ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विकास बैंकको नाफामा औसत २५ प्रतिशतको संकुचन

सबै सूचकमा मुक्तिनाथ अगाडि

२०७७ मंसिर, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । कोरोना महामारीले समग्र बैंकिङ क्षेत्रमा प्रभाव पारेसँगै विकास बैंकहरूको खुद नाफामा समेत देखिएको छ  । १८ ओटा विकास बैंकमध्ये सातओटा विकास बैंकको गत आर्थिक वर्षको तुलनामा चालू आवको पहिलो त्रैमासमा खुद नाफा वृद्धिदर ऋणात्मक रहेको छ ।

सबै विकास बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनअनुसार असोजसम्ममा कुल खुद नाफा रू. ९० करोड २७ लाख रहेको छ । बैंकहरूले गत आवको सोही अवधिमा रू. १ अर्ब २० करोड ९९ लाख नाफा गरेका थिए । गतवर्षको तुलना विकास बैंकहरूको कुल खुद नाफा वृद्धिदर २५ प्रतिशतले संकुचन हुन गएको देखिन्छ । तीनओटा विकास बैंकले खुद नोक्सानी बेहोर्नु परेको छ भने सातओटा बैंकको वितरणयोग्य नाफासमेत ऋणात्मक हुन पुगेको छ ।

चालू आवको असोजसम्ममा ज्योति, गरिमा, एक्सल, सांग्रिला, साइन रेसुंगा, कर्पोरेट र कर्णाली विकास बैंकको नाफा वृद्धिदर गतवर्षभन्दा कम भएकाले समग्रमा विकास बैंकको खुद नाफा करीब २६ प्रतिशतले संकुचन भएको छ । बैंकको नाफा वृद्धिमा समग्रमा संकुचन देखिए पनि बाँकी ११ विकास बैंकको नाफा वृद्धिदर भने उत्साहजनक नै देखिन्छ ।

यसबीच विकास बैंकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । सो बैंक पहिलो त्रैमासमा २९ करोड ४१ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यसले गत आवको सोही अवधिमा रू. २२ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो । गतवर्षको तुलनामा यो बैंकको नाफा वृद्धि २२ दशमलव २३ प्रतिशतले बढेको छ । बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख रुपैयाँ रहेको छ । बैंकको ब्याज आम्दानी बढेकाले खुद नाफा कमाउन सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेलले बताए ।

यसैगरी बढी नाफा कमाउने दोस्रो स्थानमा कामना सेवा विकास बैंक देखिएको छ । यसले चालू आवको पहिलो त्रैमासमा रू. २० करोड १ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा रू.१ करोड ८६ लाख रुपैयाँ नाफा गरेको थियो । कामना सेवाले १ वर्षमा करीब ९० प्रतिशत हाराहारीमा नाफा वृद्धि गरेको छ । बढी नाफा कमाउने तेस्रो स्थानमा रहेको महालक्ष्मी विकास बैंकले असोजसम्ममा १५ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा गतवर्षको तुलनामा अहिले ३३ प्रतिशतले बढी हो ।

चालू आवको ३ महीनामा तीनओटा विकास बैंक (नारायणी, सिन्धु र सप्तकोशी) ले खुद नोक्सानी बेहोर्नु परेको छ । गत आवको पहिलो त्रैमासमा करीब रू. ११ लाख नाफा गरेको नारायणी विकास बैंकले अहिले ४७ लाख रुपैयाँ खुद नोक्सानी खेप्नु परेको छ । गतवर्ष रू. ४६ लाख खुद नाफा गर्न सफल सिन्धु विकास बैंकले अहिले पहिलो त्रैमासमा २ करोड ४१ लख रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । सप्तकोशी बैंकले सबैभन्दा बढी अर्थात् ३ करोड ६२ लाख रुपैयाँको खुद नोक्सानी बेहोर्नु परेको छ ।

विगतका वर्षहरूमा राम्रै खुद नाफा गरिरहेका विकास बैंकको यसपटक कोरोना महामारीले गर्दा कर्जा प्रवाह, ब्याज आम्दानीलगायतमा परेको प्रभाव नाफामा देखिएको सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशी बताउँछन् । ‘कोभिडका कारण ग्राहकले ऋणको किस्ता ब्याज तिर्न नसक्ने अवस्था छ । अझै नयाँ कर्जाको माग आएको छैन । यसकारण खुद नाफा ऋणात्मक हुन गएको हो,’ उनले भने ।

अधिकांश विकास बैंकको निष्क्रिय कर्जा (एनपीएल) समेत बढ्न गएको छ । यस अवधिमा आठओटा विकास बैंकको खराब कर्जा १ प्रतिशतभन्दा कम छ । पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको खराब कर्जा सबैभन्दा कम अर्थात् शून्य दशमलव १२ प्रतिशत रहेको छ । यस्तै, यसबीच कर्पोरेट डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा बढी अर्थात् ४ दशमलव ९७ प्रतिशत र सप्तकोशी विकास बैंकको ४ दशमलव १७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ५ प्रतिशतभन्दा बढी खराब कर्जा पुगेमा बैंकहरूले लाभांश वितरण गर्न पाउँदैनन् ।

यसअवधिमा विकास बैंकहरूले कर्जा जोखिमबापत रकम छुट्ट्याउनु परेकाले अधिकांशको एनपीएल बढ्न गएको बैंकरहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)