ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्कृष्ट करदाताको सूची प्रकाशित : सिद्धार्थ राणालाई विजय शाहले उछिने*

२०७७ मंसिर, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । व्यक्तिगत आयकर तिर्नेमा ७ वर्षदेखि लगातार प्रथम हुने गरेका सिद्धार्थ राणालाई उछिनेर गत आर्थिक वर्षमा विजयकुमार शाह सर्वाधिक कर तिर्ने व्यक्ति बनेका छन् । सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीमा भने यसपटक पनि सूर्य नेपाल नै परेको छ ।

आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसको अवसरमा घोषणा गरेको करदाताको विवरणअनुसार गतवर्ष सबैभन्दा बढी व्यक्तिगत आयकर विजयकुमार शाहले तिरेका छन् । उनी जावलाखेल ग्रूप अफ कम्पनीका अध्यक्ष हुन् । मदिरा व्यवसायमा लागेका शाहको कम्पनीअन्तर्गत रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन हुन्छ ।

विगत ७ वर्षदेखि लगातार सिद्धार्थ राणाले सर्वाधिक आयकर तिर्दै आएका थिए तर यसपटक शाहले राणालाई उछिनेका छन् । विभिन्न शीर्षकमा उत्कृष्ट करदाताको सूचीमा परेका कम्पनीहरूमा प्रायः विगतकै कम्पनीहरूले निरन्तरता पाएका छन् ।

गतवर्ष बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले सबैभन्दा बढी आयकर तिरेको छ । गतवर्ष यो कम्पनीले ५ अर्ब ३१ करोड कर तिरेको थियो । निर्यातकर्तामध्ये सबैभन्दा धेरै आयकर डाबर नेपालले तिरेको छ ।

विगतमा पनि यो उपाधि डाबर नेपालले नै प्राप्त गरेको थियो । यस्तै सबैभन्दा धेरै आयकर तिर्ने विशेष उद्योगमा हिमाल पावर लिमिटेड परेको छ । व्यापारतर्फ अग्नि इन्कर्पोरेटेडले यो सम्मान पाएको छ । यो महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता हो ।

पर्यटन व्यवसायमा सबैभन्दा धेरै आयकर तिर्ने करदातामा तारागाउँ रिजेन्सी होटेल परेको छ । मध्यमस्तरीय करदाता कार्यालयको क्षेत्राधिकारभित्रबाट कामना सेवा विकास बैंकले धेरै कर तिरेको छ ।

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर नबिल बैंकले तिरेको छ । यस्तै, बीमा व्यवसायतर्फ नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, विप्रेषणतर्फ आईएमई लिमिटेडले धेरै कर तिरेका छन् । शिक्षासेवातर्फ मणिपाल एजुकेशन एन्ड मेडिकल ग्रूप नेपालले तिरेको छ भने आन्तरिक राजस्व कार्यालयको क्षेत्राधिकार भित्रबाट सबैभन्दा धेरै आयकर तिर्नेमा भीएफ सर्भिसेज रहेको छ ।

कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ अन्नपूर्ण एग्रो इन्डस्ट्रिज र सहकारी र लघुवित्ततर्फ छिमेक लघुवित्तले बढी कर तिरेका छन् ।पछिल्लो १० वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्नेमा घोराही सिमेन्ट उद्योग परेको छ । मूल्य अभिवृद्धि करतर्फ उत्कृष्ट कर सहभागिता भएको करदातामध्येबाट घोराही सिमेन्ट इन्डस्ट्रिजले यो सम्मान पाएको हो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै भ्याट यही कम्पनीले तिरेको थियो । सरकारले मङ्सिर १ गते कर दिवस मनाउँदै आएको छ, तर यसपटक तिहार र कोभिडका कारण समयमै औपचारिक कार्यक्रम भने हुन सकेन ।

विभागका अनुसार कोभिड संक्रमण कम भएपछि औपचारिक कार्यक्रम गरेर धेरै कर तिर्नेलाई सम्मान गरिनेछ ।

स्वैच्छिक कर सहभागिता बढाउनुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वैच्छिक कर सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन गर्दै उनले स्वैच्छिक कर सहभागिता बढाउँदै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

‘करदाता र कर प्रशासनबीचको स्वच्छ व्यावसायिक सम्बन्ध र आपसी विश्वास बलियो भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्नेछ,’ उनले भने ।

मन्त्री पौडेलले कर परीक्षण, कर अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरवलोकन, बक्यौता असुली, बेरुजू फछ्र्योटजस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न समेत अधिकारीहरूलाई निर्देशन दिए ।

कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सृजना गर्नसमेत अर्थमन्त्री पौडेलले निर्देशन दिए ।

यसैबीच, विभागमा आइतवार भएको नवौं कर दिवस समापन कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले कर प्रशासनलाई निजीक्षेत्रको विश्वास वृद्धि हुने गरी काम गर्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले देशको राजस्व संकलनमा आन्तरिक राजस्व विभागको योगदान वृद्धि भएको बताउँदै कर परीक्षण र अनुसन्धानको गुणात्मकता बढेको बताए ।
 
कार्यक्रममा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले कर प्रशासनलाई अझ वढी प्रविधिमैत्री बनाउँदै चुहावट नियन्त्रण गरी राजस्व संकलनलाई दिगो बनाउनुपर्ने बताए ।

*आर्थिक अभियान दैनिकको छापा संस्करणमा विजयकुमार शाहको नाममा त्रुटि भएकाले सच्याइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)