ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामै नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो बन्ने

२०७७ कार्तिक, २८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar नरहरि पौड्याल

कास्की । नेपाल आयल निगमले गण्डकी प्रदेशमा इन्धन क्षमता विस्तार परियोेजना सुरु गरेको छ । निगमले ७७ करोड ७७ लाख रुपैयाँको लागतमा पहिलो चरण गण्डकी प्रदेशका लागि पोखराको गगनगौंडामा दुई वटा ट्यांकी ५०/५० लाख लिटर (५–५ हजार किलोलिटर) क्षमताका भण्डारण गृह निर्माण सुरु गरेको हो ।

आयोजनाको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरे ।

कार्यक्रममा बोल्दै भट्टले सरकारले केही गरेन भन्नेलाई काम गरेरै जवाफ दिइने बताए । सरकारले ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने नेपाल सरकारको नीतिअनुसार गण्डकी प्रदेशबाट इन्धन भण्डारणगृहको निर्माण प्रारम्भ गरिएको बताए ।

‘गण्डकी प्रदेशपछि सरकारले अन्य प्रदेशहरूमा समेत क्रमशः इन्धन भण्डारणगृह निर्माण प्रक्रिया अगाडि बढाउनेछ,’ उनले भने, ‘मुलुकमा करिब तीन महिना आयातबिना बजार मागलाई धान्न सक्ने गरी इन्धन भण्डारणगृह निर्माण गरिनेछ ।’

गण्डकी प्रदेशमा १ करोड लिटर क्षमताको डिपो निर्माण हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

‘निर्माणाधीन डिपोमा ५०/५० लाख लिटर भण्डारण क्षमताका २ वटा ट्यांकी निर्माण गरिनेछन्,’ उनले भने, ‘गण्डकी प्रदेशमा थप २ वटा ट्यांकी निर्माणपछि डेढ महिनाका लागि माग धान्नेछ ।’

पोखरा गगनगौडाको आयल निगमको डिपो रहेको स्थानमा थप भण्डारण क्षमताको डिपो निर्माण थालिएको हो ।

हाल गण्डकी प्रादेशिक डिपोमा २२ लाख लिटर ८० हजार डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल भण्डारण क्षमता रहेको छ । यसले गण्डकी प्रदेशमा तीन दिनका लागि मात्रै माग धान्ने गरेको छ ।

डिजेल भण्डारणका लागि दुई वटा ट्यांकी बनेपछि अहिले डिजेल भण्डारण भइरहेका ट्यांकीमा समेत पेट्रोल राखिने निगमले जनाएको छ ।

गण्डकी प्रदेशमा हालको भण्डारले पेट्रोल २ दिन र डिजल ७ दिन धान्न सक्छ । नयाँ भण्डारगृह बनेपछि ३० दिनका लागि डिजेल र १२ दिनका लागि डिजेलको भण्डारण क्षमता वृद्धि हुने निगमको भनाइ छ ।

डिपोमा थप ५० लाख लिटर क्षमताका दुई  ठूला डिजेल भण्डार ट्यांकी बन्ने आयल निगम सञ्चालक समितिका अध्यक्ष तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ
ढकालले बताए ।

आयोजना सम्पन्न भएपछि यो अमलेखगञ्जपछिको दोस्रो ठूलो भण्डारणगृह बन्ने निगमको दाबी छ ।

जर्मन प्रविधिमा आधारित भई निर्माण हुने यो डिपो पूर्ण अटोमेटेड हुनेछ । डिपोमा अत्याधुनिक सुरक्षा उपकरण तथा आगलागी नियन्त्रणका लागि विशेष यन्त्र जडान गरिने निगमले जनाएको छ ।

नयाँ डिपो बनेपछि कुल १ करोड २६ लाख ३० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता प्रादेशिक डिपोमा हुनेछ ।

आयोजना निर्माणका लागि नेपाली कम्पनी रिलिगियर तथा भारतीय कम्पनी भारत ट्यांकले उक्त डिपो निर्माणको टेन्डर पाएका छन् । ठेकेदारले २ वर्षभित्र निर्माण सम्पन्न गर्नेछ ।
हाल निगमको प्रादेशिक कार्यालयले यस क्षेत्रका तनहुँ, कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)