्र नै दाबी भुक्तानी दिन व्यावहारिक कठिनाइ भएपछि बीमा कम्पनीहरूले १० दिनदेखि १२ दिनभित्र त्यसलाई टुंग्याउने तयारी गरेका हुन् । यस विषयमा बुधवार बीमा समिति र बीमा कम्पनीहरूबीच प्रारम्भिक सहमति भएको स्रोतले बताएको छ ।

मंगलवारको निर्देशनको कार्यान्वयन गर्ने सन्दर्भमा बुधवार बीमा समितिका अधिकारी र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूबीच छलफल भएको थियो ।
साथै, दाबी प्रक्रियालाई अगाडि बढाउन लघु बीमा पुलले बिहीवार मात्र चार जना थप कर्मचारी नियुक्ति गरेको छ । बिहीवार पुलमा केही बीमा कम्पनीका सीईओहरू बीच अनौपचारिक छलफल भएको थियो । उक्त छलफलपश्चात् दाबी प्रक्रिया अगाडि बढाउन नै कर्मचारी थप गरिएको हो ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्त १० दिनदेखि १२ दिनभित्र टुंग्याउने गरी प्रक्रिया अगाडि बढाइएको बताए । ‘पेन्डिङमा रहेको आवेदन धेरै छन् । त्यसमाथि प्राप्त कागजपत्रलाई प्रमाणीकरण गर्नुपर्छ,’ उनले भने, ‘त्यसो गर्दा तोकिएको समयमा नै दाबी भुक्तानी दिन व्यावहारिक कठिनाइ छ । यद्यपि, बढीमा २ हप्ताभित्र दाबी भुक्तानी दिने गरी प्रक्रिया अगाडि बढाइएको छ ।’

कतिपय अवस्थामा पीसीआर रिपोर्ट पनि किर्ते हुने सम्भावना भएकाले कागजपत्रलाई प्रमाणीकरण गर्नुपर्ने उनको भनाइ छ ।

केही व्यक्तिले दाबी भुक्तानी नै दुईपटकसम्म लिएको पाइएको उनको भनाइ छ । ‘बीमितहरूले नै कोरोना बीमामा ठगी गर्न खोजेका छन् । तसर्थ, यसमा कडा रूपमा नियमन गर्नुपर्ने छ,’ उनले भने ।

दाबीमा ढिलाइ हुँदा पछिल्लो समय कोरोना बीमा पटकपटक विवादमा पर्दै आएको छ । अब दाबी भुक्तानी समयमा नै भए त्यो विवाद साम्य हुने विश्वास गरिएको छ ।गत हप्तासम्म बीमा कम्पनीहरूमा दाबी भुक्तानीका लागि १३ हजारभन्दा बढी आवेदन आएको छ ।

तर, बीमा कम्पनीहरूले १ हजार ४४१ जनालाई मात्रा दाबी भुक्तानी गरेका छन् । साढे १२ हजारभन्दा बढी आवेदन पेडिङमा छ । करीब ३ हजार ५०० आवेदन बीमा पुलमा आइसकेको छ । पुलले पनि त्यसमध्ये २ हजार ५०० जति आवेदन प्रमाणीकरण गरिसकेको छ । प्रमाणीकरण भएकालाई तत्कालै दाबी भक्तानी गर्न सकिने नेपाल बीमक संघका सचिव चंकी क्षत्रीले बताए ।

कोरोना बीमामा दाबी भुक्तानी गर्दा बीमक संघअन्तर्गत रहेको पुलमार्पmत प्रमाणीकरण गरेर गर्नुपर्ने व्यवस्था छ ।

नेपालमा कोरोना संक्रमण शुरू हुन थालेपछि बीमा समितिले गत वैशाखदेखि लघुबीमाअन्तर्गत कोरोना बीमा कार्यक्रम शुरुआत गरेको थियो । त्यसपछि निर्जीवन बीमा कम्पनीहरूले लघुबीमा पुलमार्फत यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाट हुने व्यवसाय र दायित्व सबै कम्पनीलाई तोकिएको मात्रामा बाँडफाँट गरिएको छ । यस्तो बीमामा सरकारले ५० प्रतिशत अनुदानसमेत दिँदै आएको छ ।

पहिले कोरोनाबीमाको बीमांक रू. ५० हजार र रू. १ लाख रहेको थियो । तर, गत भदौ २९ देखि बीमांकको सीमा हटाएर संक्रमित हुने बीमितले रू. २५ हजार पाउने व्यवस्था छ । यस्तै संक्रमित भएर अस्पताल भर्ना हुनुपर्ने भएमा बीमितले बिलको आधारमा रू. ७५ हजारसम्म भुक्तानी पाउने व्यवस्था गरिएको छ । तर, भदौ २९ गते अगाडिका बीमितले भने संक्रमण भएपछि बीमांक बराबरको रकम नै भुक्तानी पाउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)