ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चाँदी आयात पनि घट्यो

३ महीनामा करीब ५० करोडको मात्र आयात

२०७७ कार्तिक, २४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । मूल्य बढ्दा र कारोबार नहुँदा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सुनसँगै चाँदीको आयात पनि घटेको छ । समीक्षा अवधिमा चाँदीको आयात ८३ दशमलव ५० प्रतिशतले घटेको छ ।

व्यापारी तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आवको प्रथम त्रैमासमा रू. २ अर्ब ९९ करोड ३४ लाखको चाँदीको आयात भएको थियो । तर, चालू आवको यसै अवधिमा भने रू. ४९ करोड ४७ लाखको चाँदी आयात भएको छ । नेपालमा सामान्य अवस्थामा मासिक रू. १ अर्ब ३४ करोडको चाँदी आयात हुने गरेकोमा अहिले ३ महीनामा पनि सो बराबरको चाँदीको आयात भएको छैन ।

गत आवमा चाँदीको मूल्य बढे पनि कारोबारमा कुनै असर पुगेकोे थिएन । चाँदीको व्यवसाय उत्साहजनक नै थियो । तर, चालू आवमा चाँदीको कारोबार सन्तोषजनक नभएको व्यवसायीहरू बताउँछन् । फलस्वरूप चालू आवमा चाँदीको आयात घटाउनुपरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यको भनाइ छ । ‘दशैं, तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर चाँदी ल्याएका थियौं । तर, अपेक्षा गरेअनुसार चाँदी खपत भएको छैन,’ उनले भने ।

नेपालमा कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीपछि अर्थात् चैतदेखि गत साउनसम्म चाँदीको आयात नै गरिएको थिएन । साउन लागेपछि मात्र चाँदीको आयात गरिएको व्यवसायी बताउँछन् ।

चाँदीको आयात घट्नुको कारण महामारी नै भएको बताइएको छ । कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीले आर्थिक क्षेत्र प्रभावित हुँदा आम नेपालीको क्रयशक्ति नै घटेको छ । यो अवस्थामा मूल्य बढ्दा अहिले ग्राहकले गरगहना खरीदलाई प्राथमिकतामा राखेका छैनन् ।

नेपालमा चाँदीको मूल्य पनि अन्तरराष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । त्यो अवस्थामा पछिल्लो समय कोरोना भाइरसको प्रभावले चाँदीको मूल्य विश्वबजारमै बढ्यो । फलस्वरूप नेपालमा चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँभन्दा माथि पुग्यो । आइतवार चाँदीको प्रतितोला १ हजार २७५ रुपैयाँ छ, जुन सामान्य अवस्थामा प्रतितोला रू. ७०० देखि ८०० सम्ममा पाइन्छ । यसरी चाँदीको मूल्य अत्यधिक बढेपछि कारोबारमा कमी आएको व्यवसायीको भनाइ छ ।

यद्यपि, अहिले तिहारको कारण चाँदीको कारोबार बढ्न थालेको व्यवसायीले बताएका छन् । नेपालमा तिहार अर्थात् धनतेरस (कागतिहार)मा नयाँ धातु किन्ने प्रचलन छ । त्यसमा आम नेपालीले चाँदीलाई बढी प्राथमिकतामा राख्छन् । फलस्वरूप अहिले तिहार नजिकिँदै गर्दा चाँदीको कारोबार बढ्न थालेको शाक्य बताउँछन् । तर, त्यो अनुसार सुनको कारोबार नभएको उनको भनाइ छ ।

‘तिहारमा चाँदीको कारोबार ५० प्रतिशत र सुनको २५ प्रतिशतको हाराहारीमा कारोबार हुने अपेक्षा छ । त्यही अनुसार सुनचाँदी आयात गर्ने काम पनि भएको छ,’ उनले भने, ‘तर, अपेक्षा अनुसार कारोबार नहुन पनि सक्छ ।’

विशेषगरी नेपालमा यूएईको होलसेल बजारबाट चाँदीको आयात हुँदै आएको छ । यसका अलावा स्वीट्जरल्याण्ड, चीन लगायत मुलुकबाट पनि यो धातुको आयात हुने गर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)