ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१९ बैंकको नाफा वृद्धि संकुचन

वितरणयोग्य नाफामा नबिल बैंकले मार्‍यो छलाङ

२०७७ मंसिर, ७  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । अघिल्ला वर्षहरूमा नाफामा फड्को मार्ने गरेका अधिकांश बैंकको यसपटक भने नाफा वृद्धिदर घटेको छ । चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमासमा २७ वाणिज्य बैंकमध्ये १९ ओटा बैंकको नाफा वृद्धिदर घटेको छ । कोरोना महामारीले अधिकांश व्यवसाय पूर्णरूपमा सञ्चालन हुन नसक्दा यसको प्रभाव बैंकिङ प्रणालीको नाफामा देखिएको हो ।

गत आवको प्रथम त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १ अर्ब २ करोड रुपैयाँले घटेको छ । चालू आवको असोज मसान्तसम्ममा २७ बैंकले १४ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा उक्त बैंकहरूको खुद नाफा १५ अर्ब ६२ करोड रुपैयाँ थियो ।

सार्वजनिक वित्तीय विवरणअनुसार १९ वाणिज्य बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ भने आठओटा वाणिज्य बैंकको नाफामा झिनो सुधार भएको छ ।

वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल ग्लोबल आईएमईको पनि गत आवको तुलनामा नाफा वृद्धिमा कमी आएको छ । असोज मसान्तसम्ममा उक्त बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १२ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो ।

चालू आवको प्रथम त्रैमासमा सबैभन्दा बढी खुद नाफा गर्ने दोस्रोमा नबिल बैंक रहेको छ । बैंकले १ अर्ब २ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा उसले १ अर्ब १२ करोड रुपैयाँ मुनाफा कमाएको थियो ।

नाफा वृद्धिदर ८ दशमलव ४८ प्रतिशतले घटे पनि नबिलले वितरणयोग्य नाफामा भने छलाङ मारेको छ । प्रथम त्रैमासमा बैंक सबैभन्दा बढी अर्थात् १ अर्ब २० करोड रुपैयाँ वितरणयोग्य नाफा कमाउन सफल भएको छ । नेपाल राष्ट्र बैंकले असार मसान्तपछि स्प्रेडदर घटाएर ४ दशमलव ४ प्रतिशतमा झारेकाले खुद नाफामा संकुचन आएको नबिल बैंकका डेपुटी महाप्रबन्धक मनोज ज्ञवालीले बताए । खुद नाफा घटे तापनि ग्राहकले समयमा ब्याज तिरेको लगायत कारण वितरणयोग्य नाफा राम्रो भएको उनको भनाइ छ ।
कोरोना महामारीले गर्दा अधिकांश व्यवसायमा प्रभाव परेको भन्दै बैंकहरूले चालू आवको पहिलो त्रैमासमा नाफामा कमी आउने गुनासो समेत गर्दै आएका थिए । तर यसबीच पनि आक्रामक रूपमा कर्जा प्रवाह गरेको एनआईसी एशिया बैंक सबैभन्दा बढी नाफा कमाउने तेस्रो बैंक बनेको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले करीब १ अर्ब हाराहारीमा नाफा कमाएको थियो ।

चालू आवको प्रथम त्रैमासमा सिभिल बैंकले सबैभन्दा कम ९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर गत आवको सोही अवधिको तुलनामा यो ६४ प्रतिशत कम हो । सबैभन्दा कम नाफा गर्ने दोस्रो बैंक नेपाल एसबिआई बैंक रहेको छ । गत आवको प्रथम त्रैमासमा बैंकले ४३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ११८ प्रतिशतले घटेर चालू आवको असोज मसान्तसम्ममा २० करोड रुपैयाँमा सीमित भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)