ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा इँटाको मूल्य बढ्यो

२०७७ कार्तिक, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ का इँटा व्यवसायीले ३ सातादेखि इँटाको मूल्य वृद्धि गरेका छन् । व्यवसायीले एउटा इँटामा ३ रुपैयाँ मूल्य वृद्धि गरेका हुन् ।

इँटा उद्योगीले ६ वर्षमा पहिलोपटक मूल्य वृद्धि गरिएको र त्यो पनि भारतीय कोइला बन्द भएर अमेरिकाबाट महँगो कोइला आयात गर्नुपरेकाले बाध्य भएर मूल्य बढाउनु परेको बताएका छन् । तर, निर्माण व्यवसायीहरूले भने इँटाको मूल्य बीचमा आएर बढाउँदा विकास निर्माण र राष्ट्रिय प्राथमिकतामा परेका योजनाहरूको काम नै ढिलासुस्ती हुने बताएका छन् ।

जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा निर्माण क्षेत्रको मूल्य निर्धारण गर्ने समिति हुन्छ । यसले असारमा नै जिल्लाको वस्तुहरूको दरभाउ तोक्ने गर्छ । त्यसपछि वर्षभरि नै निर्माणको क्षेत्रमा त्यही दररेटमा काम हुन्छ । बीचमा कुनै वस्तुको बजार भाउ वृद्धि भएमा ६ महीनापछि मात्र पुनर्मूल्यांकनको बैठक बस्छ र त्यसको मूल्य वृद्धि गरिन्छ ।

तर, इँटा व्यवसायीले बीचमा इँटाको भाउ बढाइदिएर निर्माणको क्षेत्रमा गतिरोध उत्पन्न गराएको निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सुरेश सुवेदीको आरोप छ । साउनमा या त फागुनमा मूल्य वृद्धि गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै इँटा व्यवसायीले भाउ बढाउँदा साना निर्माण व्यवसायीलाई ठूलो घाटा बेहोर्नुपर्ने अवस्था आएको उनले बताए । ‘ठूला ठेक्काहरूमा वस्तुको मूल्य बढ्दा स्वतः लागत थप हुने व्यवस्था छ तर सानोतिनो ठेक्कामा त्यो प्रावधान हँुदैन । यसका कारण साना ठेकेदारहरूले ठूलो घाटा सहनुपर्ने अवस्था आउँछ,’ उनले भने ।

अध्यक्ष सुवेदीका अनुसार इँटाको मूल्य वृद्धि हुँदा एक घनमीटर काम गर्दा २ हजारदेखि २५ सयसम्म लागत बढ्न जान्छ । जुन साना व्यवसायीले धान्नै सक्दैनन् । अध्यक्ष सुवेदी भन्छन्, ‘भारतबाट मजदूर आएनन्, इँटा उद्योग चलेनन् भनेर उहाँहरूले मूल्य बढाउनु भयो तर निर्माणको क्षेत्रमा काम गर्ने भारतीय मजदूर पनि त आएनन् अब हामीले सुनवाइ कोबाट पाउने ?’

भारतीय मजदूर नआउँदा यो वर्ष पूर्वका ८५ इँटा उद्योगले नया इँटा निर्माण गर्न पाएनन् । वार्षिक रूपमा ३ अर्ब ४० करोड रुपैयाँ बराबरको इँटा उत्पादन गर्दै आएका प्रदेश १ मा यो वर्ष इँटा उत्पादन भएको छैन । प्रदेश १ का इँटा व्यवसायी भारतीय मजदूरमा आश्रित रहँदै आएका छन् । साउन महीनामै भारतको पश्चिमबंगालको कुचविहारमा रहेका मजदूरलाई रकम पठाइदिएपछि उनीहरू असोजमा आएर इँटा निर्माण शुरू गर्ने गरेका थिए । तर, यसपटक मङ्सिर लाग्न आट्दा पनि मजदूरको टुंगो छैन । प्रदेश १ मा कुचविहारबाटे २२ हजार मजदूर प्रत्येक वर्ष आउने गरेका थिए ।

यस वर्ष भारतीय कामदार आउन नसक्ने भएपछि इँटा उद्योगहरू सञ्चालन गर्न नसक्ने व्यवसायीले बताएका थिए ।

इँटा व्यवसायी संघले उद्योग मन्त्रीलाई इँटा उद्योग सञ्चालनका लागि पहल गरिदिन ज्ञापन बुझाएपछि त्यसको २ महीनापछि कात्तिक ४ गते मन्त्रिपरिषद् बैठकले भारत र चीनबाट मजदूर ल्याउन पाउने निर्णय गरेको छ । तर, निर्णय ढिला भएकाले इँटा व्यवसायीहरू मजदूर ल्याउन नसकिने बताउँछन् ।

उद्योग संगठन मोरङका अध्यक्ष तथा एबीआई इँटा उद्योगका सञ्चालक भीम घिमिरे स्वास्थ्य प्रोटोकल र स्थानीयको दबाबका कारण उद्योगमा भारतीय मजदूर राखेर सञ्चालन गर्न सकिने वातावरण नरहेको बताउँछन् । उनले इँटाको मूल्य वृद्धि स्वाभाविक रहेको बताए ।

निर्माण व्यवसायी संघ प्रदेश १ का उपमहासचिव दीपक पौडेलले इँटाको मूल्य वृद्धिले गर्दा विकासको काम तत्काल रोक्नु परेको बताए । निर्माणको क्षेत्रको लागत बढ्ने र त्यो लागतको भर्पाई साना ठेक्कामा नहुने हुदा त्यसको सुनुवाइ नभएसम्म निर्माण प्रक्रिया अघि बढ्न नसक्ने उनले बताए ।

इँटाको मूल्य वृद्धिले सिमेन्ट उद्योग, डन्डी उद्योग, ढुंगा, गिटी, बालुवा क्रशर उद्योग, मजदूर र ढुवानीको क्षेत्रमा समेत चक्रीय प्रभाव परेको पौडेलले बताए । ढलानबाहेकका सबै काममा इँटाको नै प्रयोग हुन्छ ।

प्रदेश १ मा वार्षिक ३५ करोड इँटा उत्पादन हुँदै आएको छ । यसबाट उद्योगीले ३५ करोड रुपैयाँ सरकारलाई राजस्व बुझाउँदै आएका छन् । इँटा उत्पादक संघ मोरङका अध्यक्ष महेन्द्र साहले ६ वर्षपछि मात्र इँटाको मूल्य बढाएको बताए । ६ वर्षसम्म इँटा एउटै मूल्यमा विक्री भएको बताउँदै उनले कारोनाका कारण बोर्डर बन्द हुँदा भारतीय मजदूर नआउनु र भारतीय कोइला नआउँदा अमेरिकाबाट आएको कोइलामा प्रतिगाडी ७ हजारले मूल्य बढेका कारण इँटाको मूल्य बढेको बताए । प्रतिवर्ष ५० पैसाको दरले मूल्य बढ्दा पनि अहिले ६ वर्षमा इँटाको मूल्य ३ रुपैयाँ बढ्नु स्वाभाविक भएको उनको भनाइ छ ।

कोशी इँटा उद्योग तथा व्यवसायी संघका महासचिव राजन तिम्सिनाले प्रदेश १ का इँटा उद्योगहरूमा भारतीय मजदूर नआएको र लागत बढेका कारण स्टकमा रहेका उत्पादनको समेत मूल्य बढेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)