ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशबाट करीब १ लाख नेपाली श्रमिकको माग

२०७७ कार्तिक, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक मानिएको यूएई, साउदीलगायत मुलुकबाट करीब १ लाख श्रमिकको माग गरिएको छ ।

कोभिड–१९ का कारण मुलुकभित्र बेरोजगारी बढिरहँदा रोजगारीका लागि आकर्षक गन्तव्य मानिएका मुलुकबाट ठूलो संख्यामा श्रमिकको माग भए पनि मागपत्र प्रमाणीकरण नै हुन सकेको छैन ।

कोभिड–१९ को त्रासका कारण दुबई, साउदीलगायत देशबाट ठूलो संख्यामा आप्रवासी कामदार आआफ्नो घर फर्किएपछि अहिले ती देशमा अत्यधिक रूपमा कामदारको माग भएको बताइन्छ । वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार कोरोनाको त्रासका कारण केही समय कम्पनीहरू टाट पल्टिएर कामदारहरूलाई घर फर्काउन बाध्य भए पनि अवस्था सामान्य उन्मुख भएसँगै ती देशबाट विशेषतः सेवाक्षेत्रअन्तर्गत हस्पिटल, होटेल, सुपर स्टोर, निर्माणजस्ता क्षेत्रबाट कामदारको माग भएको छ ।

साउदीबाट मात्रै ५० हजारको हाराहारीमा श्रमिकको माग भएको छ । त्यस्तै यूएई, ओमान, बहराइनलगायत मुलुकले पनि साउदीकै हाराहारीमा श्रमिक पठाइदिन भनेका छन् । तर, त्यहाँस्थित नेपाली दूतावास तथा नियोगहरूले मागपत्र प्रमाणीकरण नै नगरिदिँदा समस्या उब्जिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले बताएका छन् ।
नेपाल सरकारले गत चैतमा वैदेशिक रोजगारमा जान लगाएको प्रतिबन्ध भदौबाटै खुला गरे पनि नियोगहरूले कोरोनालाई कारण देखाउँदै मागपत्र प्रामाणीकरण नगरेको उनको भनाइ छ ।

साउदीस्थित दूतावासका एक अधिकारीले कोरोना महामारीले रोजगारी गुमाएका र बेखर्ची भएका श्रमिकको व्यवस्थापन गर्न हम्मे परिरहेकाले नयाँ माग प्रमाणीकरणमा ध्यान दिन नसकेको स्वीकारेका छन् । ‘सीमित जनशक्तिबाट धेरै काम गर्नुपर्छ, ठूलो संख्यामा मागपत्र प्रमाणीकरण गर्नुपर्ने अवस्था आएको छ, जनशक्तिको अभावमा बेखर्चीलाई नेपाल पठाउनेदेखि तत्कालै माग प्रमाणीकरण गर्न कठिन छ,’ आबु दुबई यूएईस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले अभियानलाई भने ।

तर, लामो समय मागपत्र प्रामाणीकरण हुन नसके नेपालीहरूका लागि आएका ती माग अन्यत्रै देशमा जान सक्ने खतरा रहेको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ ।
नियोग तथा दूतावासहरूले मागपत्र प्रामाणीकरण नगरेको बारे म्यानपावर व्यवसायीहरूले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेर अवगतसमेत गराएका छन् । हालै भएको भेटमा परराष्ट्रमन्त्री ज्ञवालीले तत्काल मागपत्र प्रमाणीकरणका लागि दूतावास तथा नियोगहरूलाई निर्देशन दिने आश्वासन व्यवसायीहरूलाई दिएका थिए ।

अहिले दुबई, साउदीलगायत खाडी मुलुकबाट कामदारको माग भए पनि नेपालीहरूको आकर्षक मानिएको गन्तव्य मुलुक मलेशिया, कुवेत र कतारले भने महामारीका कारण श्रम बजार खोलेका छैनन् । ती देशमा समेत रोजगारदाताले श्रमिक माग्ने तयारी गरेकाले नेपालीहरूलाई पठाउनेबारे कूटनीतिक माध्यमबाट पहल हुनुपर्ने वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् । सरकारले वैदेशिक रोजगारमा पठाउन गत भदौदेखि खुला गरेपछि संस्थागततर्फ पूर्वस्वीकृति लिएका करीब ४ सयको हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारमा गएका छन् भने करीब ८ सयको हाराहारीमा जाने प्रक्रियामा छन् । नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या भने अहिलेसम्म शून्य रहेको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन् ।

विभागका महानिर्देशक कुमार दाहालले श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा जान चाहनेहरूलाई सहज वातारणबाटै सेवा दिन मातहतका कार्यालयहरूलाई निर्देशन दिइएको बताउँछन् । उनका अनुसार अहिले वैदेशिक रोजगारमा जानेहरूमा विशेषतः बिदामा आएका र कोरोनाका कारण जान नपाएकाहरू श्रमस्वीकृति लिएर गइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)