ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को पर्यटन क्षेत्रमा आएन सुधार

खर्च धान्नै नसकेपछि बन्द हुन थाले होटल

२०७७ कार्तिक, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । सरकारले पर्यटन क्षेत्रलाई राहत हुनेगरी बजेटमा सहुलियत ऋणको व्यवस्था गरे पनि सञ्चालन खर्चको जोहो गर्न नसकेपछि प्रदेश १ का नाम चलेका होटलहरू बन्द हुन थालेका छन् । बन्दाबन्दी र निषेधाज्ञा हटे पनि पर्यटक आगमन नभएपछि व्यवसायीहरू होटल बन्द गर्न बाध्य भएका हुन्  ।   

पर्यटक नआएपछि विराटनगरको एशिया टिक होटलले कोभिडका बिरामी राख्ने १०० बेडको आइसोलेशन बनाएको छ । नेपाल ट्राभल एण्ट टुर एशोसिएशन (नाटा)का प्रदेश अध्यक्ष समेत रहेका उक्त होटलका सञ्चालक पुण्य भट्टराई होटलको सञ्चालन खर्च नै उठाउन नसकिएकाले होटललाई आइसोलेशन बनाइएको बताउँछन् । बन्दाबन्दीपछि होटलहरूको व्यवसायमा सुधार हुँदै गर्दा कोभिडको संक्रमण बढेपछि पुनः सुस्ताएको उनको भनाइ छ ।

विराटनगरका दुई ठूला होटल जेनियल र नमस्कार बन्द हुनुमा पनि सञ्चालन खर्च धान्न नसक्नु कारण रहेको उनले बताए । पुराना बन्दै हुँदै गएको र र नया“ लगानीका होटल पनि सञ्चालनमा आउन नसक्दा प्रदेश १ को पर्यटनको अवस्था नाजुक रहेको उनको ठम्याइ छ ।

इटहरीका युवा उद्यमी विनोद पौडेलले ६० करोड लगानीमा तालतलैयामा सुविधासम्पन्न वाटर पार्क चैतमा निर्माण सम्पन्न गरेका थिए । नयाँ वर्षअघि नै सञ्चालनको तयारी गरिएको वेट एण्ड डाइनो एम्युजमेन्ट एण्ड वाटर पार्क बन्दाबन्दीका कारण खुल्न सकेन । कर्मचारीको तलब र बैंकको ब्याज तिर्नै मुश्किल परेको सञ्चालक पौडेलले बताए ।

कोभिड–१९ को कारण होटल व्यवसायमा परेको असर र सरकारले होटल लगायत पर्यटन क्षेत्रको लगानीको जोखिम कम गर्न कुनै कार्यक्रम नल्याएपछि होटलहरू क्रमशः बन्द हुने अवस्थामा पुगेका हुन् ।

इस्टेन स्टार होटलका सञ्चालक तथा होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष भविस श्रेष्ठले बन्दाबन्दीको बेलाभन्दा अहिलेको अवस्था नाजुक रहेको बताए । यातायात, बजार र होटलसमेत खुलेको तर पर्यटक नआएपछि कर्मचारी, घरभाडा र अन्य सञ्चालन खर्च धान्ने अवस्थासमेत नभएको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार पर्यटक स्तरका होटल प्रदेश १ मा एक हजार ओटा र साना तथा मझौला होटल तीन हजार ओटा छन् । ती होटलमा भएको १० अर्बको लगानी अहिले संकटमा छ । ८ महीना अवधिमा आन्तरिक पर्यटक स्तरका १०० होटल बन्द भएको उनले बताए । प्रदेश १ मा सञ्चालित सबै प्रकारका ४ हजार होटलमा भएको रू. १० अर्बको लगानी जोखिममा परेको व्यवसायीले बताएका छन् । साथै, ती होटलमा काम गर्ने ६० हजार जनशक्ति अहिले बेरोजगार बनेका छन् ।

होटल स्वागतका सञ्चालक एवं होटल संघ नेपालका प्रदेश अध्यक्ष राजन श्रेष्ठ होटलहरूको संकटको दिन शुरू भएको बताउँछन् । सरकारले पर्यटन क्षेत्र बचाउने कार्यक्रम ल्याउने भने पनि नल्याएको र घोषणा गरेको कार्यक्रम पनि कार्यान्वयन नभएकाले होटल तथा पर्यटन क्षेत्रको अवस्था माथि उठ्न नसकेको उनको भनाइ छ ।

इटहरी होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले सभा सम्मेलन, विवाह आदि होटलबाट गर्न सकिनेगरी व्यवस्था गरिनुपर्नेमा जोड दिए । पूर्वकै पहिलो पा“चतारे होटल बन्ने योजनामा होटल गरिमा सञ्चालनको सम्पूर्ण तयारी पूरा गरेर पनि सञ्चालन हुन नसकेको उनले बताए । झापाको बिर्तामोडमा रहेको टाइमलेस मोमेन्टका सञ्चालक जितेन्द्र बस्नेत झापाका १५०० होटलको अवस्था नाजुक रहेको बताउँछन् ।

केही रेष्टुरा सञ्चालन भए पनि होटल भने सञ्चालन हुन नसकेको भन्दै उनले बैंकको ब्याज तिर्न समेत ऋण काढ्नुपर्ने अवस्था आएको बताए ।

महामारीकै बीच केही होटल सञ्चालनको तयारी
मोरङको विराटचोकमा ४० करोड लागतमा निर्माण भएको तीनतारे स्तरको होटल ‘नेपाली रिका’ कोरोना महामारीकै बीच मङ्सिरभित्र सञ्चालनको तयारीमा छ । बन्दाबन्दीले होटल निर्माणमा केही असर गरे पनि अहिले होटल सञ्चालनको अन्तिम तयारीमा रहेको होटलका निर्देशक आकाश दुलालले बताए ।

इटहरीमा रहेको पाँचतारे होटल गरिमा पनि कोरोना महामारीको कारण निर्माणमा बाधा उत्पन्न भएपछि अहिले द्रुत गतिमा निर्माण भइरहेको छ । त्यसैगरी बन्दाबन्दीले निर्माण कार्यमा केही गतिरोध भए पनि झापाको बिर्तामोडमा रहेको होटल ग्रान्ड प्रिन्स पाँचतारे होटल सञ्चालनको तयारीमा रहेको होटेलका जनरल म्यानेजर नीतेश पोखरेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Jiwan Raj Bhattarai

[Nov 6, 2020 04:57am]

"प्रदेश १ को पर्यटन क्षेत्रमा आएन सुधार" शिर्षक नै मिलेन पुरानो संरचनामा रहेका मध्येबाट पनि हाल १४ वटा जिल्ला यसमा समावेश छन् अनि तीनमा पनि धेरै पर्यटन क्षेत्र छन् । कुनै पनि स्थानको चर्चा छैन । के प्रदेश एक भनेको सुनसरी मोरङ कोरीडोर या बिराटनगर र इटहरी मात्रै हो ? सम्पादक ज्यूमा प्रश्न ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)