ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गति समात्दै बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योग

२०७७ कार्तिक, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । बन्दाबन्दी र निषेधाज्ञामा थलिएका बारा–पर्साका औद्योगिक कोरिडोरका उद्योगले गति समात्न थालेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको ४ महीने बन्दाबन्दी र लगत्तै करीब २ महीनाको निषेधाज्ञामा उत्पादन खुम्चिएका उद्योगले असोजयता उत्पादन बढाउँदै लगेका हुन् ।

असोजको शुरुआतमा निषेधाज्ञा हटेपछि बजारले गति लिएको र उत्पादनको माग बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया बताउँछन् । ‘करीब २ महीनायता कोरिडोरका उद्योगको उत्पादनमा सुधार आएको छ । बजार खुलेलगत्तै चाडपर्व पनि परेकाले माग र उत्पादन दुवै बढेको छ,’ केडियाले आर्थिक अभियानसँग भने ।

एक समय कोरोना महामारीको केन्द्रबिन्दु बनेको बारा र पर्सा अहिले तुलनात्मक रूपमा सुरक्षित क्षेत्र बनेको छ । कोरिडोरका उद्योग प्रतिष्ठानसँगै समुदायमा कोरोना फैलिएपछि त्यसबेला स्थानीय प्रशासनले उद्योग सञ्चालनको मापदण्डमा कडाइ गरेको थियो । निषेधाज्ञा लगाएर उद्योगमा कडाइ गरेपछि उत्पादन प्रभावित भएको थियो । कोरिडोरका अधिकांश उद्योगको उत्पादन बन्द भएको थियो ।

अत्यावश्यकीय भनिएका खाद्यान्न र औषधिजस्ता उद्योगसमेत क्षमताको १५ देखि २० प्रतिशतमा खुम्चिएका थिए ।

चैत १० मा लगाएको बन्दाबन्दी सरकारले साउनको पहिलो साता हटाएको थियो । बन्दाबन्दी हटेसँगै बारा र पर्सामा लक्षणसहितका संक्रमित बढेर ज्यानै जान थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको थियो । अहिले कोरिडोरका औसत उद्योगले ७० देखि ८० प्रतिशतसम्म उत्पादन गरिरहेको उद्योगी सुरेश रूङ्गटाले बताए । ‘यतिखेर चाडपर्वका बेला भएकाले खाद्यान्नको बजार र उत्पादनमा सुधार आएको छ । बन्दाबन्दी र निषेधाज्ञामा थला परेका उद्योगहरूले केही हदसम्म राहत महसूस गरिरहेका छन्,’ उद्यमी रूङ्गटाले भने ।

बजार खुले पनि भुक्तानीमा भने समस्या रहेको उद्योगी विश्वामित्रप्रसाद कलवारको भनाइ छ । बजार सामान्य बन्दै गए पनि बन्दाबन्दीका बेला रोकिएको भुक्तानी नउठ्दा सञ्चालन पूँजीको समस्या भइरहेको कलवार बताउँछन् ।

पर्खाइमा निर्माण सामग्री उद्योग  
बजार खुलेको करीब २ महीना बितिसक्न लाग्दा निर्माण सामग्रीका उद्योगले भने अपेक्षाअनुसार बजार समात्न सकेका छैनन् । बजार खुलेसँगै चाडपर्व शुरू भएकाले निर्माणका काम अघि बढ्न नसकेको उद्योगीहरूको भनाइ छ । डन्डी, सिमेन्ट, जस्तापाता, इँटालगायत निर्माण सामग्रीको माग तिहार र छठ पर्वपछि बढ्ने अपेक्षा उद्यमी राजेश क्यालको छ ।
बन्दाबन्दीयता ठूला विकास योजना र निर्माणका काम प्रभावित भएकोमा अहिले चाडपर्वको समय परेकाले मागमा सुधार आउन नसकेको उद्योग सञ्चालकहरूको भनाइ छ । छठ पर्वलगत्तै निर्माणका कामले गति समात्ने र माग बढ्ने नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुर बताउँछन् । बजार बढ्ने अपेक्षामा यस्ता उद्योगले उत्पादन बढाएका छन् । बन्दाबन्दी र निषेधाज्ञाको समयमा क्षमताको २० प्रतिशतको हाराहारीमा सीमित निर्माण सामग्री उद्योगको उत्पादन अहिले ५० देखि ६० प्रतिशतसम्म पुगेको उद्यमीहरू बताउँछन् ।

महामारीका कारण उत्पादन घटाएका निर्माण सामग्री उद्योग उत्पादनको भाउ खसेपछि दोहोरो मारमा परेका छन् । मागको कमी र चर्को प्रतिस्पर्धाका कारण अहिले डन्डी र सिमेन्टको भाउ घटेको छ । सिमेन्टको भाउ २० देखि २५ प्रतिशतसम्म खस्किएको उद्यमीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)