ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरकारी खेतीमा ‘सेमिहाइटेक’ प्रविधि

२०७७ कार्तिक, २३  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । १० वर्षको वैदेशिक रोजगारीलाई बिट मारेर ०७२ मा गाउँ फर्केका म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट रोहोटेपानीका चन्द्रबहादुर घिमिरेको जीवनमा तरकारी खेतीबाटै हरियाली छाएको छ ।

चार वर्षसम्म सामान्य प्रविधि र सीपको प्रयोग गरी तरकारी खेतीमा लागेका घिमिरेले ०७६ देखि आधुनिक प्रविधि र सोहीअनुरुपको सीप विकसित गर्दै तरकारीलाई आम्दानीको मुख्य स्रोत बनाएका हुन् ।तरकारी खेतीमा प्रविधि प्रयोग गरेपछि अहिले साविकको भन्दा ४ गुणा बढी आम्दानी हुन थालेको घिमिरे बताउँछन् ।

‘०७६ सुरुसँगै सेमिहाइटेक प्रविधि अपनाएर तरकारी खेती गरेपछि डेढ वर्षको अवधिमा १० लाखभन्दा बढी आम्दानी लिन सकियो’, घिमिरेले भने ।

घिमिरे मात्रै होइन, पछिल्लो समय म्याग्दीको तरकारी खेतीमा आधुनिक प्रविधि प्रयोग बढेको छ । खेती गर्न सहज, रोगकिराबाट बचाउन र उत्पादन बढाउन सकिने भएपछि व्यावसायिक कृषकहरूले सेमिहाइटेक प्रविधि अपनाएका हुन् । खुला आकाशमुनि र परम्परागत टनेलभित्र तरकारी खेती गर्दै आएका कृषकहरू पछिल्लो समय चारैतिर जालीले घेरिएको स्थायी प्लास्टिक घर (सेमिहाइटेक र हाइटेक) प्रविधिको टनेलमा तरकारी उत्पादन गर्ने प्रविधिमा आकर्षित भएका हुन् ।

बिरुवाको जराजरामा पाइपमार्फत सिँचाइ र खाद्यतत्व आपूर्ति गर्ने सुविधा हुने सेमिहाइटेक प्रविधिको टनेललाई जालीले बेरिएकाले किरा छिर्न पाउँदैन । यस्तो प्रविधिबाट समयको बचत, लागत घटाउन, रोगकिराबाट बचाउन र गुणस्तरीय तरकारी उत्पादन बढाउन सकिने कृषक घिमिरेको अनुभव छ । ‘साधारण टनेलमा खेती गर्दा प्रतिटनेल  ५० हजार बराबरको गोलभेडा उत्पादन हुन्थ्यो’, उनले भने, ‘तर हाइटेक प्रयोग गर्न थालेपछि एउटा टनेलमा ९० हजारभन्दा बढीको गोलभेडा फलाएर बिक्री गर्न सफल भएँ,’ घिमिरे खुसी सुनिन्छन् । उनका अनुसार हाइटेक प्रविधि प्रयोग गरेपछि बिरुवामा झार उम्रने समस्या भएन, गोडमेल गर्नु परेन । सिँचाइका लागि लाग्ने समय पनि बचत भयो ।

घिमिरेले पाँच लाखको लागतमा तीन वटा सेमिहाइटेक टनेल बनाएर तरकारी खेती गर्दै आएका छन्  । कृषि ज्ञान केन्द्र म्याग्दीले साना व्यावसायिक मोडल फार्म कार्यक्रममार्फत दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो ।

उनले पाँच रोपनी जमिनमा तरकारी खेती गरेका छन् ।

यस्तै,  वैदेशिक रोजगारीबाट फर्केपछि ०७२ मा रोहोटे अमृता व्यावसायिक कृषि तथा पशुपक्षी फार्म स्थापना गरेका बेनी–२ खबराका अर्का कृषक चन्द्रबहादुर कार्कीले  तरकारी खेतीबाट रोजगारी र आयआर्जनको अवसर मिलेको अनुभव सुनाउँछन् । तरकारी खेतीबाटै दैनिकी सहज बनेको छ । दुई छोराछोरी पढाउन र घरखर्च चलाउन तरकारी खेतीको आम्दानीले पुगेको छ’, कार्कीले भने । वार्षिक ५ देखि ७ लाख रुपैयाँ बचतसमेत हुने गरेको उनले बताए ।

उत्पादित तरकारी सदरमुकाम बेनी बजारमा बिक्री हुने गरेको छ । गोलभेडा, काँक्रो, घिरौला, सिमी, करेला, साग, भन्टा, काउली, बन्दा, खुर्सानीलगायतका तरकारी बेसिजनमा उत्पादन गर्नसमेत हाइटेक प्रविधिको टनेल उपयोगी रहेको कार्की बताउँछन् । सडक सुबिधा विस्तारसँगै बजारमा पहुँच भएपछि रोजगारि सिर्जनाको साथै छोटो समयमा आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय म्याग्दीका कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । म्याग्दीमा करिब दुई सय व्यावसायिक तरकारी खेती कृषक रहेको अनुमान छ ।कृषि ज्ञान केन्द्रको साना व्यावसायिक मोडल फार्म र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई नयाँ प्रविधि भित्र्याउन प्राविधिकका साथै अनुदानसमेत दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)