ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समन्वयको अभावले पर्यटकीय गतिविधि प्रभावित

२०७७ कार्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

काठमाडौं । सात महीनापछि खुलेको पर्यटकीय गतिविधि सरकारी निकायबीच समन्वयको अभावले प्रभावित भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण करीब ७ महीना पर्यटन व्यवसाय बन्द रहेपछि सरकारले कात्तिक १ गतेदेखि ट्रेकिङ तथा हिमाल आरोहण खुला गरेको थियो । तर, कोरोनाको कारण देखाउँदै कतिपय स्थानीय तहले प्रवेश निषेधको सूचना जारी गरेको कारण उडान सेवा तथा अन्य पर्यटकीय गतिविधि प्रभावित भएका हुन् ।

लामो समय ठप्प रहेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समयमा चलायमान हुन थालेको छ । पदयात्रा र हिमाल आरोहणमा विदेशी पर्यटक आउन थालेका छन् । कोरोना भाइरसको महामारीका कारण सरकारले वसन्त ऋतुमा पर्वतारोहण र पदयात्रासम्बन्धी सम्पूर्ण गतिविधिमा बन्देज लगाएको थियो । तर, बन्दाबन्दी र निषेधाज्ञा हटेसँगै पर्वतारोहण र पदयात्राको अनुमति दिने निर्णय सरकारले गरेको थियो । तर, विभिन्न स्थानीय तहले यसमा अवरोध पुर्‍याउन थालेका छन् ।

सोलखम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले कात्तिक ७ गते नेपाल नागरिक उड्डयन प्राधिकरण र तेन्जिङ हिलारी विमानस्थल लुक्लालाई बोधार्थ दिँदै सबै विमानसेवा कम्पनी र हेलिकोप्टर कम्पनीलाई कात्तिक ७ गतेदेखि अर्को सूचना जारी नगर्दासम्म यात्रु नल्याउन निर्देशन जारी ग¥यो । संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले सरकारले टे«किङ तथा हिमाल आरोहण खुला गरेपछि भएका उच्चस्तरिय पर्यटक आगमनले कोरोनाकै बीच पनि विदेशमा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश प्रवाह भएको र सरकारले विस्तारै पर्यटनका अन्य क्षेत्र पनि खोल्दै जाने बताइरहँदा भइरहेका गतिविधिले तीन तहका सरकार बीचमा समन्वयको अभाव छ भन्ने स्पष्ट देखिएको छ ।

नेपाल पर्वतारोहण संघ (एनएमए)का सचिव टीकाराम गुरुङका अनुसार खुम्बुका अतिरिक्त अन्न्पूर्ण पदयात्रा क्षेत्र, घलेगाउँलगायत क्षेत्रमा पनि स्थानीय तहले कोरोनाको कारण देखाउँदै पर्यटक आगमनमा बन्देज लगाएका छन् । उनले सरकारी निकायबीच समन्वयको अभावले विस्तारै खुल्न थालेको पर्यटकीय गतिविधिमा प्रभाव पारेको बताए ।

गुरुङले निषेध नै गर्नुभन्दा पीसीआर परीक्षण गरेर जान सक्ने वातावरण मिलाए सबैलाई फाइदा पुग्ने बताए । ‘एकातर्पm पर्यटकीय गतिविधि खुला भयो भनेर भन्ने अर्कोतर्फ अवरोध र निषेधका सूचना जारी गर्दा अन्योल भएको छ,’ उनले भने ।

सरकारले पर्यटकीय गतिविधि खुला गर्ने निर्णय गरेसँगै आफूहरूले लुक्लाका लागि विभिन्न प्याकेज ल्याएको भए पनि खुम्बु पासाङल्हामु गाउँपालिकाले जारी गरेको सूचनाले उडान प्रभावित हुँदा प्याकेजसहित अन्य उडानहरू प्रभावित भएको वायुसेवा सञ्चालक संघ (आवोन)का महासचिव मनोज कार्कीले बताए ।

‘हामीले यसपटक पर्यटकीय गतिविधि गर्न आफूहरूबाट पनि केही पहल गर्नुपर्छ भनेर गोक्यो लेकदेखि विभिन्न क्षेत्र जाने योजना बनाएका थियौं । तर, स्थानीय तहको निषेधको सूचनाको कारण गन्तव्य बदल्यौं र अन्यत्र गयौं,’ उनले भने ।

महासचिव कार्कीले संघीय सरकारले निर्णय गर्दा प्रदेश र स्थानीय तहको सरकारसँग पनि समन्वय गरेर गरेको खण्डमा यो खालको अन्योल नहुने बताए ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालन भएका लज तथा होटेल व्यवसायी र अन्य व्यवसायीबाट सेवा प्रवाह गर्न नसक्ने जानकारी गराउँदै कात्तिक ७ गतेबाट अर्को निर्णय नभएसम्मका लागि खुम्बु क्षेत्रभित्र यात्रु नल्याइदिन सूचना जारी गरेको छ । लुक्ला विमानस्थलमा तारा, समिट र सीता एअर तथा आवश्यकताअनुसार हेटिकोप्टर कम्पनीहरूले उडान गर्दै आएका थिए ।

अन्य समयमा व्यापक चाप हुने यो विमानस्थलमा यो समय खासै चाप नभए पनि केही उडानले पर्यटकीय गतिविधि चलायमान भएको व्यवसायीहरूको भनाइ छ । नेपालमा पर्यटनका अन्य क्षेत्र खुल्न नसकेको सययमा टे«किङ र छिटफुट रूपमा भएका हिमाल आरोहणले भए पनि पर्यटकीय गतिविधि चलायमान बनाएको थियो ।

पर्वतारोहण तथा पदयात्रामा विदेशी पर्यटक आगमन कात्तिक १ देखि खुला गरेको सरकारले नेपाल आउने विदेशी पर्यटकलाई पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ । तर, केही गाउँपालिकाले त्यहाँ प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेका छन् । यसरी विभिन्न ठाउँका आआफ्नै नियम हुँदा पर्यटकहरू पदयात्रा र हिमाल आरोहणमा जान समस्या भएको छ । सबै खाले पर्यटन भने मङ्सिरबाट मात्र खुला गरिने तयारी छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)