ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक व्यापारलाई पारदर्शी बनाउन एकद्वार प्रणाली

२०७७ मंसिर, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

काठमाडौं । वैदेशिक व्यापारलाई पूर्ण स्वचालित प्रणालीमा लगिने भएको छ । आयातनिर्यात कोरोबारलाई पारदर्शी र प्रभावकारी बनाउन भन्सार विभागले पूर्ण स्वचालित एकद्वार प्रणाली लागू गर्न लागेको हो ।

‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’मार्फत वैदेशिक व्यापारसँग सरोकार राख्ने ४० निकाय र पक्षलाई आपसमा जोड्ने तयारी भन्सार विभागको छ । यो प्रणालीबाट आयातनिर्यातसँग सरोकार राख्ने सेवाप्रदायक र सेवाग्राही अनलाइनको माध्यमबाट एकआपासमा आबद्ध हुने छन् । प्रणालीमा सहभागी प्रत्येक निकायको कार्य सञ्चालन विधि र कानून मिलाउने काम भइरहेको विभागले बताएको छ ।

गतवर्ष २०७६ असारबाट पूर्वाधार विकासको काम शुरू भएको यो प्रणाली कार्यान्वयनको अन्तिम चरणमा पुगेको आयोजना कार्यान्वयन एकाइका संयोजक श्यामप्रसाद भण्डारीले जानकारी दिए । मङ्सिरको दोस्रो साता परीक्षणका रूपमा कार्यान्वयनको तयारी भइरहेको भन्सार विभागका उपमहानिर्देशकसमेत रहेका संयोजक भण्डारीले बताए ।

शुरुआती चरणमा खाद्य तथा गुण नियन्त्रण विभाग, खाद्य, पशु तथा प्लान्ट क्वारेन्टाइन र नेपाल हस्ताकला महासंघलाई समावेश गरेर परीक्षणका रूपमा आयोजा कार्यान्वयन गरिने भण्डारीले बताए । ‘कार्यान्वयनमा गइसकेपछि सरोकारका अन्य निकाय र पक्षलाई समेट्दै लैजाने योजना छ,’ उनले आर्थिक अभियानसित भने, ‘यो प्रणालीबाट भन्सार जाँचपास प्रक्रिया सरलीकरणमात्र हुँदैन, वैदेशिक व्यापार थप विश्वसनीय, भरपर्दो र पारदर्शी हुनेछ ।’

अनलाइनबाटै अधिकांश प्रक्रिया पूरा हुने र सेवाप्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क नभएपछि वैदेशिक व्यापार पारदर्शी हुने अपेक्षा भन्सार विभागको छ । यसबाट वैदेशिक व्यापारमा समय र खर्चको पनि बचत हुने दाबी भन्सारका अधिकारीहरूको छ ।

एकद्वार प्रणालीमा प्रविधि विकासको काम करीब पूरा भइसकेको भन्सार विभागले बताएको छ । २ वर्षभित्र प्रणाली विकास र दक्षता अभिवृद्धिको काम पूरा गरी आउँदो आर्थिक वर्ष २०७८÷७९ बाट पूर्ण रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य राखिएको छ । २ महीनाअघि नै परीक्षणको योजना राखिएकोमा कोरोना महामारीका कारण सरोकारका पक्षसित समन्वयमा समस्याले ढिलाइ भएको आयोजनाका अधिकारीहरू बताउँछन् ।

यो प्रणाली व्यापार सहजीकरण, राजस्व संकलनमा दक्षता अभिवृद्धि र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित भएको विभागले बताएको छ । भन्सार प्रशासन सन् २०२१ सम्ममा भौतिक परीक्षण गर्नुपर्ने वस्तु (रेड लेन)को परिमाणलाई २० प्रतिशतमा झार्ने दबाबमा छ ।

विश्व व्यापार संगठनको यो मापदण्ड पूरा गर्न एकद्वार भन्सार प्रणाली लागू गर्न लागिएको हो ।

अहिले भन्सारले प्रयोग गरिरहेको आशिकुडा प्रणालीलाई पनि यही योजनामा समेट्ने भन्सारको तयारी छ । आशिकुडाबाट १३ मुख्य भन्सारमा मालसामानको लेन तोकिन्छ । तर, अहिलेसम्म ५० प्रतिशतभन्दा बढी वस्तु रेड लेनबाटै भित्रिन्छन् ।

रेड लेनमा आउने वस्तुको भन्सार अधिकारीहरूले भौतिक रूपमा परीक्षण गर्नुपर्छ । राजस्व चुहावटको जोखिम बढी भएका वस्तुलाई रेड च्यानलमा राखिन्छ । स्वचालित प्रणाली लागू भएपछि यो जोखिम न्यूनीकरण हुने भण्डारीले बताए ।

स्वचालित प्रणालीले व्यापारसँग आबद्ध निकायको संस्थागत क्षमता सुदृढ गर्ने र व्यवसायको कारोबार लागत घटाउने उद्देश्य पनि राखेको छ । नेपाली बजारमा आपूर्ति हुने वस्तुको मूल्य घटाएर निकासी व्यापारको प्रतिस्पर्धात्मक क्षमता वृद्धिमा गर्न सहयोग पुग्ने दाबी भन्सार विभागको छ । ‘जोखिम व्यवस्थापनलाई सहज बनाउन र विद्युतीय भुक्तानी प्रणाली सहजीकरणमा पनि एकद्वार प्रणाली प्रभावकारी हुन्छ,’ उपमहानिर्देक भण्डारीले भने ।

के हो एकद्वार प्रणाली ?
एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबै पक्षले प्रयोग गर्न सकिने गरी तयार पारिएको स्वचालित विद्युतीय प्लेटफर्म हो । अन्तरराष्ट्रिय व्यापारलाई कागजी प्रक्रियामुक्त बनाउन यो प्रणालीमा सरोकारका निकाय र पक्ष समावेश गरिन्छन् ।

भन्सार विभागले सरकारी र निजीक्षेत्रका ४० निकाय र पक्षलाई यो प्रणालीमा आबद्ध गरेको छ । यो प्रणालीबाट अन्तरराष्ट्रिय व्यापार र पारवहनसँग सम्बद्ध सबै पक्षले सम्पूर्ण कागजात तथा सूचनाहरू एउटै प्रवेश बिन्दुबाट प्रस्तुत गर्न सक्छन् ।

अनलाइनबाटै आवेदन र कागजात अपलोड गरिने व्यवस्था मिलाइएको छ । प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि आयातनिर्यातका लागि कागजात लिन सरोकारका निकाय धाउनुपर्ने बाध्यता अन्त्य हुने भन्सार अधिकारीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)