ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेप उपकरणमा परेन उत्साहजनक आवेदन

२०७७ मंसिर, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भइरहँदा पनि नेपाल राष्ट्र बैंकले तरलता सन्तुलन गर्न जारी गरेको निक्षेप संकलनमा बैंकहरूबाट उत्साहजनक आवेदन परेन ।

नेपाल राष्ट्र बैंकले बिहीवार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका लागि रू. ३० अर्ब रुपैयाँ बराबरको २८ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । यसअघि तरलता प्रशोचन गर्ने उपकरणमा दोब्बर तथा तेब्बरसम्म आवेदन पर्ने गर्दथ्र्यो ।  तर, बिहीवार बोलकबोलबाट ब्याज निर्धारणमार्फत जारी गरेको उपकरणमा बैंक तथा वित्तीय संस्थाहरूबाट रु. २३ अर्ब ५० करोडको आवेदन परेको नेपाल राष्ट्र बैंकले बताएको छ ।
 
केन्द्रीय बैंकले ब्याजदर बोलकबोलबाट तय गरेकाले शून्य दशमलव ९९ प्रतिशतसम्ममा निक्षेप राख्न चाहनेलाई मात्र प्राथमिकता दिइएको छ । उक्त सीमामा रहेर बैंकहरूबाट आवेदन गरेको रकममध्ये रु. २१ अर्ब ८० करोड बराबरको मात्र निक्षेप स्वीकृत गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । ‘कतिपय बैंकले यस्तो निक्षेपको ब्याजदर ४–५ प्रतिशतसम्म पनि कोट गरेको देखियो । तर कोरिडोरको तल्लो सीमा १ प्रतिशत भएकाले शून्य दशमलव ९९ प्रतिशतसम्मलाई प्राथमिकता दियौं,’ उनले भने ।  

उनका अनुसार  बैंकिङ प्रणालीमा बुधवारसम्म १ सय ७८ अर्ब रुपैयाँ अधिक तरलता देखिन्छ । तर, बैंकहरूबाट केन्द्रीय बैंकले आव्हान गरेको रकमभन्दा पनि कम माग भएको छ । अहिले बैंकहरू १ महिनामा आफ्नो तरलताको अवस्था के हुन्छ भन्ने योजना बनाउन नसकेको वा ढुक्क नभएको डा. भट्टले टिप्पणी गरे । ‘बजारमा धेरै तरलता देखिएको भए पनि बैंकहरूको माग धेरै बढेन । यसले  अबको १ महीनामा तरलता के हुन्छ भन्नेमा बैंकहरू ढुक्क छैनन् भन्ने देखाउँछ,’ उनले भने ।

राष्ट्र बैंकले पछिल्लो समय अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा घटाइदिँदा तरलता थपिएको उनको ठहर छ । केन्द्रीय बैंकले २ वर्षअघिसम्म ६ प्रतिशत कायम गरेको सीआरआरको सीमा घटाउँदै गत  चैत्र १६ गते ३ प्रतिशतमा झारेको थियो । यसबाट बढेको तरलता केन्द्रीय बैंकले प्रशोचन गरेन भन्ने गुनासो थियो । यसर्थ तरलता व्यवस्थापनमा बैंकहरू अनिश्चित रहेको उनको भनाइ छ । बजारमा कर्जाको माग क्रमशः बढ्ने अपेक्षाले पनि बैंकहरूले निक्षेपमा आवेदन नदिएको हुन सक्ने उनी बताउँछन् ।

अहिले बैंकहरूले बचत निक्षेपको ब्याज स्वात्तै घटाएका छन् । लामो समय यस्तो गरेपछि तरलतामा कमी आउन सक्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)