ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतमा सुन्तला उत्पादन ५ प्रतिशतले बढ्ने

२०७७ कार्तिक, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । अनुकूल मौसमका कारण पर्वतमा यो वर्ष सुन्तला उत्पादन बढ्ने अनुमान गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले बताएको छ । केन्द्रले जिल्लामा गत वर्षको तुलनामा ५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरेको हो ।

जिल्लाको मुख्य कृषि उपजको रुपमा रहेको सुन्तला यो वर्ष राम्रो उत्पादन भएको र मौसम तथा रोगकिराको प्रकोप नभएको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा गत वर्ष ३ हजार ६ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष ५ प्रतिशतभन्दा बढीले वृद्धि हुने अनुमान गरिएको केन्द्रले बताएको हो । केन्द्रका अनुसार यो वर्ष झन्डै तीन हजार ८ सय ३२ मेट्रिक टनभन्दा बढी सुन्तला उत्पादन हुनेछ ।

‘यस वर्ष अनुकूल मौसम, केही मात्रामा क्षेत्रफल पनि वृद्धि भएको र रोगकिराको प्रकोप कम भएकाले सुन्तला उत्पादन बढ्ने देखिएको हो’, कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले भने । जिल्लामा केही वर्षदेखि सुन्तला उत्पादन निरन्तर बढेको उनले बताए ।

गत वर्ष पनि अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले उत्पादन वृद्धि भएको थियो । सुन्तला खेती प्रवद्र्धन कार्यक्रमका कारण क्षेत्रसमेत बढेको छ । सुन्तला जोन, ब्लक र पकेट कार्यक्रमका कारण बर्सेनि उत्पादन बढ्न थालेको रेग्मीले बताए । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा ७ सय ७० हेक्टरमा सुन्तला खेती हुँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकालाई सुन्तला जोन, मोदी गाउँपालिकामा ब्लक, फलेवास, महाशिला, पैयुँ र महाशिलामा ब्लक र पकेट क्षेत्र विस्तार भएको छ । जिल्लाको बाँसखर्कमा बर्सेनि ४ करोडको सुन्तला निर्यात हुँदै आएको छ । बाँसखर्कबाहेक लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपालिकाको भोक्सिङ, होश्राङ्दी, पैंयु गाउँपालिकाको हुवास, त्रिवेणीमा सुन्तला खेती गरिँदै आएको छ ।

यस्तै, टकलाक, विहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना, शंकरपोखरी र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ । यो वर्ष बाँसखर्कमा करिब पाँच करोड र मोदी गाउँपालिका–२ देउपुरमा तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ ।

सुन्तला खेतीमा लागेका किसान उत्पादन बढ्दा उत्साहित छन् । मुख्य बालीको रुपमा सुन्तला रोप्दै आएका मोदी–२ देउपुरका दाताराम चापागाईं फल टिप्ने बेलासम्म मौसम राम्रो भए दोब्बर आम्दानी हुने अपेक्षामा रहेको सुनाउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)