ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीवन बीमा कम्पनीको मुनाफामा वृद्धि

बीमाशुल्कमा २९.४९% को वृद्धि

२०७७ मंसिर, ४  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कोरोना महामारीकै कारण यस अवधिमा वाणिज्य बैंकलगायत अन्य क्षेत्रका कम्पनीहरूको नाफा घटेको छ । तर, जीवन बीमा कम्पनीहरूको नाफाको वृद्धिदर भने दोहोरो अंकको देखिएको छ । समीक्षा अवधिमा अन्य क्षेत्रको तुलनामा जीवन बीमा व्यवसायमा कोरोनाको असर न्यून देखिएको बीमा कम्पनीहरू बताउँछन् ।

गत आवको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूले रू. १ अर्ब १ करोड ६० लाख खुद नाफा कमाएका थिए । तर, चालू आवमा त्योभन्दा २४ करोड ६७ लाख बढी अर्थात् रू. १ अर्ब २६ करोड २७ लाख खुद नाफा कमाएका छन् । कम्पनीहरूको बीमांकीय मूल्यांकन भएपछि नाफा थप बढ्ने छ । बीमांकीले बीमांकीय मूल्यांकन गर्दा जीवन बीमा कोषबाट केही रकम नाफानोक्सान खातामा पठाउन सक्ने व्यवस्था छ । त्यसैले बीमांकीय मूल्यांकनपछि नाफा थप बढ्ने कम्पनीहरूको भनाइ छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष तथा मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मलकाजी श्रेष्ठले कोरोनाबाट जीवन बीमा व्यवसाय त्यति ठूलो मात्रामा प्रभावित नभएको बताए । ‘यो विषम परिस्थितिमा पनि ग्राहकहरूले बीमा पोलिसीलाई निरन्तरता दिनुभएको छ । नयाँ व्यवसाय पनि थपिएको छ,’ उनले भने, ‘फलस्वरूप बीमा व्यवसाय बढ्न पुगेको हो ।’

कोरोनाको महामारी नभएको जीवन बीमा व्यवसाय अभैm ठूलो मात्रामा बढ्ने उनी बताउँछन् । ‘अहिले सामान्य अवस्था भएको भए व्यवसायको वृद्धिदर उच्च हुने थियो । तर, त्यो भएन,’ उनले भने, ‘यद्यपि, यो अप्ठ्यारो परिस्थितिमा भएको व्यवसायलाई सकारात्मक रूपमा लिनुपर्छ ।’

पहिलो त्रैमासमा नाफा कमाउने मामलामा नेपाल लाइफ, प्राइम लाइफ, नेशनल लाइफ र सूर्या लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएका छन् । तथ्यांकअनुसार यी चार कम्पनीको नाफा १० करोड रुपैयाँभन्दा बढी छ । यस अवधिमा नेपाल लाइफले रू. २२ करोड ९० लाख खुद नाफा कमाएको छ ।

यस्तै, प्राइम लाइफले १२ करोड ७ लाख, नेशनल लाइफले रू. ११ करोड ८३ लाख र सूर्या लाइफले १० करोड १६ लाख खुद नाफा कमाएको छ । पाँचौं नम्बरमा रहेको एशियन लाइफले भने ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बीमा कम्पनीको नाफा औसतमा करीब २५ प्रतिशतले बढ्दा पनि ३ कम्पनीको नाफा भने घटेको छ । सन नेपाल, युनियन लाइफ र राष्ट्रिय बीमा संस्थानको नाफा घटेको हो । तथ्यांकअनुसार सन नेपालको २७ दशमलव २३ प्रतिशत, युनियन लाइफको ५६ दशमलव ५३ प्रतिशत र राष्ट्रिय बीमा संस्थानको ४१ दशमलव २३ प्रतिशतले नाफा घटेको छ ।

गत आवको समीक्षा अवधिमा रू. ३ करोड ५० लाख नाफा कमाएको सन नेपालले अहिले २ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, गत आवमा रू. ५ करोड ५५ लाख नाफा कमाएको युनियन लाइफले अहिले रू. २ करोड ४१ लाख र गत आव रू. १ करोड ७४ लाख नाफा कमाएको राष्ट्रिय बीमा संस्थानले अहिले १ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन पनि २९ दशमलव ४९ प्रतिशतले बढेको छ । कम्पनीहरूको वित्तीय विवरणहरूअनुसार समीक्षा अवधिमा रू. ३२ अर्ब २५ करोड कुल बीमाशुल्क संकलन भएको छ । यो गत आवको सोही अवधिको भन्दा ७ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आवको पहिलो त्रैमास २४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन भएको थियो ।

बीमाशुल्क संकलन गर्ने मामला पनि नेपाल लाइफ इन्स्योरेन्स अगाडि देखिएको छ ।

उक्त कम्पनीले समीक्षा अवधिमा ९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, एलआईसी नेपालले रू. ५ अर्ब ५ करोड र राष्ट्रिय बीमा संस्थानले रू. ४ अर्ब २१ करोड बीमाशुल्क संकलन गरेका छन् । नेशनल लाइफले रू. २ अर्ब ८४ करोड २५ लाख कुल बीमाशुल्क संकलन गरेको छ । पछिल्लो ३ वर्षमा सञ्चालनमा आएका १० नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफ अगाडि देखिएको छ । बीमाशुल्क संकलन गर्ने मामलामा उक्त कम्पनीले नयाँसहित केही पुराना कम्पनीलाई पनि पछि पार्दै आफूलाई पाँचौं स्थानमा ल्याएको छ । समीक्षा अवधिमा कम्पनीले रू. १ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)