ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व लक्ष्यनजिक

२०७७ मंसिर, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । कोरोना महामारीका बीचमा पनि सरकारले वार्षिक लक्ष्यनजिक नै राजस्व उठाउन सफल भएको छ ।

गत चैतदेखि सरकारको आम्दानीमा निरन्तर कमी आए पनि पछिल्लो समय भने राजस्व संकलनमा व्यापक सुधार आउँदा सरकारी लक्ष्य करीब करीब भेट्ने गरी राजस्व उठेको हो ।

अर्थ मन्त्रालयका अनुसार महामारीकै बीचमा सरकारले आर्थिक वर्षको पहिलो ४ महीनासम्ममा २५ प्रतिशत लक्ष्य राखेकोमा करीब २४ प्रतिशत राजस्व संकलन गरेको छ ।

चार महीनामा २ खर्ब ४० अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ । यसमध्ये कर राजस्व २ खर्ब २६ अर्ब ३ करोड र गैरकर राजस्व १४ अर्ब ११ करोड उठेको छ ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आयकर, ब्याजकरतर्पm यो अवधिमा लक्ष्यअनुसार नै सरकारले राजस्व संकलन गर्न सफल भएको छ भने अन्य सूचकांकहरू समेत लक्ष्यनजिक नै छन् ।

चार महीनाको राजस्वका सूचकांकहरूको विस्तृत तथ्यांक संकलनको काम चलिरहेको ती अधिकारीले बताए । त्यसो त, अर्थले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको तथ्यांकले पनि राजस्वका धेरैजसो सूचकांकमा सुधार आउन थालेको देखाउँछ ।

चालू आर्थिक वर्षको असोजसम्म सरकारले १ खर्ब ९७ अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा १ खर्ब ९४ अर्ब संकलन गर्न सफल भएको देखिन्छ । यो संकलन लक्ष्यको ९८ दशमलव ७८ प्रतिशत हो ।

सरकारले असोजसम्म ४१ अर्ब २९ करोड भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३७ अर्ब ५७ करोड उठाउन सफल भएको देखिन्छ । त्यस्तै मूल्य अभिवृद्धि कर रू. ६७ अर्ब ३३ करोड संकलन गर्ने लक्ष्य राखेकोमा ५८ अर्ब ६ करोड संकलन भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाउछ । त्यस्तै, पैठारी, अन्तःशुल्कतर्पm पनि राजस्व संकलन लक्ष्यउन्मुख नै देखिएको छ ।

पहिलो त्रैमासमा स्थायी लेखा नम्बर लिने घटे
अर्थ मन्त्रालयका अनुसार पछिल्लो समय कोरोनाका कारण परिस्थिति असहज हुँदा करको दायरा विस्तारमा समस्या निम्तिएको छ । त्यसको प्रभाव स्वरूप गतवर्षको तुलनामा चालू वर्षको पहिलो त्रैमासमा स्थायी लेखा नम्बर लिने करदाताको संख्या करीब ७३ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै मूल्य अभिवृद्धि करमा ५१ दशमलव ४ प्रतिशत र अन्तःशुल्कमा दर्ता हुनेको संख्या ५६ प्रतिशतले घटेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पहिलो त्रैमाससम्ममा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ३५ लाख ३३ हजार पुगेको छ । सोमध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १४ लाख १९ हजार छ । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ७ हजार छ । यस्तै, अन्तःशुल्कमा दर्ता हुनेको संख्या १ लाख ९१ हजार रहेको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवर लक्ष्यअनुसार नै राजस्व संकलन गर्न कार्ययोजना बनाएर अघि बढेको बताउँछन् । उनका अनुसार महामारीका बीचमा राजस्व संकलनलाई प्रभावकारी बनाउन विशेष कार्ययोजना बनाएर कार्यसम्पादन विभागले काम गरिरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)