ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लयमा फर्किंदै वैदेशिक व्यापार

२०७७ कार्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । कोराना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित वैदेशिक व्यापार लयमा फर्किन थालेको छ । मुख्य नाका वीरगञ्जबाट हुने आयातनिर्यातले पुरानै गति समात्न थालेको भन्सार कार्यालयहरूले बताएका छन् ।

गत चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दीबाट प्रभावित व्यापार बन्दाबन्दी हटेसँगै साउन १० यता करीब २ महीनाको निषेधाज्ञाले थप शिथिल बनेको थियो । सरकारले आयातनिर्यात र ढुवानीलाई अत्यावश्यक सेवामा राखेर अवरोध नहुने बताए पनि आवागमनमा रोकका कारण प्रभावित भएको थियो । बजार, माग र उत्पादन खुम्चिँदा वैदेशिक व्यापार निकै घटेको थियो ।

असोज १ देखि निषेधाज्ञा हटेपछि बजारले गति लिन थालेको हो । त्यसयता व्यापार क्रमशः बढेको वीरगञ्ज भन्सारका अधिकारीहरू बताउँछन् । चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमाससम्म व्यापारमा कमी देखिए पनि कात्तिक लागेपछि सुधार आएको वीरगञ्ज र सुक्खा बन्दरगाह भन्सारबाट भित्रिएको मालसामानको परिमाणले देखाउँछ ।

अहिले एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट दैनिक ५०० देखि ७०० गाडी मालसामान भित्रिइरहेको जानकारी आईसीपी सञ्चालक नेपाल इन्टर मोडल यातायात विकास समिति (एनआईटीडीबी) वीरगञ्जका प्रमुख कमल ज्ञवालीले दिए । गाडीको यो संख्या सामान्य अवस्थामा भित्रिने परिमाणबराबर हो । बन्दाबन्दी र निषेधाज्ञाका बेला यो भन्सारबाट दैनिक १ सयदेखि १५० गाडी मालसामान भित्रिएको थियो ।

आईसीपीबाट भित्रिने गाडीको संख्या बढेपछि पार्किङको अभाव भएको छ । आईसीपीमा अहिले २५० देखि ३०० गाडी अटाउने पार्किङ स्थल छ । अन्य गाडीलाई सडकमै राख्ने गरिएको ज्ञवालीले बताए । ‘पार्किङ अभाव भएपनि ३५० ओटा गाडी अटाउने नयाँ पार्किङ निर्माण भइरहेको छ,’ उनले आर्थिक अभियानसँग भने ।

अबको डेढ महीनाभित्रै नयाँ पार्किङ सञ्चालनमा ल्याउने योजना राखिएको ज्ञवालीले बताए । गाडीको चाप बढेपछि आईसीपीले बिलिङ काउन्टर पनि थपेको छ । यसअघि २ ओटा काउन्टरबाट काम भइरहेकोमा गाडीको संख्या बढेकाले एउटा काउन्टर थपिएको आईसीपी सञ्चालकले बताएको छ ।

सुक्खा बन्दरगाह भन्सारबाट पनि मालसामानको जाँचपास बढेको भन्सार अधिकृत जगदीश पुर्वेले बताए । ‘केही दिनयता यो भन्सारबाट छुट्ने मालवस्तुको परिमाण पुरानै लयमा पुगेको छ । बन्दरगाहमा अहिले दैनिक २ रेल ¥याक मालसामान आइरहेको छ । दिनहुँ ३ सयदेखि ३५० सम्म कन्टेनर जाँचपास हुन थालेको छ,’ पुर्वेले भने ।

निषेधका बेला सुक्खा बन्दरगाहमा रेलको आवागमन घटेर हप्तामा दुईओटामा झरेको थियो । त्यसताका दिनमा बल्लतल्ल १०० ओटा कन्टेनर जाँच हुन्थे । अहिले यो भन्सारबाट औद्योगिक कच्चा पादर्थ बोराबन्द कार्गो र फलामको आयात पनि क्रमशः बढ्दै गएको बन्दरगाह भन्सारले बताएको छ ।

असोज शुरूदेखि निषेधाज्ञा हटेपछि बजारले गति लिएको र त्यसको प्रभाव उत्पादन र आयातनिर्यातमा देखिएको उद्यमी राजेश क्यालको भनाइ छ । ‘चाडपर्वको मुखमा बजार खुलेपछि व्यवसायीले दशैं, तिहार र छठलाई लक्षित गरी मगाएका मालसामान अहिले भित्रिइरहेका छन् । भन्सार नाकामा त्यसको असर देखिएको हो,’ क्यालले भने । औद्योगिक उत्पादनको मागमा समेत सुधार आएको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)