ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्यो औषधिको माग

औषधि र औषधिका कच्चा पदार्थको आयात उच्च

२०७७ कार्तिक, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । बन्दाबन्दीपछि घटेको औषधिको माग अहिले निकै बढेको छ । सरकारले कोरोना नियन्त्रणका लागि चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गरेपछि औषधिको मागमा निकै कमी आएको थियो । भारत र चीनले औषधिको निर्यातमा प्रतिबन्ध लगाएका कारण पनि आयातमा थप बाधा पुगेको थियो ।

बन्दाबन्दी र निषेधाज्ञाका समयमा उद्योगीहरूले मार खेप्नु परेको थियो । बन्दाबन्दी खुकुलो भएपछि असारमा औषधिको माग बढेकाले औषधि व्यवसायीहरूले औषधि र औषधिसम्बन्धी कच्चा पदार्थको उच्च आयात गरेका थिए । तर, साउनमा निषेधाज्ञा जारी भएपछि माग फेरि सेलाएको थियो ।

बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले औषधिको उत्पादनमा व्यापक कटौती गरेका थिए पनि कतिले उत्पादनसमेत बन्द गरेका थिए ।

बन्दाबन्दीको समयमा अत्यावश्यक तथा दीर्घरोगसम्बन्धी औषधिबाहेकको माग लगभग शून्यमा झरेपछि उद्योगहरूले ७० प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए ।

सरकारले भदौ चौथो सातादेखि निषेधाज्ञा हटाएपछि औषधिको माग क्रमशः बढ्दै गएपछि असोजमा व्यवसायीहरूले बन्दाबन्दी यताकै उच्च औषधि र औषधिका लागि आवश्यक कच्चा पदार्थको आयात गरेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार असारमा साढे १० अर्बको औषधिको कच्चा पदार्थ र १८ अर्ब ८३ करोडको औषधि आयात भएको थियो । साउनमा औषधिको आयात घटेकोमा भदौमा फेरि बढ्दै असोजमा बन्दाबन्दी यताकै औषधिको उच्च आयात भएको तथ्यांकले देखाउँछ ।

 

व्यवसायीहरूका अनुसार पहिलो बन्दाबन्दीसम्म औषधिको माग घटेकोमा असार पछि भने बढेको थियो । नेपाल औषधि उत्पादक महासंघका अध्यक्ष नारायणबहादुर क्षत्रीले साउनमा बन्दाबन्दी खुकुलो भएपछि मेडिकलमा चाप बढ्ने त्रासका कारण बिरामीहरू अस्पताल तथा मेडिकल पुग्न सकेका थिएनन् । उक्त समयमा बन्दाबन्दी खुले पनि औषधिको माग बढ्न नसकेको उनी बताउँछन् ।

तर, भदौदेखि मानिसहरूमा त्रास कम हुँदै गएको र अस्पताल पुग्नेहरूको चाप बिस्तारै बढ्दै गएको उनको भनाइ छ । ‘कोरोनाको त्रास कम भई अस्पताल पुग्नेको संख्या बढेकाले निषेधाज्ञा भए पनि मेडिकल क्षेत्रमा भदौमा त्यति प्रभाव परेन,’ उनले भने ।

विभागले सार्वजनिक गरेको तथ्यांक औषधिको मात्र नभएर स्यानिटाइजर, मास्कलगायत स्वास्थ्यसम्बन्धी वस्तुको भएको उनको भनाइ छ । उनका अनुसार अहिले बन्दाबन्दीको समयभन्दा बढी औषधिको माग बढे पनि अघिल्ला वर्षहरूमा जस्तो सामान्य भइसकेको छैन ।

नेपाल मेडिकल एशोसिएशनका अध्यक्ष सीताराम घिमिरे पनि क्रमशः मेडिकलमा चाप बढ्दै गएको बताउँछन् । उनले भने, ‘पहिले त्रासका कारण पनि मेडिकल पुग्नेको जमात कम रहेको थियो तर अहिले सामान्य बन्दै गएको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)