काठमाडौं । ‘नेशनल पेमेन्ट स्वीच’ स्थापनाको जिम्मा पाएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्रारम्भिक चरणको काम शुरू गरेको छ । पहिलो चरणमा एउटा बैंकको कार्ड अर्को बैंक वा अर्को नेटवर्कमा राफसाफ (अन्तरबैंक कार्ड सेटलमेन्ट)को व्यवस्था गर्नेगरी काम गर्ने योजना बनाएको एनसीएचएलले बताएको छ ।
अहिले नेशनल पेमेन्ट स्वीच स्थापनाका लागि अध्ययन भइरहेको छ । तर, प्राविधिक काम भने शुरू भई नसकेको एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधानले जानकारी दिए । उनका अनुसार छिमेकी मुलुक भारत, श्रीलंका, बंगलादेशमा यस्तो स्वीचको सञ्चालन कसरी भइरहेको छ भन्नेबारे विस्तृत अध्ययन भइरहेको छ । ‘अध्ययनपश्चात् नेपाललाई सुहाउँदो, यहाँको अवस्था तथा प्राविधिक क्षमता, व्यवसाय तथा कारोबारको आकारअनुसार काम शुरू गर्ने भएका छौं,’ उनले भने, ‘हाम्रोमा भारतको जत्रो कारोबार छैन । यसैले नेपालको अनुकूलताअनुसार काम गर्ने छौंं ।’
स्वीच स्थापना ठूलो परियोजना भएकाले कहिले सम्पन्न भइसक्छ भन्ने टुंगो नलागेको उनले बताए । अन्य मुलुकमा यस्तो स्वीचको स्थापना बहुवर्षीय परियोजनाअनुसार हुने बताउँदै सीईओ प्रधानले भने, ‘हामी पनि नेपालमा शुरूमा हामीलाई नभई नहुने कम्पोनेन्टहरू चरणबद्ध रूपमा गर्न गइरहेका छौं । पहिलो चरणमा एउटा बैंकको कार्ड अर्को बैंक वा अर्को नेटवर्कमा चल्दा सजिलैसँग त्यसको राफसाफ (अन्तरबैंक कार्ड सेटलमेन्ट) हुनेगरी काम गर्ने छौं ।’
हाल नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबार गर्दा ग्राहकबाट शुल्क नलिन भनेको छ । यसबाट कारोबारको भार अर्थात् लागत भने बैंक तथा वित्तीय संस्थाहरूमाथि परेको छ । नेपालको आफ्नो स्वीच नहुँदा प्रत्येक कारोबारको करीब न्यूनतम १२ रुपैयाँका दरले विदेशी स्वीचलाई शुल्क तिरिरहनु परेको छ । नेपालको आफ्नै विद्युतीय भुक्तानी प्रणाली नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा भिसा, मास्टर्ड कार्डजस्ता अन्तरराष्ट्रिय पेमेन्ट गेटवेलाई महँगो शुल्क तिर्नु परेको हो ।
नेपालका बैंकहरूले विदेशी स्वीचका माध्यमबाट डेबिट, क्रेडिट कार्ड र एटीएमको भुक्तानी दिने गरेका छन् । विभिन्न सपिङ मलहरूमा राखिएका पस मेशिनबाट भुक्तानी गर्दाको महँगो शुल्कसमेत अन्तरराष्ट्रिय संस्थालाई तिरिरहँदा वर्षेनि धेरै रकम विदेशिएको छ । यस्तो अवस्थामा नेपालमै स्वीच स्थापना भएपछि बैंकहरूको लागत कम पर्न जान्छ । जसले गर्दा ग्राहकलाई समेत यस्तो सेवा शुल्क कम पर्न जानेछ । शुल्क कम पर्ने भएपछि आम ग्राहकसमेत विद्युतीय कारोबारमा आकर्षित हुने बैंकरहरू बताउँछन् । शुल्क मात्र होइन, आम ग्राहकले गरेको कारोबारलगायत तीनपुस्ते सूचनाको पहुँचसमेत उक्त अन्तरराष्ट्रिय कम्पनीलाई हुने गरेको छ ।
नेपालको आफ्नै स्वीच भएपछि आम नागरिकलाई विद्युतीय कारोबारको शुल्कको भार कम पर्न जाने र उनीहरूको सूचना नेपालमा सुरक्षित रहने भएकाले विश्वसनीयसमेत हुने एनसीएचएलका सीईओ प्रधान बताउँछन् । स्वीच स्थापनापछि सबै बैंकको कार्ड एउटै हुनेछ । जुनसुकै बैंकको एटीएम बुथ तथा पोसबाट कारोबार गरे पनि अतिरिक्त शुल्क लाग्दैन । यस्तो स्वीचले अन्तरबैंक आबद्धता कायम गर्ने भएकाले शुल्क सस्तो पर्न जाने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । छिमेकी मुलुक भारतमा पनि आप्mनै स्वीचबाट सबै बैंकमार्फत देशव्यापी ‘रू.पे’ नामक कार्ड सञ्चालनमा छ । यो भारतको राष्ट्रिय स्तरको कार्ड हो । नेपालले पनि यस्तै कुनै नाम दिएर देशव्यापी एउटै कार्ड चलाउन सक्ने राष्ट्र बैंकको भनाइ छ ।
केन्द्रीय बैंकले सबैलाई समेट्ने गरी छिटै नेशनल स्वीचिङ प्रणाली स्थापना गरे विदेशी स्वीचको भर पर्नु नपर्नेे बैंकरहरूको भनाइ छ । नेपालमा कनेक्ट आईपीएस, आईपीएस, ईसीसी, मोबाइल वालेटलगायतको पूर्वाधार बन्यो । तर, नेशनल पेमेन्ट स्वीचको पूर्वाधार बन्न बाँकी थियो । अब यसको पनि शुरुआत भएकाले बैंकिङ क्षेत्रको डिजिटाइजेशनमा फड्को मार्ने नेपाल बैंकर संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।